|
Photo : twitter.com/UEFAEURO

काठमाडौँ : युरोकप अन्तर्गत बिहीबार बिहान सबेरै सम्पन्न खेलमा वेल्सलाई पराजित गर्दै पोर्चुगल दोस्रोपटक युरोकपको फाइनलमा प्रवेश गरेको छ। वेल्सलाई २–० ले पराजित गर्दै पोर्चुगल फाइनलमा प्रवेश गरेको हो।

लियोनको स्टेड डे लुमिरेसमा सम्पन्न निकै प्रतिष्पर्धात्मक खेलमा रियल मड्रिडका दुई सहकर्मीको भिडन्तमा रोनाल्डोले बाजी मारेको हुन्। 

पहिलो हाफमा दुवै पक्षबाट गोलका केही प्रयासहरू भएपनि गोल भने हुन सकेन। वेल्सका गेराथ बेल र पोर्चुगलका क्रिष्टियानो रोनाल्डो दुवैले पहिलो हाफमा २–२ अवसर खेर फालेका थिए। 

२३ औँ मिनेटमा मैदानको मध्य भागबाट एकल प्रयासमा लगेर प्रहार गरेको गेराथ बेलको लेफ्ट फुटेट सट गोलकिपरले रोक्दा ४२ औँ मिनेटमा रोनाल्डोका सट पोष्ट भन्दा केही नजिकबाट बाहिरिएको थियो। 

दोश्रो हाफको ५० औँ मिनेटमा सुपरस्टार रोनाल्डो दृश्यमा आए। राफेल गुरेरियोले कर्नरबाट दिएको पासमा डिबक्समा रहेका रोनाल्डाको पावरफुल हेडरले जाली चुम्दा पोर्चुगलले एक गोलको अग्रता लियो। योसँगै युरोकपको हरेक सेमिफाइनलमा गोल गर्ने रेकर्ड बनाएका उनले मिचेल प्लाटिनिको युरोकपमा सबैभन्दा बढी गोल गर्ने रेकर्डसँग पनि बराबरी गर्न पुगे।

त्यसको ३ मिनेट पछिनै पोर्चुगलले अग्रता दोब्बर बनायो। यस पटक क्रिष्टियानो रोनाल्डाले डिबक्स भन्दा केही बाहिरबाट दिएको पासमा नानीले पोष्टको दिशा दिँदा पोर्चुगल २–० ले अघि बढ्यो। 

खेलको ६५ औँ मिनेटमा नानीको पावरफुल सट गोलकिपरको हातबाट रिबाउन्ड भएर आउँदा नजिकै रहेका जोओ मारियो चुकेका थिए। 

त्यसपछि वेल्सले गोलको केही अवसरहरु श्रृजना गरेको थियो, तर गोलमा परिणत हुन सकेन। उसका लागि गेराथ बेलले गरेका केही सुन्दर प्रयासहरुले पोष्टको दिशा लिन सकेन। 

त्यसपछि खेलमा कुनै गोल भएन र खेल पोर्चुगलले जित्यो। उपाधिको लागि पोर्चुगलले अब फ्रान्स र जर्मनीबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिष्पर्धा गर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.