समाज : सुरक्षा/अपराध

मानव बेचबिखन र संगठित अपराध रोक्ने रणनीति नेपालमा बन्दै

पुस २८, २०७३

    काठमाडौं : आंतकवाद, मानव बेचबिखन, लागूऔषध र संगठित अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय रुपमा रणनीति तयार हुन लागेको छ। नेपालमा हुन लागेको २३ औं अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा सो रणनीति बन्ने अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विज्ञानराज शर्माले जानकारी दिए। 

    ‘आतंकवाद अपराध, युद्ध अपराध, मानवताविरुद्धको अपराध, पर्यावरणीय अपराध, संगठित अपराधजस्ता दर्जनौं अपराध नियन्त्रणका विषयमा सम्मेलनमा छलफल हुनेछ’, उनले भने ‘लागूऔषध र वन्यजन्तुका अंगको कारोबारमा नेपाल ट्रान्जिट देशको रुपमा प्रयोग भइरहेकोले यिनै विषय उठाउने तयारी गरेका छौं।’

    दक्षिण अमेरिकी देशमा उत्पादन हुने कोकिनदेखि अफगानिस्तानको हेरोइन र चीनमा वन्यजन्तुको अंग नेपालको बाटो हुँदै युरोप जाने गरेकोले सम्मेलनमा कुरा उठाउन लागिएको उनले जानकारी दिए। इन्टरपोलका महासचिवले तयार गरेको मुख्य एजेण्डामा छलफल हुने पनि उनले बताए।

    हरेक दुई–दुई वर्षमा हुने एसिया प्रशान्त क्षेत्रीय सम्मेलन यसअघि नेपालमा सन् १९८९ मा भएको थियो। करिब २७ वर्षपछि माघ ४ गतेबाट नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय प्रहरी संगठन -इन्टरपोलको एसिया प्रशान्त क्षेत्रीय सम्मेलनको क्रममा ५५ देशका दुई सय ५० प्रहरी अधिकारीहरु नेपाल आउनेछन्।

    इन्डोनेसियाको बालीमा भएको इन्टरपोलको ८५ औं महासभाबाट चीनका मेङ होङवीई अध्यक्ष निर्वाचित भएपछिको पहिलो बैठक नेपालमा हुन लागेको हो। इन्टरपोलमा एक सय ९० देशका प्रहरी संगठन आवद्ध छन्। 

    सम्मेलनमा विश्व भन्सार संघ, संयुक्त राष्ट्रसंघीय लागूऔषध नियन्त्रण कार्यक्रम, अन्तर्राष्ट्रिय आप्रवासी संगठन, आसियान सचिवालय र सार्क सचिवालयका प्रतिनिधीहरु सम्मेलनमा सहभागी हुनेछन्।

    यसैगरी संयुक्त राष्ट्रसंघीय अपराध उपचार नियोग, आर्थिक समन्वय संगठन, इक्याप्ट इन्टरनेशनल, अष्टेलियन विश्वविद्यालय, प्यासिफिक ट्रान्सनेसन क्राइम कोअर्डिनेसनका प्रतिनिधिहरु पनि सम्मेलनमा आउने कार्यक्रम रहेको छ। अमेरिका र फ्रान्सका प्रहरी प्रमुखका साथै अरबियन मन्त्रिपरिषदका सदस्य र खाडी मुलुकका प्रतिनिधिहरु पनि सम्मेलनमा आउने एआइजी शर्माले जानकारी दिए।

    तीन दिनसम्म चल्ने सम्मेलनपछि केही प्रहरी प्रमुखहरुले नेपाल घुम्न इच्छा देखाएको पनि उनले जानकारी दिए। ‘केही प्रहरी प्रमुखहरु नेपाल आएको बेला घुम्ने इच्छा राखेका छन्’, एआइजी शर्माले भने ‘यसले पर्यटन क्षेत्रको पनि प्रचार प्रसार भई सकारात्मक सन्देश जान्छ।’

    सम्मेलनको सबै खर्च सम्बन्धित देशका प्रहरी अधिकारीहरुले नै बेहोर्नुपर्ने नियम छ। आयोजक राष्ट्रको हैसियतमा नेपालले खानाको पैसा मात्र बेहोर्नेछ।

विकास लम्साल

पत्रकार लम्साल सुरक्षा र राजनीतिक मामिलामा रिपोटिङ गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]