|

बारा : बाराको निजगढ-८ स्थित पूर्णश्वर सप्तऋषी धर्मशालामा दिवंगत पितृका नाममा दीपदान भइरहेको छ। लालबकैया किनारमा रहेको मन्दिरमा दुई सय बढी भक्तजन धर्मशाला, प्रतीक्षालय र परिसरमा टांगिएको टेन्ट मुनी बत्ती बालेर बसेका छन्।

चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आइतबार बेलुकीदेखि मनाइँदैछ। बालाचतुर्दशीको अघिल्लो रात आइतबार दिवंगत पितृका नाममा दीपदान गर्न सयौँ भक्तजन मन्दिरमा पुगेका छन्।

देशभरका शिवमन्दिरमा आइतबार दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन शिवालयमा पुग्ने गरेका छन्। दिउँसोदेखि नै बत्ती बाल्न बस्ने ठाउँ रोक्न चहलपहल थियो। आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्ने गरिन्छ। 

बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवंगत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउछन्। शतबीज भनिए पनि हाल सप्तबीज धान, जौ, तील, गहुँ, चना, मकै, कागुनो छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गरिन्छ।

धर्मशाला सञ्चालन समितिका अध्यक्ष सावित्रि भारतीले भक्तजनको सेवाका लागि टेन्ट, बत्ती, बस्ने व्यवस्था गरिएको जानकारी दिइन्। रातमा आगो ताप्नका लागि दाउरा र चियाको व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.