फिचर

आम्दानीको स्रोत बन्दै खेर जाने अलैंचीको बोट

कात्तिक १९, २०७६

    ताप्लेजुङ : मेरिङ्देन गाउँपालिकाकी फुर्लाम्हु शेर्पा तीन वर्षदेखि सदरमुकाम फुङलिङमा बस्छिन्। शारीरिक रूपमा अशक्त उनी सहज रूपमा हिँड्डुल गर्न सक्दिनन्। 

    आत्मनिर्भर बन्ने सपना बोकेर शहर पसेकी फुर्लाम्हु कामको खोजीमा निकै भौंतारिइन्। एक वर्षअघि अलैंचीको बोटको रेसाबाट आकर्षक सामान बनाउने सीप सिकेपछि उनको दैनिकी फेरिएको छ। उनी फुङलिङकै चन्दन फाइबर उद्योगमा काम गर्छिन्। त्यहाँ अलैंचीको बोटको रेसाबाट घरायसी सजावट साथै कस्मेटिक सामान बनाइन्छ। 

    ‘पहिलोपल्ट बजार आउँदा एक्लै आएकी थिएँ, चिनेका मान्छे कोही थिएनन्, निकै गाह्रो भयो,’ फुर्लाम्हु विगत सम्झँदै भन्छिन्, ‘सुरुमा यसले के गरेर खान सक्ली र ! भन्ने धेरै थिए, हिजोआज उनीहरू नै मेरो सीप देखेर लोभिन्छन्। कमाएर घरमा पनि पठाउँछु।’ 

    फुङलिङकी पुनम गुरुङ गृहिणी हुन्। श्रीमानको कमाइले मात्रै घर खर्च नधान्ने भएपछि उनले कुनै व्यवसाय गर्ने सोच बनाइन्। साथीहरूले गरिरहेको सिलाइ–कटाइ, ब्युटीपार्लर, ढाका बुनाइजस्ता व्यवसायबारे बुझिन्। उनलाई फरक काममा हात हाल्ने रहर जाग्यो। घर नजिकै खुलेको फाइबर उद्योगमा अलैंचीको रेसाबाट सामान बनाउने तालिम लिइन् र त्यही उद्योगमा काम गर्न थालिन्। बिहान–बेलुका घरको कामसमेत भ्याएर उनी मासिक १५ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्छिन्।

    पुनम भन्छिन्, ‘सीप सिकेपछि बेरोजगार बस्नु नपर्दो रहेछ। समाजले हेर्ने आँखा फरक पर्दो रहेछ।’ फुर्लाम्हु र पुनमजस्तै नौ जना महिलालाई चन्दन फाइबर उद्योगले रोजगारी दिएको छ।

    खेर जाने बोटको सदुपयोग

    अलैंची नेपालको प्रमुख नगदेबालीमध्येमा पर्छ। पूर्वी नेपालमा यसको खेती ब्यापक गरिन्छ। अलैंची गोड्दा र टिप्दा पुराना बोटलाई फालिन्छ। त्यही फालिएको बोटलाई सदुपयोग गर्ने लक्ष्यसहित उद्यमी माया गुरुङले दुई वर्षअघि फाइबर उद्योग स्थापना गरेकी हुन्। फालिएको बोट भएकाले त्यसको मूल्य तिर्नु पर्दैन। 

    ‘अपेक्षा गरेभन्दा बढी मूल्य पाएपछि उत्साही बनेका कृषकले खेतबारी मासेरै अलैंची लगाए,’ माया भन्छिन्, ‘अहिले भने मूल्य घटेर ३० हजारमा झरेको छ। कृषकमा निराशा छाइरहेका बेला निराशाभित्र आशा खोज्ने प्रयास गरेकी हुँ।’

    फुङलिङकै भीम गुरुङको अर्को समूहले एक वर्षयता यस्तै खाले हिमालीका कृषि उद्योग सञ्चालनमा ल्याएको छ। उनको उद्योगमा पाँचजना कामदार छन्। अलैंचीको बोटको रेसाबाट बनेका पर्स, साइड ब्याग, ढाकी, रुम म्याट, पेन होल्डर, राउन्ड म्याट, मोबाइल कभरजस्ता सामग्री निकै आकर्षक देखिन्छन्। ताप्लेजुङलगायत पूर्वका विभिन्न बजारसहित काठमाडौंमा पठाइने सामानको माग धान्नै नसकिएको भीम बताउँछन्। 

    विभिन्न संघसंस्थाको सहयोगमा काठमाडौंको विभिन्न सुपर मार्केट र होटेलमा पुर्‍याएका छन्। स्थानीय बजारमा रहेका कोसेलीघरमा पनि राखेका छन्। दक्ष जनशक्तिकै अभावमा माग अनुरूप उत्पादन गर्न नसकिएको उनको भनाइ छ। 

    अलैंचीको बोट ल्याएपछि यसको रेसाबाट कतिपय सामग्री हातले र अधिकांश तानमा बुनेर सामग्री उत्पादन गरिन्छ। ‘युवाहरू वैदेशिक रोजगारीमा गएको र यहाँ बसेकाले पनि उचित काम नपाएको अवस्थामा हामीले युवाहरू र गृहिणी महिलालाई समेत तालिम दिएर दक्ष बनाएका छौं,’ उद्यमी भीमले भने। अलैंचीको बोट प्रशोधन गरी रेसाबाट र फलबाटै पनि स्थानीय स्तरमै विभिन्न सामग्री उत्पादन गरेर आम्दानी लिन सकिन्छ। 

वसन्त लिम्बू

लिम्बू थाहा खबरका ताप्लेजुङ समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]