|

तपाईंले टेलिभिजन र होर्डिङ बोर्डहरूमा विज्ञापन त देख्नुभएकै होला। विभिन्न प्रोडक्टका विज्ञापन रेडियोमा पनि पक्कै सुन्नुभएकै छ। एअरपोर्ट, रंगशाला आदि त्यस्ता ठाउँ हुन्, जहाँ विज्ञापन गर्न सर्वाधिक रकम खर्चनुपर्छ।

विज्ञापन बजारको सीमा यति नै हो भन्ठान्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ।  एक रुसी कम्पनीले अन्तरिक्षमा विज्ञापन डिस्प्ले गर्ने योजना सार्वजनिक गरेको छ, जुन विज्ञापन पृथ्वीको सबै भागबाट हेर्न सकिनेछ। स्टार्टरकेट नामको उक्त कम्पनीले सेटेलाइटको मद्दतले अन्तरिक्षमा विज्ञापन डिस्प्ले गर्ने योजना बनाएको हो।

कम्पनीको योजनालाई मान्ने हो भने सन् २०२१ भित्र उक्त योजनाले व्यवासायिक आकार लिइसक्नेछ। झलक्क हेर्दा ती विज्ञापन आकासमा टाइप गरेजस्तै देखिनेछन्। वातावरणीय सतहभन्दाबाहिर, तर पृथ्वीकै कक्षभित्र लगाइने त्यस्ता विज्ञापन रातीमात्रै देखिनेछन्।

सानो सेटेलाइटको मद्दतले विज्ञापन डिस्प्ले गर्ने योजना बनाएको कम्पनीले पृथ्वीको सतहबाट झण्डै ४५० किलोमिटरमाथि ३० फिट व्यास भएको पातलो परावर्तक पर्दा निर्माण गर्नेछ, जसले सूर्यको किरणलाई परावर्तन गर्दा अक्षर देखा पर्नेछन्।

आँफूले प्रोटोटाइप सेटेलाइट बनाइसकेको दाबी गर्दै कम्पनीले अर्को वर्ष प्रारम्भिक परिक्षण गर्ने जनाएको छ। कम्पनीका सिइओ भ्लाड सिट्निकोभले विज्ञपनको दर तय भने भइनसकेको बताए।

उनका अनुसार, सन् २०१८ मा प्रक्षेपण गरिएको ‘डिस्को बल’ सेटेलाइटबाट प्रभावित भइ कम्पनीले यो प्रोजेक्टमा काम सुरू गरेको हो। ‘मानवता तारा’ नामले समेत परिचित उक्त सेटेलाइटले, अन्तरिक्षमै जलेर पृथ्वीमा खस्नुअघि, दुई महिनाजति अन्तरिक्षको परिक्रमा गरेको थियो। सिट्निकोभले भने, ‘त्यो प्रोजेक्ट देखेपछि हामीले पनि सोच्यौं, मान्छेले अन्तरिक्षमा कृतिम तारा झुन्ड्याउन सक्छ भने विज्ञापन डिस्प्ले गर्न किन सकिँदैन? त्यसयता, हामी अन्तरिक्षमा झुल्कने पहिलो मिडिया बन्ने धुनमा छौं।’

सिट्निकोभको योजनालाई धेरैले रुचाएका भने छैनन्, किनकी पृथ्वीको कक्षमा पहिल्यै १४०० वटा मानवनिर्मित सेटेलाइट घुमिरहेका छन्, विज्ञापनको होडबाजीले यो संख्या अझ आकासिन सक्छ। ‘म यो होस् भन्ने चाहन्नँ,’ अमेरिकी प्राध्यापक जोन क्रासिडिसले भने, ‘त्यस्ता सेटेलाइटले केवल अन्तरिक्षमा फोहर थुपार्ने काम गर्नेछन्।’

स्टार्टरकेटले यो प्रोजेक्ट थाल्दा वैज्ञानिकहरूको चर्को विरोध र निन्दा सहनुपर्नेछ। ‘त्यो त पर्छ नै!,’ मिसिसिपी युनिभर्सिटीका प्राध्यापक जोयनी ग्याब्रिनोविजले भने, ‘त्यस्तो कार्यले अन्तरिक्षको अध्ययन कार्यलाई नै असर पार्न सक्छ। व्यापारका लागि विज्ञानको क्षेत्रलाई अतिक्रमण गर्नु खेदजनक छ।’

सिट्निकोभ भने काम छिटो सुरू गर्न व्यकुल छन्। ‘आलोचकको काम नै आलोचना गर्नु हो,’ उनले भने, ‘हामी विज्ञापनका लागि नयाँ माध्यमको विकास गर्दैछौं। सुरू–सुरूमा टेलिभिजनमा पनि विज्ञापन रुचाइएको थिएन नि!’

अमेरिकाले सन् १९९३ मा कानुन बनाएर अन्तरिक्षमा विज्ञापन गर्न निषेध गरेको छ, तर रुसमा त्यस्तो रोकावट छैन। यसको अर्थ हो, केही वर्षपछि आकासमा जुनतारा मात्र होइन, विज्ञापन पनि देखिनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.