|

  • नारायण ढुंगाना-

चितवन : चम्किलो अनुहार, पुष्ट शरीर। पहिलेझैं दिसापिसाबमा डुब्नुपरेको छैन। जीवन फेरिएको छ। राम्रो हेरचाह पाएका छन्। समयमै दिसा पिसाब गराइन्छ। औषधोपचार नियमित छ। बोल्न र हिंड्न सक्तैनन्। तर उनको अनुहारमा चमक छ। उनी खुसी छन्, अनुहारले त्यही बताउँछ। दाम्लोबाट छुटकारा पाएपछिको जीवन आफैंमा नौलो  हो ।

असारको २२ गते उनको खुट्टाबाट दाम्लो फुकाईयो। दाम्लो फुक्दै गर्दा छिमेकी माया वाईवाले भनेकी थिइन् ‘उनलाई अब भने दिसा पिसावमा डुबेको देख्नुपर्दैन।’ अहिले त्यस्तै भएको छ। साँच्चै फेरिएका छन्, १५ बर्षका अनुत वाईवा। मोटाएका छन्। ह्वील चियरमा हिंडडुल गर्छन्। उनको रेखदेखमा खटिन्छन् युवाहरु।

गएको असारअघिसम्म अनुतको जीवन अर्कै थियो। बाँसका भाटाको बारबेर गरेको र टिनको छाना हालेको थोत्रो घरको भुईंमा राखिएको थोत्रो सुकुलमाथि सुताइएको हुन्थ्यो। बायाँ खुट्टाको गोलीगाँठो नजिक दाम्लो लगाइएको थियो। हिंडडुल गर्न नसक्ने हुनाले दिसा पिसावको आहालमा डुबिरहेका हुन्थे।

चितवनको रत्ननगर वडा नम्बर १५ स्थित माधवपुरमा झण्डै एक बर्षदेखि दाम्लोमा बाँधिएर बस्न बाध्य उनको अहिले स्वास्थ्योपचार र पालनपोषण अपाङ्ग बाल तथा बृद्ध सेवा गृह काठमाडौंले गरिरहेको छ।  चाबहिलबाट साँखु जाने बाटो झण्डै १५ किलोमिटर हिंडेपछि आउने काठमाडौ शंकरापुर नगरपालिका वडा नम्बर १० सलंबुटार साँखुमा रहेको उक्त गृहमा अनुतलाई भेट्न सकिन्छ। द्वन्द्व पीडित तथा अपांग समाजद्वारा यो गृह सञ्चालित छ। उनीसँगै यस्तै ४१ जना अपांग असहायहरु त्यही गृहमा बस्छन्।

आफैं अपांग भएर बसेका युवराज थापा नेतृत्वको समूहले यस्ता असहायको रेखदेख गर्ने गरेको छ। ‘अनुतलाई बेलाबेलामा छारे रोग देखिन्छ अरु त ठीक छ,’ थापाले भने, अरु ४० जनाको अवस्था पनि उस्तै पीडा मै छ ।’ देश विदेशमा रहेका नेपालीहरुले दिएको सहयोगमा उनीहरुको पालनपोषण हुँदै आएको छ।

एनआरएनएका केन्द्रीय सदस्य एवं डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधि सोमनाथ सापकोटा दाम्लोमा हुँदा र अहिले फेरिएको देख्दा मन आनन्दित भएको बताउँछन्। उनकै पहलमा चितवनको रत्ननगरका अनुतलाई दाम्लोबाट छुटाइएको थियो।

बुबा दावा भन्ने आइतराम र आमा चमेलीले अघिल्लो बर्ष कात्तिकदेखि अनुतलाई चटक्कै छाडेर हिँडे। अपाङ्ग भएकैले छाडेको अनुमान स्थानीयको छ। उनी बेसहारा जस्तै भए। त्यसै छाड्दा घस्रने र घर झुप्रो भत्कनै लागेको भएकाले बाहिर भाग्ने चिन्ता हुन्थ्यो। त्यसैले उनका १२ बर्षे भाई विशालले बानेर राखेका थिए। विशालले नै विहान गुहु र मुत सोहोरेर राख्थे। आफैं त बालक, त्यसमाथि दाइको स्याहार गर्नुपर्दा विशालको पीडा उस्तै थियो।

सात कक्षामा पढ्ने अल्लारे भाई विशालले उनको रेखदेख गर्थे। के खुवाउने, कसरी राख्ने मेसो थिएन विशाललाई। त्यसैले अनुतको स्वास्थ्य जोखिममा परेको थियो। ‘पहिले ४ कठ्ठा जग्गा रु ३ लाखमा दृष्टिबन्दकी थियो, अहिले त्यो अर्कैले खाइसक्यो रे, स्थानीय आशिष तामाङ स्मरण गर्छन्,' सुकम्वासी बनेका र बुबाआमाले पनि छाडेर गएपछि दाजुभाइको विजोग देख्नुपर्थ्यो।’

अहिले फेरिएकोमा उनी पनि खुसी छन्। चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारी र तत्कालिन चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको पहलमा उनलाई गएको असार २२ गते उद्दार गरेर काठमाडौ पठाएका थियो।

बालकको पालनपोषण तथा आवश्यक खर्चको व्यवस्था भने सोम सापकोटाको पहलमा हुँदै आएको छ। उद्दारका बेला सशत्र प्रहरीका प्रहरी उपरीक्षक शम्भु उप्रेतीले ठूलै योगदान गरेका थिए। पैसा नभएपछि लायन्स क्वल अफ लंकु चितवनले एम्वुलेन्स भाडा दिएर अनुतलाई उद्दार गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.