|

जनकपुरधाम : तत्कालीन नेकपा एमोलेबाट धनुषाको क्षेत्र ३ ‘क’बाट प्रदेश सांसदको उम्मेदवार दिपु भन्ने दीपेन्द्र यादव ठगी मुद्दामा पुर्पक्षका लागि शुक्रबार जेल चलान भएका छन्।

सहयोगी विकास बैंक जनकपुरका सञ्चालक समितिका सदस्यसमेत रहेका दिपुलाई जिल्ला अदालत धनुषाले जालसाजी तथा ठगी मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको हो। अदालतले दिपुलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको श्रेस्तेदार यज्ञप्रसाद आचार्यले जानकारी दिए।

जनकपुरधाम उपमहानगरपालिका-१० का लालबाबु रौनियारले आफ्नो जग्गा दिपुको नाममा रजिस्ट्रेशन पास गरी ऋण लिएका थिए। तर दिपुले उक्त जग्गा बेचेपछि पीडित रौनियारले अदालतमा मुद्दा दायर गरेका थिए। सोही मुद्दामा अदालतले पक्राउ आदेश जारी गरेको दुई महिनापछि असोज २९ गते दिपु प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए।

रौनियारले जनकपुरका करोडौंको जग्गा रजिस्ट्रेशन पास गरी ५० हजार ऋण दिपुसँग लिएको थियो। पछि ब्याजसहित ७३ लाख रौनियारले भुक्तानी पनि गरे। तर दिपुले जग्गा फिर्ता गरेनन्। पीडित रौनियारले दिपुसँग जग्गा फिर्ता लिन पटकपटक छलफल गरेका थिए। अन्त्यमा जग्गा फिर्ता नगरेपछि दिपुविरुद्ध रौनियार अदालत पुगे। स्रोतका अनुसार दिपुले उक्त ५ कट्ठा जग्गा २ करोड ७० लाखमा बेचेको पीडित रौनियारको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.