|

एजेन्सी : चीनले शुक्रबारबाट संसारकै ठूलो फाइभ–जी नेटवर्क सञ्चालनमा ल्याएको छ। चीनका तीनवटै राज्यनियन्त्रित टेलिकम्युनिकेसन कम्पनीहरु एकैसाथ फाइभ-जी नेटवर्कमा प्रवेश गरेका हुन्।

चाइना मोबाइल, चाइना टेलिकम र चाइना युनिकमले मासिक २ हजार रुपैयाँमा द्रुत गतिको सेवासहित ३० जिबी डेटा उपलब्ध गराउन सुरू गरेका छन्।

हाललाई बेइजिङ, सांघाई र गोन्जाउसहितका ५० ठूला शहरमा यो सेवा उपलब्ध गराइएको बताइएको छ। चिनियाँ सञ्चार संस्था सिन्ह्वाले जनाएअनुसार १२ हजार वटा बेस स्टेसन तयार गर्दै चीन फाइभ–जी नेटवर्कमा प्रवेश गरेको हो।

यसअघि अमेरिका र दक्षिण कोरियाले केही सिमित स्थानमा फाइभ–जीको परिक्षण थालेका थिए। तर, चीनले सुरू गरेको यो सेवा पूर्णत: व्यवसायिक सेवा हो। एक रिसर्च एजेन्सी बेर्न्सटेनले भनेको छ, ‘चीनको यो कदम महत्वपूर्ण सञ्चार क्रान्ति त हुँदै हो, यसले चीनलाई अझ शक्तिशाली पनि बनाएको छ।’  

चीनमा संसारकै धेरै मोबाइल प्रयोगकर्ता छन्। ८५ करोड चिनियाँहरूले स्मार्टफोनमा इन्टरनेट चलाउँछन्। एक प्रक्षेपणका अनुसार, सन् २०२० भित्रमा ११ करोड चिनियाँले फाइभ–जीको पहुँच प्राप्त गर्नेछन्, जुन देशको कूल जनसंख्याको ७ प्रतिशत हो। दक्षिण कोरियामा ३ प्रतिशत जनसंख्याको मात्रै फाइभ–जीमा पहुँच छ।

हुवावेको भूमिका छ कि छैन?

अवश्य छ। हुवावे संसारकै सबैभन्दा ठूलो टेलिकम्युनिकेसन उपकरण निर्माता कम्पनी भएकाले चीनको फाइभ–जी विकासमा उसको भूमिका नहुने प्रश्नै उठ्दैन। चीनका तीनवटै अपरेटरले हुवावेसँग उपकरण खरिद गर्दै आएका छन्। ती कम्पनीहरूले फाइभ–जी नेटवर्किङको ठेक्का हुवावेलाई नै सुम्पेका छन्, बचेको सिमित हिस्सा इरिक्सन, नोकिया र जेडटिइले प्राप्त गरेका छन्।

अमेरिकासहितका केही पश्चिमा राष्ट्रहरूले प्रतिबन्धलाई पनि हुवावे समस्यामा परेको थियो। हुवावेको संलग्नताले सुरक्षा खतरा पैदा हुनसक्ने, चीनले सोही नेटवर्कमार्फत जासुसी गर्नसक्ने आदि आशंकामा अमेरिका, क्यानडा, यूकेलगायतका देशले हुवावेलाई फाइभ–जीको काम नदिने नीति लिएका थिए। हुवावेले त्यस्तो सम्भावना नकार्दै आएपनि प्रतिबन्ध हटेको छैन।

चीनको यो फाइभ–जी विस्तार कार्यक्रमबाट हुवावे झनै बलियो हुने भएको छ। चिनियाँ मोबाइल निर्माता कम्पनीहरूले अगावैबाट फाइभ–जी सेट बेच्न थाले पनि स्थानीय बजारको मूल हिस्सा हुवावेकै रहनेछ। स्मार्टफोनसम्बन्धि बजार विश्लेषक निकोल पेनले भने, ‘ओप्पो, भिभो र साओमीलाई हुवावेका अघि टाउको उठाउन निकै मुस्किल पर्नेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.