|

  • विश्वराज पछल्डङ्ग्या

बर्दिया : यातायात सुविधा नहुँदा ठाकुरद्वारामा पर्यटकको संख्या घटेपछि पर्यटन व्यवसायी चिन्तित भएका छन्। अम्बासा–ठाकुरद्वारा सडकमा पर्ने ओराही खोलामा पुल नबन्दा पर्यटक त्यहीँबाट फर्किने गरेको पर्यटन व्यवसायीहरूको गुनासो छ। पूर्व–पश्चिम राजमार्ग अम्बासादेखि ठाकुरद्वारासम्मको दूरी १८ किलोमिटर छ। बिचमा पर्ने ओराही खोलाले स्वदेशी तथा विदेशी पर्यटकलाई ठाकुरद्वारा जान रोक्ने गरेको छ। 

सडक हिलाम्मे र धुलाम्मे भएका कारण पनि पर्यटकहरू ठाकुरद्वारा मन गर्दैनन् । ‘ठाकुरद्वारामा प्रधानमन्त्रीदेखि सरकारी निकायका उच्च अधिकारी आएर बस्छन्, खान्छन्,  पर्यटन व्यवसायी रामबहादुर शाहीले भने, ‘बाटो बनाउनतर्फ कसैको ध्यान गएको छैन।’ 

संकटमा रिसोर्ट व्यवसाय
ठाकुरद्वारामा ८४ करोड रुपैयाँभन्दा बढी लगानीमा २३ वटा रिसोर्ट सञ्चालनमा छन्। पर्यटक नआउँदा रिसोर्ट सञ्चालनमा समस्या भएको थारु होम रिसोर्टका सञ्चालक मोहन चौधरीले बताए। सडक सुधार नगरेसम्म पर्यटक बढाउन नसकिने उनी बताउँछन्।

काठमाडौंबाट टाढा पर्ने र सहज यातायातको पहुँच नहुँदा कम पर्यटक आएकै कारण रिसोर्ट सञ्चालनमा समस्या भएको व्यवसायी श्रीधर पोखरेल बताउँछन्। भने, ‘जेनतेन थेगिरहेका छौँ, नाफाभन्दा रिसोर्ट टिकाउन हाम्रो ध्यान केन्द्रित छ।’ व्यवसायीले पर्यटक कम भएको गुनासो गरिरहँदा नयाँ रिसोर्ट खुल्ने क्रम जारी छ। 

प्रहरी र बैंक राख्न माग 
ठाकुरद्वारा घुम्न चाहने विदेशी पर्यटक असुरक्षाका कारण देखाउँदै आउन हिचकिचाउने गरेका छन्। यहाँ आउन चाहने पर्यटकहरूले सबैभन्दा पहिले सुरक्षाको अवस्थाको बारेमा सोधिखोजी गर्ने गरेको नेपाल वाइल्ड लाइफ रिसोर्टका सञ्चालक भीमबहादुर शाहीले बताए। 

ठाकुरद्वारामा बैंक तथा वित्तीय संस्था नभएका कारण पनि पर्यटक आउन नमान्ने गरेको व्यवसायीहरू बताउँछन्। बैंक नहुँदा सानो कामका लागि समेत २० किलोमिटर टाढा पर्ने भुरीगाउँ वा सदरमुकाम गुलरिया जानुपर्ने बाध्यता रहेको व्यवसायीहरूको गुनासो छ। 

सुरक्षा व्यवस्था चुस्त छः निकुञ्ज
बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि ठाकुरद्वारामा नेपाली सेनाको मुख्य कार्यालय छ। नेपाल प्रहरीको अस्थायी प्रहरी पोष्टले समेत सुरक्षा दिँदै आएको छ।स्वदेशी तथा विदेशी पर्यटकका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले जानकारी दिए।उनले सुरक्षाको सम्पूर्ण ब्यवस्था मिलाइएको बताउँदै बर्दिया राष्ट्रिय निकुञ्ज घम्न आउनेहरूलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने स्पष्ट पारे।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.