हिजोका राजाहरूले भारतीय सेना राख्‍न दिएको होइन

|

काठमडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालले आफ्नो एक इन्च पनि जमिन नछाड्ने बताएका छन्। 

सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘हामी १ इन्च जमिन छोड्न सक्दैनौं, अरुको १ इन्च जमिन चाहिएन’, उनले भने, ‘यो विषय राजनीतिक र कूटनीतिक माध्यमबाट हल गर्नुपर्छ । हाम्रो सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा प्रष्ट हुनुपर्छ।’

अध्यक्ष दाहालले भारतले कालापानी, लिम्यिाधुरामा र लिपुलेकमाथि गरेको अतिक्रमणको समस्या अब राजनीतिक तहबाट हल गरिनुपर्ने बताए । ‘अहिले नै अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छैन। अहिले वार्ताबाट नै समस्या समाधान गरौं’, उनले भने, ‘त्यसबाट हल भएन भने त्यतिबेला सोचौंला।’

अध्यक्ष दाहालले अब देशभित्र यसबारेमा लामो छलफलको जरुरी नरहेको पनि उल्लेख गरे। ‘यसमा धेरै लामो छलफल गर्नुपर्ने जरुरी छैन। सीमासम्बन्धी समस्या भारतसँग लामो समयदेखि चलेको हो। पटक पटक नेपालका प्रधानमन्त्रीबाट भएको भ्रमणमा पनि यो विषय आउने गरेको हो’, उनले भने, ‘धेरै ठाउँमा सिमानाबारे समझदारी भएको थियो। तर कालापानी र सुस्ताको समस्या भने समाधान हुन नसकेको हो।’

अध्यक्ष दाहालले अहिले भारतले नयाँ नक्सा सार्वजनिक गर्नु नेपालका लागि नकारात्मक रूपमा भएपनि अनुकुल रहेको बताए । ‘अब समस्या समाधान गर्नुपर्छ। भारतसँग भएको महाकाली सन्धिमा सीमानदी महाकालीको पानी आधीआधी गरौं भन्ने भएकाले हामी तथ्यमा बलियो छौँ’, उनले भने, ‘दुवै देशमा अस्थिर सरकार हुँदा पनि समस्या भएको हो। यहीकारण यो मुद्दा अड्किएको हो। आजको अवस्थामा नेपालमा पनि बहुमत सरकार छ भारतमा पनि।’

दुवै देशमा बलियो राजनीतिक स्थिति रहेको बताउँदै प्रचण्डले अब यसलाई नेपालको अनुकूलमा प्रयोग गरिनुपर्ने उल्लेख गरे। ‘यो अवस्था अनुकूल अवस्था हो। हिजोदेखिका जेजति समस्या थिए, अब समाधान गरिनुपर्छ,’ उनले भने, ‘अब जनताको जागरण पनि धेरै माथि आएको छ। राष्ट्रिय समझदारी र सहमतिको वातावरण बनेको छ। यो तागतलाई प्रयोग गरेर भारतसँग राजनीतिक, कूटनीतिक पहल र वार्ताबाट यसको समाधान गरिनुपर्छ।’ 

अध्यक्ष दाहालले सुगौली सन्धिका बेलामा प्रष्टसँग महाकाली नदीलाई सिमाना मानिएको स्मरण गराए । ‘महाकालीको मूल लिम्पियाधुरा हो। लिम्पियाधुरा भन्दा पूर्वको भाग नेपाल र पश्चिमको भाग भारतको हो’, उनले थपे, ‘लिम्पियाधुरा र कालपानीबासीले कर तिरेको, भूमिसम्बन्धी तिरो तिरेको रसिदहरु छन्। रसिद काट्न गएका व्यक्तिहरु पनि जीवितै छन्’, उनले भने, ‘विषय धेरै जटिल होइन। महाकाली सीमा हो, पानी आधा आधा हो भन्ने मान्यता पनि स्थापित भएको छ।’

अध्यक्ष दाहालले अबअब उत्तेजना फैल्याएर पनि समस्या समाधान नहुने बताए । ‘हामीले ऐतिहासिक तथ्यमा विश्वास गर्नुपर्छ’, उनले भने, ‘अब उत्तेजना भड्काउने जस्ता गतिविधिमा लाग्नु हुँदैन।’

भारतीय विदेश प्रवक्ता रभिश कुमारले पनि यो समस्या संवादका लागि संकेत गरेको दाहालले बताए। ‘महाकाली भन्दा पूर्वको भूमिलाई पनि राखेकोबारेमा भारतीय विदेश सचिवले पनि वार्ता गर्न सकिने भनेका छन्,’ उनले थपे, ‘यो विषयमा अब उच्च तहमा वार्ता हुनुपर्छ। 

सेना राख्न दिएको होइन

अध्यक्ष दाहालले अहिले चर्चा गरिए जस्तो हिजोका राजा महाराजाले नेपाली भूमिमा भारतीय सेना राख्न नदिएको दाबी गरे। 

समाजावादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तत्कालीन राजा महेन्द्रले कालापानीमा भारतीय सेना राख्न दिएको बताइरहेका सन्दर्भमा अध्यक्ष दाहालले यस्तो स्पष्टीकरण दिएका हुन्। 

‘हिजोका राजा महाराजाहरुले विदेशी सेना राख्न दिएको भन्ने कुरा होइन। कुनै पनि तथ्य त्यस्तो छैन’, दाहालले थपे, ‘उनीहरुले दिएको भन्ने केही प्रमाण पनि छैन। जे ऐतिहासिक तथ्य हो त्यसमै जानुपर्छ। महाकाली सीमा नदी हो, त्यसपूर्वको नेपाल हो भने पश्चिमको भारत हो।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.