|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद तथा नेतृ पम्फा भुसालले अतिक्रमण रोक्नका लागि भारतसँगको सिमानामा नेपाली सेनालाई परिचालन गर्नुपर्ने बताएकी छन्। 

सोमबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेतृ भुसालले अब खुला सिमानाको नियमन गरेर ठूलो संख्यामा रहेको नेपाली सेना परिचालन गर्नुपर्ने बताएकी हुन। 

‘अब खुला सिमामा नियमन गर्नुपर्छ । ठूलो संख्यामा रहेको नेपाली सेना र सशस्त्र प्रहरीलाई सिमानामा खटाउनुपर्छ। सिमानको विवादको स्थायीरुपमा समाधान गरिनुपर्छ’, उनले भनिन्, ‘नेपालको भूमि भारतीय सशस्त्र सीमा सुरक्षा बलले नै गरिरहेको छ। यो गम्भीर कुरा हो। खुला सीमाको बहानामा अमेरिकाले मुजाहिद्दिन छिर्छ भन्दैछ। त्यहीकारण यो मौकालाई उपयोग गर्दै नेपालले सीमा नियमन कडा बनाउनुपर्छ।’

भारतले नेपाली भूमि अतिक्रमण गरेको बारेमा सरकारले सर्वदलीय सर्वपक्षीय छलफल गरेर पहिलो सहमति जुटाएकाले अब यो विवाद टुंग्याउन ढिला गर्न नहुने भुसालले बताइन्।

‘हामी आन्तरिकरुपमा विभाजित हुँदा विदेशी शक्तिले खेलेका थिए। अहिले तराई, पहाड सबै एक भएकाले अब शक्तिकारुपमा लिएर सरकारले कमद चाल्नुपर्छ’, उनले अगाडि भनिन्, ‘ऐतिहासिक तथ्य प्रमाणहरुका विपरीत नक्सा छापेर भारत सरकारले हामीलाई चुनौती थपेको छ। यो ठीक्क बेला हो, कालापानी, लिम्पियाधुरा फिर्ता ल्याउन अब सरकारले खुट्टा टेक्नुपर्छ।’ 

सुगौली सन्धिले तय गरेको नक्सालाई भारतले मान्नुपर्ने उनले बताइन्। ‘ब्रिटिश साम्राज्यसँग उपनिवेश बसेको भारत नेपालको भूमि मिच्दै हाम्रोतिर बस्नु गलत हो’, उनले थपिन्, ‘सरकारले यथाशिघ्र राजनीतिक तहबाट हल गर्नुपर्छ। अब कर्मचारीको तहबाट यसको समाधान हुन सक्दैन। हाम्रो सीमाको व्यवस्थापन गरेर जानुपर्छ।’

विश्वका सबै राष्ट्रको खुला सीमा नरहेको बताउँदै उनले सीमाको नियमन गरिनुपर्नेमा जोड दिइन्। ‘परिचयपत्रबाट आवातजावत गराउनुपर्छ। विकासका कुरा सोच्ने बेला, सुस्ता, टनकपुर, कालापानी भन्दै जनता मर्नुपरिरहेको छ’, भुसालले थपिन्, ‘बडो सुझबुझका साथ काम गर्नुपर्छ। खुला सिमाना बन्द गरिनु जरुरी छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.