सिरहा : सिरहाको कल्याणपुर नगरपालिका १२ को वडाध्यक्ष पदका लागि आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा आठ दल र पाँच स्वतन्त्र गरी १३ जनाले उम्मेदवारी दर्ता गरएका छन्।
वडाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, राजपा नेपाल, समाजवादी पार्टी नेपाल, सिके राउत नेतृत्वको जनमत पार्टी, राप्रपा र राप्रपा संयुक्त, नेपाल लोकतान्त्रिक पार्टी र पाँच जना स्वतन्त्र गरी १३ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
स्थानीय तह उपनिर्वाचन कल्याणपुर १२ स्थित कार्यालयका अनुसार नेकपाका दीलिपकुमार यादव, कांग्रेसका राजकुमार मुखिया, राजपाका प्रदिपकुमार महतो, समाजवादी पार्टीका किशोरी साह, सिके राउत नेतृत्वको जनमत पार्टीका मो. अताउल रहमान, नेपाल लोकतान्त्रिक पार्टीका राजलाल सदा, राप्रपाका मो. बसिर राइन, राप्रपा (संयुक्त) का मो. अताबुल राइनले उम्मेदवारी दर्ता गराएका छन्।
वडाध्यक्ष बन्ने दौडमा सूर्यनारायण राय, श्यामबाबु दास, रामअशिष सिंह, गौरीशंकर यादव, हेबु मुखियाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
२०७४ मा भएको पहिलो स्थानीय तह निर्वाचनमा कल्याणपुर १२ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित रामदेव यादवको २०७५ वैशाख १८ गते मृत्यु भएपछि आगामी मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो।
कल्याणपुर १२ को वडाध्यक्ष पदको उपनिर्वाचनमा आधारभूत विद्यालय तिलासी बेलहा र विष्णुचरण आधारभूत विद्यालय बेलहा गरी दुई मतदान केन्द्रमा कुल तीन हजार चार सय ५० मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। पहिलो स्थानीय तहको निर्वाचनपछि कल्याणपुर १२ मा एक सय ८० जना मतदाता बढेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।