|

  •  गोकर्णप्रसाद भण्डारी

चरिकोट : सुन्दा अचम्म लाग्‍नसक्छ, तर सत्य हो। दोलखाको एक विद्यालयमा ८ कक्षा पढ्नुपर्ने विद्यार्थी २ कक्षामा अध्ययन गरिरहेको पाइएको छ।

दोलखा लाकुरीडाँडा गाविस–४ ठेगाना भएकी २४ वर्षीया लक्ष्मी श्रेष्ठ हाल कक्षा २ मा अध्ययन गरिरहेकी छन् । दोलखाको एक मात्र बहिरा पढ्ने विद्यालय भीमेश्वर बहिरा प्राथमिक विद्यालयमा कक्षा २ सम्मको मात्र पढाइ हुने गरेको छ। बहिरालाई लक्ष्य गरेर सञ्चालन गरेको यो विद्यालयमा ३५ जना विद्यार्थी छन्। यहाँ १६ देखि २४ वर्षसम्म उमेर भएका विद्यार्थी पढ्न आउँछन्। २ कक्षा पास गरिसकेका विद्यार्थीका लागि ३ कक्षा पढ्ने व्यवस्था यस विद्यालयमा छैन्। नजिकै अर्को विद्यालय पनि छैन्।

भूकम्प जानुभन्दा पहिले लक्ष्मी श्रेष्ठ सिन्धुपाल्चोक बाह्रबिसेमा रहेको सिन्धु बहिरा निमाविमा कक्षा ७ मा पढ्थिन्। भूकम्पको त्रासले सिन्धु बहिरा विद्यालयसँगको सम्बन्ध छुटायो उनलाई । त्यही भूकम्पले गर्दा उनी आफ्नो घर लाकुरीडाँडा आइन्। लाकुरीडाँडामा आमाबुबासँग बसे पनि उनलाई विद्यालय पढ्नु पर्छ भन्ने कुराले पिरोलिरहेको र आमाबुबाले आफ्नो साङ्केतिक भाषा नबुझेकै कारण आफू घर छोडेर २ कक्षामा पढ्न आएको लक्ष्मी बताउँछिन्।

आफ्नो बाआमाको आर्थिक अवस्था कमजोर भएका कारण पनि आफ्नै जिल्लाको स्कुलमा पढ्न बाध्य भएको उनको भनाइ छ। “मलाई रहर छैन २ कक्षामा पढ्न, फेरि जाने ठाउँ पनि कहीँ छैन। आमाबुबासँग बसेर समय काट्नुभन्दा बहिरासँगै केही सिकौँ भनेर म कक्षा २ मा अध्ययन गरिरहेको छु।” उनले भनिन्,'मलाई धेरै दुःख पनि लाग्छ, लाज पनि लाग्छ, किनकी मैले ८ कक्षामा पढ्दा धेरै जानेको थिएँ, अहिले २ मा पढेको कुरा मैले फेरि पढिरहेको छु।”

उस्तै पीडा बोकेर दुःखका स्वर सुनाइरहेका छन्, यस बहिरा विद्यालयमा पढ्ने विद्यार्थीले। यहाँ आमाबुबा गुमाएका, आमा वा बुबा गुमाएका, कान नसुन्ने, बोली बोल्न नसक्नेहरु पढिरहेका छन्। एउटै कक्षा कोठामा तीन वटा कक्षा भनेर पढाइ भइरहेको छ। दुईतिर फर्केर कक्षा सञ्चालन भइरहेको छ यहाँ। पछाडि एक कक्षा चलिरहेको भने अगाडि दुई कक्षा सञ्चालन भइरहेका छन्। बाल कक्षा बाहिर चौरमा पढाउने गरेको प्रधानाध्यापक विद्या कार्की बताउँछिन्। अहिले यस विद्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ। भवन निर्माणपछि बहिराको जीवनमा खुसी आउने प्रधानाध्यापक कार्की बताउँछिन्। भवन मात्रै त बहिराको सबथोक होइन गुणस्तरीय शिक्षा पनि बहिराका लागि आवश्यक हुन्छ।

विषयगत शिक्षक यहाँ भइदिए बहिरालाई सजिलो हुने प्रधानाध्यापक कार्कीको भनाइ छ। उनी भन्छिन् – “यहाँ दुई कक्षा मात्र छ तर धेरै कक्षा पढेका विद्यार्थी पढ्न आउँछन्। यस विद्यालय निमावि तहसम्म भइदिए केही सजिलो हुन्थ्यो। विद्यार्थीको तह छुट्याउन गाह्रो भयो।”

यो विद्यालय आर्थिक हिसाबले पनि ज्यादै कमजोर छ। प्रधानाध्यापक बहिरा नै छिन्। यसले विद्यार्थीलाई सहयोग त पुर्‍याएको छ तर शिक्षा कार्यालयले बाल शिक्षाको कोटामा पठाएको शिक्षिका बहिरा वा साङ्केतिक भाषा जानेको नहुँदा ज्यादै अप्ठेरो परेको प्रअ कार्कीको भनाइ छ। उनी थप्छिन्, “नसुन्ने र सुन्ने विद्यार्थी अर्थात् साङ्केतिक पढ्ने अन्य विद्यार्थी भइदिए नसुन्नेलाई ऊर्जा पैदा हुने थियो र यो व्यवस्थाका लागि मैले सम्बन्धित निकायसँग आग्रह गरिरहेको छु, कसैले सुनेन।”

बहिरालाई दया गर्ने मात्र हैन अवसर दिनु पनि आवश्यक रहेको प्रअ कार्कीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.