|

काठमाडौं : ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चाँडै काममा फर्किने बताएका छन्। 

मिर्गौलामा गम्भीर समस्या देखिएपछि उपचारका लागि बुधबार बिहान धापासीस्थित ग्रान्डी अस्पतालको आईसीयूमा राखिएका प्रम ओलीले प्रेस सल्लाहकार डा. कुन्दन अर्यालसँग छोटो कुराकानी गर्दै आफू काममा फर्किन आतुर रहेको बताएका हुन्। 

‘डाक्टरहरुको राउन्डका बेला उहाँ (प्रधानमन्त्री) सँग छोटो समयमा भेटेर कुरा गर्न पाएँ’, अर्यालले थाहाखबरसँग भने, ‘थोरै कुराकानी भयो, त्यसक्रममा उहाँले चाँडै भेटौँला भन्नुभयो।’

अर्यालले प्रधानमन्त्रीले आफू अस्पतालबाट काममा फर्किन तयार रहेको बताएको उल्लेख गरे। ‘प्रधानमन्त्रीले सि यु (फेरि भेटौँला), अस्पतालबाट चाँडै निस्किहाल्छु भन्नुभयो’, अर्यालले भने, ‘उपचारमा संलग्न चिकित्सकहरुले पनि अब्जर्भेसनमा राखिएकाले आज दिउँसोसम्म डिस्चार्ज गरिने बताएका छन्।’

अर्यालयका अनुसार डाक्टरहरुले प्रम ओलीलाई अस्पतालमै राखेर आराम गराउन चाहेका छन्। ‘आज दिउँसो चाहिँ पठाउने कुरा चिकित्सकहरुबाट आएको छ। अस्पतालमै अबजर्भेसन गर्दा राम्रो हुने उनीहरुको भनाइ छ’, अर्यालले भने, ‘भीभीआईपी (प्रधानमन्त्री) लाई बढी आराम गराउन खोजेको देखियो।’

बुधबार सरकारी निवास बालुवाटारबाट लगेर ग्रान्डीको चौधौँ तल्लास्थित आईसीयूको १४१६ नम्बर बेडमा राखिएका प्रमलाई यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भेटेका थिए। 

अर्यालले प्रमलाई आराम गराइएकाले अन्य कसैसँग भेट्न नदिएको जानकारी दिए । ‘हामीले पनि डाक्टरको राउन्डका बेला प्रमलाई भेटेका हौँ’, उनले भने, ‘छोटो भेटमा उहाँले काममा फर्किन्छु भन्नु भएको छ। अस्पताल प्रशासन र चिकित्सहरुसँग् परामर्श भइरहेको छ।’

ग्राण्डीमा भर्ना भएका प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न छाडेको पाइएपछि बुधबार दिउँसो नै डाइलाइसिस गरिएको छ। प्रमलाई स्वासप्रश्वासको पनि समस्या देखिएको छ। चिकित्सकहरुले फोक्सोमा पानी जमेको जनाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.