|

अछाम : बाजुरा कारागारका कैदीबन्दीले क्षमता भन्दा दोव्वर कैदीबन्दीका कारण कारागारमा आफूले पाउनुपर्ने सुविधा नपाएको गुनासो गरेका छन्। २५ जना क्षमताको कारागारमा अहिले ४८ जना कैदीबन्दी भएपछि दैनिक जीवनयापनमा समस्या भएको उनीहरूको गुनासो छ।

‘विहान सौचालय गर्न जाँदा घण्टौ पालो कुर्नुपर्ने बाध्यता छ। राति नसुतेर धेरै दिन विताउनु परेको छ। हाम्रो कोठामा मुस्किलले ८ जना सुत्न मिल्ने छ। तर १७ जना सुतिरहेका छौं’ कैदीबन्दी गणेश पाध्यायले भने,‘अस्तिको भूइँचालोले हल्लाउँदा पुरिन्छौ भन्ने डर थियो।'

२०३६ सालमा निर्माण भएको जिल्ला कारागार बाजुरामा २ वटा पुराना घर छन्। ती मध्ये एक घरमा मंगलबारको भूकम्पका कारण भित्तामा चिरा परेको छ। जीर्ण भवनमा अटाई नअटाई कैदीबन्दी बसिरहेका छन्।

२०३६ सालदेखि कुनै पनि भौतिक संरचना परिवर्तन हुन नसकेको जेलर शेरबहादुर तिरुवाले बताए। उनका अनुसार २५ जनाको क्षमता रहेको उक्त कारागारमा कहिलेकाहिँ ५० बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता छ। उनले भने,‘भौतिक संरचनाका लागि पहल गरीरहेका छौं। कही कतैबाट सुनुवाई हुन सकिरहेको छैन।'

कोठा अभावका कारण फैसला सुनुवाई भएका र पुर्पक्षका लागी थुनिएकाहरू एकै ठाउँमा राखिएको उनको भनाई छ। भौतिक संरचनाकै कारण महिला कैदीबन्दीलाई अछाम र बालबालिकालाई डोटी पठाउने गरीएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटको भनाई छ।

कैदीबन्दीसँग भेटघाटका लागि बुधबार गएको मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलसँग कुरा गर्दै कैदीबन्दीले आफ्नो समस्या सुनाएका हुन्।

समाजका केन्द्रीय सचिव मदन कुँवर, अछाम जिल्ला अध्यक्ष हिक्मत धामी, सदस्य लोकराज ढकाल लगायतको टोलिले कारागारको अवस्थाबारे जानकारी लिएको छ। टोलीले जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासतका बन्दीसँग पनि भेटघाट गरेको छ।

भेटघाटका क्रममा कैदीबन्दी र थुनुवाले आफ्नो समस्या राखेका थिए। टोलीले मानव अधिकारकारको अवस्था सन्तोषजनक रहेको प्रतिक्रिया दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.