|

विराटनगर : सरकारले कृषकहरुलाई तरकारी खेतीमा प्रोत्साहित गर्न थालेपछि मोरङका कृषकहरु त्यसतर्फ आकर्षित भएका छन्। सरकाले चालु आर्थिक वर्षदेखि युवालक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रम लागु गरेपछि जिल्लामा १ हजार १ सय भन्दा बढी कृषक समूहले व्यवसायिक तरकारी खेती गरिरहेका छन्।

यसअन्तर्गत वैदेशिक रोजगारीबाट स्वदेश फर्केका र जान लागेकासहित लक्षित वर्गका युवालाई न्यूनतम एक बिगाहा क्षेत्रफलमा तरकारी खेती गर्नका लागि ५० प्रतिशत अनुदान दिने कार्यक्रम छ।

गत आर्थिक वर्षमा मोरङको करिब १९ हजार हेक्टर गरिएको खेतीमा ९७ हजार मेट्रिक टन तरकारी, ९१ मेट्रिक टन अलैँची र १३ हजार १ सय २५ मेट्रिक टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ।

कटहरी, शिसवनी, जहदा, इन्द्रपुर, मधुमल्ला, टाँडी, लेटाङ जाँते, सिजुवा टकुवा मझारे, महादेवा, बाहुनी लगायतका गाविसलाई तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा अघि बढाइएको जिल्ला कृषि विकास कार्यालय मोरङका बागवानी विकास अधिकृत काशीकुमार चौधरी बताउँछन्। 

खासै नोक्सान ब्योहोर्नु नपर्ने तथा बजारमा सहज पहुँचका कारण तरकारी खेतीतर्फ युवाहरुको आकर्षण बढ्दो छ। यसले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई केही हदसम्म रोक्न सहयोग पुगेको छ।

थोरै जग्गामा तरकारी खेती गर्नेहरुले पनि यसबाट मनग्गे आम्दानी गरिरहेका छन्। १० कट्ठा क्षेत्रफलको जग्गामा मौसमअनुसार हिउँदे, वर्षे र बेमौसमी तरकारी उत्पादन गरेर वार्षिक करिब २ लाख रुपैयाँसम्म आयआर्जन गर्ने गरेको भौडाहाका कृषक जितनारायण सरदार बताउँछन्। 

त्यस्तै मोरङ कटहरी–९, नयाँबजारका कृषक श्यामकुमार साहले पनि तरकारी खेतीबाट सबै खर्च कटाएर वार्षिक ४/५ लाख आम्दानी गर्ने गरेका छन्। 
तरकारी खेतीबाटै कमाएको पैसाले साहले कटहरीमा चार कोठाको पक्की घर बनाउनुका साथै विराटनगरमा घडेरीका लागि एक कट्ठा जमिनसमेत जोडेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.