|

सुनसरी : बुधबारबाट धरानमा ‘इन्टरनेशलन फिल्म फेस्टिबल अफ नेपाल– २०१७' सुरु हुँदैछ। फेस्टिबलमा १६ देशका ४७ फिल्मको प्रदर्शन सुरु हुँदैछ।  

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हलमा हुने फेस्टिबलका लागि कलाकार तथा निर्माता, निर्देशक मंगलबार नै धरान पुगिसकेका छन्। फेस्टिबलका निर्णायक रहेका अभिनेता राजेश हमाल पनि धरान पुगेका छन्। त्यस्तै कलाकार रेखा थापा, झरना थापा, श्वेता खड्का लगायत धरान पुगेका छन्।

चीन, फ्रान्स, भारत लगायतका निर्णायक र फिल्मको सहभागिता रहेको छ। फेस्टिबलमा फिल्मका विभिन्न विषयमा अन्तर्क्रिया गरिने बताइएको छ।

अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा २७ पुषदेखि २ माघ सम्म हुने फेस्टिबलमा लागि १६ देशका ४७ फिल्म छानिएको संयोजक तथा चलचित्र निर्देशक दिपक श्रेष्ठले जानकारी दिए।

फेस्टिबल अन्तर्गत अन्तराष्ट्रिय प्रतिष्पर्धामा 'फिक्सन' तर्फ नेपालबाट मिनबहादुर भामको ’कालो पोथी’ र मनोज पण्डितको ’छायाँ’  छनोट भएको छ।

त्यसैगरी डकुमेन्ट्री तर्फ अन्तर्रा्ष्ट्रिय प्रतिष्पर्धामा गणेश पाण्डेको ’भाग्यले बाँचेकाहरु’ र भोजराज भाटको ’सुनाकली’ छानिएका छन्। नेपाल पानोरमा तर्फ फिल्म विधामा नवल खड्काको ’भिमदत्त’, अरुण प्रधानको 'ओम्ला', दिनेश पाल्पालीको ‘बालकृष्ण सम’ चयन भएका छन्।

 नेपाल पानोरमा तर्फ डकुमेन्ट्री प्रतिस्पर्धामा मानवशास्त्री डोरबहादुर बिष्टको जीवनीमा आधारित वृत्तचित्र ‘म अलप हुन चाहन्छु’ प्रदर्शन गरिने भएको छ।

प्रतिष्पर्धामा रामबहादुर रसाईलीले निर्देशन गरेको ‘अपाङको पीडा’, दिनेश खड्गी शाहीको ‘लाईफ डजन्ट रिवाईन्ड’ पनि रहेका छन्। भण्डारीको निर्देशन रहेको ’द केभ स्माइल’ भने प्रतिस्पर्धी नभएपनि प्रदर्शन हुने भएको छ।

पानोरमाको छोटा फिल्म प्रतिस्पर्धामा सुसन प्रजापतिले निर्देशन गरेको ‘लाज’, कला संग्रौलाले निर्देशन गरेको ’बुट्टेजामा’, प्रशन्न मालीले निर्देशन गरेको ‘तिर्खा’, भिम विश्वकर्माको ‘शून्य’, राकेश महर्जनले निर्देशन गरेको ‘कल्ली’, सुवास गजुरेलले निर्देशन गरेको ‘हरेरामकी आमा’, सेनामा ग्याङवो तामाङले निर्देशन गरेको ‘झा लो’, प्रेम राउत र सागर बिक्रम कडरीयाले निर्देशन गरेको ‘डोम समाज’ प्रदर्शन हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.