|

दाङ : सिहंदरबारको भल्को दिने दाङमा रहेको भवन संरक्षण अभावले जीर्ण बनेको छ। ५५ झ्याले दरबारको रूपमा चिनिने यस भवन संरक्षणको अभावले जीर्ण बन्दै गएको हो।

दाङको गढवा गाँउपालिका-३ गोबरडिहामा रहेको उक्त भवन ५५ झ्याले दरबारका रूपमा परिचित छ। तर‚ भवनको प्रचारप्रसार नहुँदा ओझेलमा पर्नुका साथै संरक्षण अभावमा जीर्ण बन्दै गएको छ।

भारतबाट मिस्त्री छिकाएर उक्त दरबार निर्माण गरिएको स्थानीय बुढापाका बताउँछन्। दरबार निर्माण गर्न आवश्यक सामग्री स्थानीय रूपमा पाइए पनि बनाउने मानिसहरू भारतबाट ल्याएर बनाइएको थियो।

भवनमा ५५ झ्याल र भवनको चौखण्डमा सिंहको आकृति बनाएर सिंहदबारको नक्क्कल गरेको भन्दै तत्कालीन राणा शासकले भवन बनाउने जोखनप्रसादमाथि सार्वजनिक मुद्दासमेत चलाएका थिए। 

दरबार निर्माणको सुरुवात वि.सं. १९१८ मा भएको थियो। ३० वटा कोठा र ५५ वटा झ्याल भएको भवन निर्माण हुन करिब नौ वर्ष लागेका स्थानीय जानकारहरू बताउँछन्। राजपरिषद् स्थायी समितिका सभापति पर्शुनारायण चौधरीका बुबा जोखनप्रसाद चौधरीले बनाएको यो दरबार वातावरणमैत्री छ। दरबारको बीच भाग खुला छाडिएको छ। अरू कोठा काष्ठ कलाकौशलले सिँगारिएका छन्। संरचनामा कुमारी घरको समेत झल्को देखिन्छ।

हनुमानढोका दरबारमा भएजस्तै काष्ठकला देखिन्छ। त्यो दरबारमा देउखुरीको यो ऐतिहासिक धरोहरलाई बाहिर चिनाउन कतैबाट पहल नभएको चौधरी परिवार बताउँछन्। त्यसलाई पुरातात्त्विक इतिहाससँगै ऐतिहासिक धरोहरको रूपमा स्थापित गर्न चाहेको भन्दै त्यसका लागि राज्यले ध्यान दिनुपर्ने भवन निर्माणकर्ता चौधरी परिवारका एक सदस्य मनोज चौधरीले बताए।

आफ्ना बाबुबाजेको पालामा गाउँमा १७८ जनालाई मुद्दा परेकाले सबैको सम्पत्तिसमेत रोक्का भएका बताउँदै यसको संरक्षणमा स्थानीय सरकारले चासो नदिएको उनले गुनासो गरे।

उता, स्थानीय सरकारले भवनको संरक्षणका लागि गत वर्ष २५ लाख रुपैयँ रकम दिँदा चौधरी परिवारले नलिएको गढवा गाउँपालिका-५ का अध्यक्ष आशाराम चौधरीले बताए। चौधरी परिवारले उक्त भवन राज्यको नाममा गरिदिए त्यसलाई  स्थानीय सरकारले हेर्ने उनले बताए। 

नेपाल सरकार, पुरातत्त्व विभागले १०० वर्ष पुराना ऐतिहासिक धरोहरलाई राज्यका तर्फबाट संरक्षण प्रदान गर्दै आएको छ। पुरातत्त्व विभागले एकपटक निरीक्षण गर्नुबाहेक यहाँ केही गरेको छैन। दुई वर्षअघि पुरातत्त्व विभागका कर्मचारी आएर यो भवनलाई पुरातात्त्विक संरचनामै राखेर मर्मत तथा सम्भार गर्ने आश्वसन दिएका थिए।

पुरातत्त्वका कर्मचारी फर्केपछि अहिलेसम्म कुनै पनि काम नगरेको जोखनप्रसादका नाति कैलाश चन्द्र चौधरीले बताए। प्रदेश सरकारले भवन संरक्षणका लागि केही बजेटले दिए पनि मुद्दाको कारण काम गर्न नसकेको भन्दै स्थानीय सरकारले यसबारेमा सोच्नु पर्ने उनले बताए।

दरबारमा भएका कोठाको भित्री भागको समेत संरक्षण हुन सकेको छैन। दरबारका कोठाहरूमा झार पलाउन थालेको छ भने काठ धमिरोले खान थालेको छ। अहिलेसम्म चौधरी परिवारकै सदस्यले यो ऐतिहासिक धरोहरलाई जोगाइराखेका छन्। त्यो परिवेशमा बनाइएको यो दरबार अहिले संरक्षणको पर्खाइ छ।

भवनमा प्रयोग गरिएका काष्ठकला अझै बिग्रेका छैनन्। बाल्यकालमा यो दरबारको स्मरण गर्दै पूर्वसभासद योगेन्द्र चौधरीले यो दरबारलाई संरक्षण गर्नुको साटो द्वन्द्वकालमा भत्काउने काम भएको बताए। उनले यसलाई कुनै जातको मात्र नभई साझा सम्पत्तिका रूपमा विकास गर्नु पर्ने औंल्याए।

'यस ठाँउमा केही घटना भए अथवा कुनै केश पर्‍यो भने यही भवनमा ल्याएर मिलाउने काम हुन्थ्यो‚' जोखनप्रसादका नाति केशवनारायण चौधरीले भने, 'यो भवन भारतबाट मिस्त्रीहरू ल्याएर बनाएको हो। त्यति बेला यहाँ भवन बनाउने मिस्त्रीहरू पाइँदैनथे, हजुरबुवाले भारतबाट मिस्त्रीहरु ल्याएर यो भवनको निर्भाण गर्नुभएको हो।'

हजुरबुबाको आफ्नै डिजाइनले नै यो भवन बनाएको उनले बताए। भवन र नेपालको सिंहदरबारजस्तै भएकाले राणाकालमा हजुरबुबाले मुद्दासमेत बोक्नु परेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.