सार्वभौम स्वाधीनता रक्षा गर्न सरकार तयार

|

काठमाडौं : सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री गोकुल बाँस्कोटाले भारतले हालै जारी गरेको भनिएको भारतको राजनीतिक नक्सा नेपालका लागि अस्वीकार्य हुने बताएका छन्।

मन्त्री बाँस्कोटाले बिहीबार अपरान्ह मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलमा बोल्दै एकपक्षीयरुपमा जारी गरिएको नक्सा नेपाललाई अस्वीकार्य हुने बताएका हुन्। 

‘एकपक्षीय रुपमा जारी भएको भारतको नक्सा नेपाललाई अस्वीकार्य छ। अस्वीकार गर्ने जानकारी नेपालले भारतलाई दिइसकेको छ’, उनले भने, ‘हामीले हाम्रो अडान प्रष्ट्याइसकेका छौँ। राजनीतिक र कूटनीतिक रुपमा समस्याको समाधान गर्ने हो।’ 

भारतसँगको सिमानामा कालापानीसहित कयौँ स्थानमा समस्या रहेको उनले बताए । ‘कालापानीमा मात्रै होइन अन्य ठाउँमा समस्या छन्’, बाँस्कोटाले भने, ‘ऐतिहासिक तथ्य, प्रमाण र दसीका आधारमा कालापानीको भूभाग हाम्रो हो।’ 

बाँस्कोटाले आफ्नो भूभाग मिच्न नदिने अडान दोहोर्‍याए । ‘हामी मिच्न दिँदैनौँ। हाम्रो असहमति राखिसकेका छौँ’, उनले भने, ‘२०१८ सालमै कालापानीमा जनगणना भइसकेको छ। राजश्व संकलन पनि गरिसकेका छौँ।’

उनले कालापानी भारतको भए नेपालले जनगणना गर्नै नसक्ने पनि हेक्का राख्न सुझाए। ‘अर्काको भूमिमा गएर राजश्व संकलनका लागि अड्डा स्थापना जनगणना गरिँदैन’, उनले भने, ‘गम्भीरतापूर्वक पहलकदमी लिने कुरा भइसकेको छ। बेला बेलामा सिमानामा यस्ता समस्या आउने गरेका छन्।’

बाँस्कोटाले नेपालको सार्वभौमसत्ता जोगाउन सरकार तयार रहेको बताए। ‘हाम्रो सार्वभौम स्वाधीनताको रक्षा गर्न तयार छौँ’, उनले भने, ‘त्यसमा अलमल हुँदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.