|

हेटौंडा : संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले रुपचन्द्र विष्टले फैलाएको थाहालाई सबैले सक्दो प्रचार गर्नुपर्ने बताएका छन्। थाहा आन्दोलन नेपालको शक्तिशाली आन्दोलन भएको उनले बताए। 

मकवानपुरको थाहा नगरपालिकामा दोस्रो थाहा दिवस तथा विष्टको ८४ औं जन्मजयन्तीमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन कार्यक्रममा मन्त्री पाण्डेले थाहा दर्शन नेपालका लागि अति उपयोगि भएको बताए।

कार्यक्रममा पूर्व स्थानीय विकास अधिकारी भूवन प्रकाश विष्ट, थाहा नगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर परियार, शालिक संरक्षण समितिका संयोजक राजेश केसी लगायतले रुपचन्द्र विष्टले सामाजिक तथा साँस्कृतिक रुपान्तरणका लागि थाहाको माध्यमबाट पुर्‍याएको योगदानको चर्चा गरे।

रुपचन्द्र विष्टको जन्म जयन्तीकै अवसरमा फरक सोचले तीर्थदास स्मृति सामाजिक सम्मान अन्तर्गत तीन जनालाई सम्मान गरेको छ। ३ दशकदेखि लैंगिक हिंसाविरुद्ध कार्य गर्दै आएकी रीता प्रधान र पर्यटन प्रवर्द्धननमा योगदान पुर्‍याएबापत सुनगाभा होटल रिसोर्ट सञ्चालकलाई ताम्रपत्रसहित सम्मान गरिएको हो । त्यसैगरी तिर्थदास स्मृति सामाजिक सम्मान कोषबाट पत्रकार पूर्णिमा गोलेलाई सम्मान गरिएको छ।

गोलेलाई  नगद  १० हजारसहित ताम्रपत्रले सम्मानित गरियो। फरक सोचले थाहा नगरमा शिक्षा क्षेत्रमा योगदान दिने तिर्थदास श्रेष्ठको स्मृतिमा सामाजिक सम्मान कोष खडा गरि वार्षिक रुपमा सामाजिक क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ।

फरक सोचका अभियन्ता यादव जंग रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा अभियानलाई सहयोग पुर्‍याउने व्यक्ति तथा संस्थाहरुलाई कदरपत्र तथा मायाको चिनो प्रदान गरियो। कार्यक्रममा अभियन्ता रायमाझीले रु. १ लाखको अक्षय कोष घोषणा गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.