म भ्रष्टाचारी भए प्रमाणित गर्नुस्

|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वाकपटुताका अब्बल छन्। सधैंजसो कार्यक्रममा व्यस्त हुने नेता ओली कार्यक्रममा राष्ट्रियताका विषय जोड्दै सहभागीहरुलाई मख्ख बनाउँछन्।

बिहीवार नेकपा एमालेका नेता तथा साहित्यकार प्रदिप नेपालको "आमाको मन" नामक लघु उपन्यासको लोकार्पण कार्यक्रममा पनि ओली त्यसरी नै प्रस्तुत भए। अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले झापा आन्दोलन, जेल जीवन, राजनीति गर्ने क्रममा लेखक नेपालसँग बिताएका पलहरु स्मरण गरे।

पुस्तकका टिप्पणीकारद्वय प्रा.डा. कुमारप्रसाद कोइराला र प्रा.डा. गीता त्रिपाठीको टिप्पणी सुनिसकेपछि बोलेका ओलीले राजनीति विकृत नभएको तर्क गरे। यसअघि पुस्तकमाथि टिप्पणी गर्ने क्रममा प्रा.डा. कुमारप्रसाद कोइरालाले राजनीति गर्ने सबै भ्रष्ट भएको आरोप लगाएका थिए। त्यसपछि ओलीले आफ्नो मन्तव्य यसरी राखे :

माओवादी कम्युनिष्ट भए म कम्युनिष्ट होइन

हाम्रो देश अप्ठ्यारो अवस्थामा छ। यहाँ सबै राम्रो सबै नराम्रो भन्‍न त सकिदैन नी। सबै नेता राम्रा भन्‍न सकिन्छ र। लम्पसारवाद भनेको त्यसै हो र ? लम्पसारवाद भनेको नराम्रा नेता भन्या त हो नी अर्को शब्दमा। नेता छन् त्यस्तो। तर एउटा दुइटा लम्पसार परे भन्दैमा राष्ट्रियताको लडाँइ हामी लडेका छैनौ? हामीले देशलाई जोगाउने कुरामा लडेका छैनौं ? संविधान बन्‍न नदिने, बने कार्यान्वयन नहुने यत्रा षड्यन्त्रहरु भइराखेका छन्। त्यसकारण सबै प्रकारका शक्तिहरु छन्। हामी राम्रामा लाग्छौ। राम्रालाई साथ दिन्छौ। राम्रालाई सहयोग दिन्छौ। राम्रोलाई साथ दिएर अगाडी बढाउँछौ। 

कम्युनिष्टका नाउमा माओवादी कम्युनिष्ट हो भने म कम्युनिष्ट होइन। मैले धेरै वर्ष अगाडी भनेको थिए। म अहिले पनि भन्छु। माओवादी पार्टी कम्युनिष्ट पार्टी हो भने म कम्युनिष्ट होइन र हुन सक्दैन। अहिले पनि मेरो कुरा त्यही हो। कम्युनिष्ट भनेको शिष्ट, संयमित र देश- जनताका लागी समर्पित हुनुपर्छ। देशप्रति समर्पित, निष्ठाको लागी, समाजसेवाका लागी राजनीति हुनेगर्छ।

झाँसीका रानी जस्ता हाम्रा पनि थिए रानीहरु। रानी भनेको लडाका हिरोइनहरु थिए। अब यो त सानो देश जोगी पनि उतैबाट ल्याउनुपर्छ हामीले। प्रणायाम यसो नाक थुन्दा पनि उतै। आफैले थुन्दा हुने कुरा अचम्म! अब त आटा, पिठो, तेल पनि सबै एकैचोटी। के हुन थाल्यो हाम्रो देश यस्तो ?

एकता दिवसमा लोकतन्त्रको विरोध

आजकल एकातिर विषय एकातिर कुरा अर्कैतिर हुन्छ। यता अगाडितिर कुस्ती खेल्दैछ भने खुट्टोले यता पड्याक्कै हान्दिन्छ के! यस्तो चल्ने गरेको छ आजकल। हिजो राष्ट्रिय एकता दिवसको कार्यक्रममा गएको थिए। त्यहाँ गालीगलौज तथानाम थियो। बहुदलीय व्यवस्थाको विरोध, दलहरुको विरोध, नेताहरुको विरोध चल्यो।

पृथ्वीनारायणको एकिकरणको समर्थन गरे झैं, त्यसको आडमा दलहरुको विरोध, दलीय व्यवस्थाको विरोध, लोकतन्त्रको विरोध, सत्तोसराप थियो त्यहाँ। गेस्ट (अतिथि) भनेर बोलाएको छ। ती गेस्टहरुलाई त चक्कु लिएर छाला काढ्या जस्तो। कसले छाला काढ्यो भन्दा स्वागत भाषण गर्न गएकाले। स्वागत गर्छु भनेको त, तिम्रा स्वागत! विचित्र खालको!

कृष्णको पालामा कंश पनि थिए

साहित्य पनि सबै प्रकारको हुन्छ। राजनीति पनि सबै प्रकारको हुन्छ। कृष्णका पालामा पनि कंश पनि थियो। शिशुपाल पनि थियो। अर्को पासा फ्याँक्ने सकुनी पनि थियो। दुर्योधन पनि थियो। दुशासन पनि थियो। युधिष्ठिर पनि थियो। उहिले पनि थिए ती। राणा शासनका पालामा पनि मान्दिन राणा शासन भनेर उफ्रिने लखन थापा थियो। थियो नी त्यसबेला पनि। कुनैपनि जमानामा राम्रा मान्छेहरु हुन्छन्। नराम्रा मान्छेहरु हुन्छन्। राम्राहरु राम्राका निम्ति काम गर्छन्। नराम्राहरु नराम्राका निम्ति काम गर्छन्। 

म भ्रष्टाचारी भए प्रमाणित गर्नुस

मैले राजनीति गरेको ५२ वर्ष भयो। ५२ वर्षमा भ्रष्टाचार गरेको छैन। म तपाईहरुका अगाडी भन्दैछु। भ्रष्टाचार गरेको छैन। घुसखोरी गरेको छैन। बेइमानी गरेको छैन। देशको हितको विपरित काम गरेको छैन। जनताको विपक्षमा गएको छैन। जनताका निम्ति लडिएको छ। राष्ट्रका निम्ति लडिएको छ। सामाजिक न्याय समानताका निम्ती लडिएको छ।

यसबीचमा कँही कतै कहिल्यै बेठिकको पक्षमा उभिएको, बोलेको, लेखेको, वा केही काम गरेको कसैले देखाउन सक्नुहुन्छ ? म आफ्नै कुरा भन्‍न चाहन्छु। कसैले सक्नुहुन्छ देखाउन ? त्यस्तो छैन किनभने हामी ढाँटछलको राजनीति गर्दैनौ। हामीलाई देश परिवर्तन गर्नुछ। परिवर्तनको सङ्कल्प बोकेर हिडेंका मान्छेहरुले ढाँटछलको राजनीति गरेर, बेइमानी गरेर, जनतालाई अल्मल्याएर जनतालाई सचेत बनाउन सकिदैन।

त्यसकारण जनतालाई अल्मल्याउनेहरु र सचेत पार्नेहरु बीचमा भिन्‍नता हुन्छ। हामी जनतालाई सूसुचित, सचेत बनाउन चाहन्छौ। हामी जनतालाई विभाजित गर्न चाहदैनौ। जनतालाई असल कामका निम्ति एकजुट बनाउन चाहन्छौ। जनताका बीचमा अनेक प्रकारका विभेदहरु सिर्जना गर्ने अथवा त्यसलाई प्रयोग गरेर फाटो ल्याउन खोज्दैनौ। विविधतालाई दुरुपयोग गरेर राष्ट्रिय एकतालाई कमजोर पार्न खोज्दैनौ। राष्ट्रिय एकताको पक्षमा हामी हुन्छौ। अनि जति यातना दिएपनि, जति चुटेपनि, जस्तो अवस्थामा गोलघरमा नेल, हत्कडी लगाएर चिसो छिंडीमा बिना कपडा हिउँदका दिनहरुमा राख्दा पनि, भोकै थुन्दा पनि शिर निहुराउन्‍न भन्‍ने कुरा यो देखावटी हुन सक्छ र? 

म बरु प्रधानमन्त्री छोड्छु देशको शिर झुक्न दिन्‍न भन्‍ने कुरा पनि देखावटी, बनावटी हुन्छ र? यदि अलिकति शिर झुकाउन तयार भएको भए, आफै कठपुतली हुन तयार भएको भए अर्को कठपुतली त चाहिदैनथ्यो होला नी।  तर हामीले देशको स्वाभिमान राखेका छौ।  राष्ट्रियताको पक्षमा। 

जसको पनि विरोध गर्ने हो भने त मलाई थाहा छैन। प्रशंसा गर्न सकिदैन। राम्रो कामको समर्थन गर्न सकिदैन भने पनि झुटो विरोध त किन गर्नु र भन्‍ने लाग्छ। किन गर्ने ?

किन राजा ?

अहिले पनि एउटा हुल मान्छेहरु राजा माग्दैछन्। कस्तो राजा चाहिएको होला? केही केही मान्छेहरुलाई। पोहोर परार अलिअलि भत्ता खाए होलान् र ठिकै छ। यस्तो राजतन्त्र ! फेरि चाहियो भन्‍ने ? कस्तो बुद्धि होला ?

मेरो छोरो जन्मिदा नै सानो, शाषित, रैती हुनेगरी जन्मिन्छ। उसको छोरो जन्मिदै शाशक हुनेगरी जन्मिन्छ भनेर मान्‍ने। जन्मसिद्ध श्रेष्ठताको छोरो। त्यो जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त। संयुक्त राष्ट्रसंघ बडापत्रको धारा १२ ले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त भनेको वैज्ञानिक आधार नभएको, कुनै तर्कमा आधारित नभएको। तथ्य कतै नभएको पाखण्ड हो त्यो भन्छ। एकपल्ट त्यो पढेपनि हुन्थ्यो। त्यो पनि नपढिकन राजतन्त्र चाहियो त्यो पनि नेपालको जस्तो देशमा। 

नेपालको राजतन्त्रको इतिहास सम्झनुहोस् त। काम सम्झिनुस। गाडी हाँकिराखेको छ यसलाई किच्दिउँ ? किच्दिउँ-किच्दिउँ। घ्याच्च हान्द्‍याछ एउटा कलाकार मरेको छ। अर्को एउटा उपद्रो अर्को ठाउँ गएर गरेको छ। त्यस्तो राजतन्त्र चाहियो भन्‍ने अचम्मका मान्छेहरु। 

विचित्रका प्रदिप

राजनीतिक साहित्यका शिखर व्यक्तित्व हुनुहुन्छ प्रदिप नेपाल। उहाँसँग म धेरै अगाडिबाट आकर्षित भएको हो। लोभलाग्‍ने खालको हुनुहुन्थ्यो। २०३२ सालमा गिरफ्तार हुनुभयो। त्यो भन्दा अगाडीदेखि नै राजनीतिक अभियान सँगसँगै एउटा सांस्कृतिक अभियान चलाइराखेका थियौं। त्यसका निम्ति जनपक्षीय नयाँ गीतहरु रचना गर्ने गाउने गर्नुपर्थ्यो। मलाई गाउने, बजाउने भन्‍ने कुरा सबैभन्दा नआउने। अभियान नचलाइ थिएन। 

उहाँ पनि कान्छो सदस्य भएर पछाडि पछाडि कुद्‍नुहुन्थ्यो होला। उहाँका दाईहरुले राल्फा समूह चलाउनुभएको थियो। तर गीत भने उहाँहरुका असाधारण जनपक्षीय हुने गर्थे। ती गीतहरुबाट हामी अत्यन्तै प्रभावित थियौं। पछि उहाँहरुले राल्फा छाड्नुभयो र आफ्नै ढंगले राजनीतिक क्षेत्रमा नै उहाँहरु राजनीतिक गीतकार, संगीतकार, गायकको रुपमा अगाडि बढ्नुभयो। रामेश सायन, मञ्‍जुल आदि साथीहरु। जसभित्र सुरुमा पारीजात पनि हुनुहुन्थ्यो।

एक समय हाम्रो समय थियो। छेकडोल्मा भन्‍ने एउटा लघुपुस्तिका निस्कियो। छेकुडोल्माले चक्मा दियो। के यो क्लिष्ट साहित्य भयो ? साहित्य क्लिष्ट त छ छेकुडोल्मा के हो भनेर तिरिमिरि भयो मान्छेहरुलाई । के हो के हो छकुडोल्मा ? पछि मान्छेहरुलाई थाहा भयो पारिजातकै सुरुवातको नाम थियो छेकुडोल्मा भन्‍ने। 

जेलमा पर्नुभयो उहाँ (प्रदिप नेपाल)। राल्फा छाडेर उहाँहरु राजनीतिक अभियानमा लाग्‍नुभएको थियो। 'हामी झापाली' भनिएर एउटा नयाँ आन्दोलनको शुरु गरेका थियौं। २०३० सालदेखि हामी लामै समयदेखि जेलमा परेका थियौं। उहाँहरुलाई हाम्रो आन्दोलनकारी, परिवर्तनकारी प्रवृत्ति अलिक मन परेछ। उहाँहरुले त्यसलाई समर्थन गर्नुभयो। समातेर उहाँहरुलाई पनि जेलमा ल्यायो। 

उहाँले जेलमा गीत गाएको मैले जेलमै सुने। साहित्यकार भन्दा पहिले मैले साह्रै मिठो स्वरमा गीत गाउने मान्छेको रुपमा चिने। त्यस्तो स्वर भएको भए म अहिले यही पनि गीत गाउथे। गाउन पनि छाड्दैनथे। किन उहाँ गाउनुहुन्‍न, किन छाड्नुभयो थाहा छैन। 

वास्तवमा म उहासँग मेरो मित्रताको कारण सबभन्दा बढ्ता उहाँको स्वर पनि थियो। भन्‍न त राजनीति भनिन्थ्यो। राजनीतिभन्दा उहाँको स्वर मन पर्ने त्यसकारण मेरो निकटता भित्रिरुपमा त्यसमा थियो। उहाँका धेरै आयामहरु छन्। सुमधुर स्वरमा गीत गाउने, मीठा गीतहरुको रचना गर्ने, आमाको मनको उपन्यास लेख्‍ने, आमाको मनको परिकल्पना गर्न सक्ने कोमल हृदयको मान्छे। 

उहाँ तानाशाहीको विरुद्ध निर्ममतापुर्वक जुध्‍नसक्ने। जेलमा लगेर हाल्यो भने सुरुङ खनेर भाग्‍न सक्ने। यी सबै विशेषता पनि उहाँका छन्। २०३३ साल चैतमा नख्‍खु जेलमा राखेका ठाउँबाट उहाँहरु जेलभित्रबाट सुरुङ खनेर पर खोलामा सुरुङ निकालेर राती नै भाग्‍न सक्नुभयो। 

निरङ्कुश राजतन्त्रका विरुद्ध लड्ने जिउँदो बाघको रुपमा। जेल फोडेर हिड्ने बागी बिद्रोही। मिठा कविताहरु लेख्‍ने। गीतारको झञ्कारसँगै कविताको झञ्कार आउथ्यो उहाँको। त्यस्तो सङ्गीतज्ञ बुझ्‍नै गाह्रो हुने। यतातिरबाट हेर्दा कमलो कमलो, नरमो नरमो। बर्थडेको केक जस्तै मिठोमिठो। अर्कातिर हेर्दा थामिनसक्नु। पञ्चायती व्यवस्था, निरङ्कुश राजतन्त्रलाई चुनौती दिएर हिड्ने। उहाँको साहित्यमा यी सबै कुराहरु प्रतिविम्वित भएकै छन्।

(बिहीवार लोकार्पण गरिएको साहित्यकार नेपालको लघु उपन्यास "आमाको मन" ओरियन्टल प्रब्लिकेशनले प्रकाशन गरेको छ। यस कृतिको ओलीले लोकार्पण गरे। यसअघि नेपालका थुप्रै साहित्यिक कृति बजारमा आइसकेका छन्। नेपालले विशेषत: राजनीतिक साहित्य लेख्छन्।)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.