|

काठमाडौं : सरकारी हवाई सेवाप्रदायक नेपाल वायु सेवा निगमको लापरवाही उस्तै छ। समयमा टिकट बेच्न नसक्ने नेवानिको व्यवस्थापनको लापरवाही आन्तरिकदेखि अन्तर्राष्ट्रियसम्म लगातार दोहोरिइरहेको छ।

नेपाल वायुसेवा निगमको १५६ सिटे ए३२० जहाजले स्थानीय समयानुसार बुधबार बिहान ६ बजेर १५ मिनेटमा मलेसियाको क्‍वालालम्पुरबाट काठमाडौं उडान भर्नुपर्ने थियो। निगमको व्यस्तमध्ये एक यो रूटमा नेपाल आउने यात्रुहरु बिहानै एयरपोर्ट पुगिसकेका थिए। 

तर निगमले घर फर्किन तम्तयार नेपालीसहितका यात्रुलाई निराश बनाउँदै यात्रु थोरै भएको बहानामा उडान नै रद्द गरिदियो। नेवानिका कर्मचारीले ३९ जना मात्रै यात्रु भएको भन्दै एयरपोर्टमा आएका यात्रुलाई उडान रद्द भएको सूचना दिएका थिए। 

निगमको यो सूचनापछि नेपाल उड्नका लागि बोर्डिङ पास लिइसकेका यात्रु मलेसियामै रोकिन बाध्य भएका छन्। एकजना यात्रुले थाहाखबरलाई जानकारी दिए अनुसार उनीहरुलाई बुधबार मलेसियामै राख्नका लागि निगमले होटलका २० वटा भन्दा धेरै कोठा बुक गरेको छ।

आन्तरिक उडानमा जस्तै एयरपोर्ट पुगिसकेका यात्रुलाई निगमले फर्काइदिएको हो। बुधबार रद्द गरिएको उडान निगमले भोलि गर्ने भएको छ। निगमको लापरवाहीका कारण यात्रुले पटक पटक सास्ती पाउने गरेका छन्। अर्कातिर होटलमा राखिने यात्रुको सबै खर्च व्यहोर्नुपर्ने हुँदा निगमले अतिरिक्त आर्थिक भार पनि व्यहोर्नु परेको छ। 

नेकपाका नेता योगेश भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा नियुक्त भएपछि निगमको व्यवस्थापन सुधारेर नाफामा लैजानु आफ्नो पहिलो काम हुने बताएका थिए। तर निगमका अधिकारीहरुले भने एकपछि अर्को कमजोरी पोखिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.