पोखरा : ‘सांसदहरु सबै भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन्। भोट माग्दा जनतासँँग गरेका बाचा भुलेका छन्। चुनाव जितेपछि गएर फर्केनन्। तपाईँहरुले चुनाव जितेपछि भ्रष्टाचार नगर्ने आधार के छ?’ यो प्रश्न आगामी मंसिर १४ मा हुने उपनिर्वाचनमा कास्की २ बाट उम्मेदवार बनेकाहरुलाई गरिएको हो।
नेपाल पत्रकार महासंघको नेतृत्वमा पत्रकार महासंघ कास्कीले आयोजना गरेको उम्मेदवारसँगको संवाद कार्यक्रममा सहभागी नागरिक समाज, पर्यटन क्षेत्रका, युवाका प्रतिनिधिहरुले यस्तै थुप्रै प्रश्न गरे।
उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेकी विद्या भट्टराई, नेपाली कांग्रेसका खेमराज पौडेल, समाजवादी पार्टीका धर्मराज गुरुङ, साझा पार्टीकी रजनी केसीलाई अगाडि ल्याइएको थियो।
प्रश्न सुरुभयो विद्या भट्टराईलाई। उनी स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी भएको कारणले पनि विवादित रहेको एनसेल काण्ड, वाइडबडी काण्ड, तारा गाउँ रिसोर्ट काण्ड के हो? भनेर प्रश्न गरिहाले। विद्याले पनि सरल तरिकाले जवाफ दिइन्।
‘कसैलाई आरोप लाग्दैमा गलत भन्ने हुँदैन। प्रमाणित पनि हुँदैन। राजनीतिक पूर्वाग्रहले पनि आरोप लगाइन्छन्,’ उनले भनिन्, ‘म चुनाव जितेर गएँ भने यो विषयको छानबिनको नेतृत्व म गर्छु। मेरो सम्पत्ति छानबिन होस्। दोषी भेटिए दण्ड भोग्न तयार छु।’
कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई पनि प्रश्न तेर्सियो। युवालाई त्याग किन नगरेको? उनले भने, ‘मान्छे उमेरले बुढो हुँदैन, विचारले हुने हो। मेरो उमेरका कारण पनि म भोगविलासमा लिप्त हुँदिनँ। राज्यको ढुकुटीमा आँखा लाउने काम मबाट हुने छैन।’
पौडेल ७४ वर्षका हुन्। उनले त्यसमै थपेर सबै जनप्रतिनिधिको सम्पत्ति सार्वजनिक र छानबिन हुनुपर्ने तर्क गरे। उनले भने, ‘भ्रष्टाचार निर्मुल गर्न राजनीतिक दलका प्रमुख नेता नै सफा हुनुपर्छ। मुहान सफा भएन भने हुँदैन।’ पोखरा र देशकै विकासमा जलस्रोत, पर्यटन र कृषिमा आधुनिकीकरण, जीवनोपयोगी शिक्षा, स्रोत साधनको सही ढंगले सदुपयोगले मुलक समृद्धितर्फ जान सक्ने उनको एजेण्डा छ।
कास्की २ मा चुनाव लडेको तेस्रो ठूलो दलको तर्फबाट उम्मेदवार बनेका धनराज गुरुङलाई पनि त्यहाँका मतदाताले अन्य उम्मेदवारलाई झैं प्रश्न गरे। गुरुङले भने, ‘भ्रष्टाचार पुस्तौंदेखि छ। २०४७ सालदेखिकै नेताहरुको सम्पत्ति छानवीन गर्नुपर्छ। सम्पत्ति छानबिन गरेर नेताको ४० प्रतिशत सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। यहाँ सिस्टम नै छैन ।’ उनले आफु कुनै मुद्दामा आरोपीत भेटिए पदबाट राजीनामा दिने प्रतिवद्धता पनि गरे।
साझा पार्टीबाट उम्मेदवार बनेकी रजनी केसीले सांसद शासक बन्न होइन, जनताको सेवक बन्न जानुपर्ने तर, नेपालमा त्यस्तो नभएको बताउँछिन्।
‘इमान्दारिता र निष्ठामा ह्रास आएकै कारण आज मुलुक यो अवस्थामा आइपुगेको हो,’ उनले भनिन्, ‘एउटा व्यक्तिले राज्यको सार्वजनिक जग्गा हडपेर बस्दा कसले न्याय दिने भनेर प्रताडित हुनुपर्ने अवस्था छ। साझा पार्टीको एउटा एजेण्डा नै छ नेताको २०४७ सालयताको सम्पति छानबिन हुनुपर्छ।’
कार्यक्रममा सहभागिले धेरैलाई तत्कालीन राज्य व्यवस्था नै ठिक नभएको तर्क समेत गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।