रघुवीरलाई भव्य स्वागत, मातृकाले माला लगाउन मानेनन्

|

जनकपुरधाम : जनकपुरस्थित विमानस्थलमा आइतबार दिउँसो फरक दृष्य देखियो। एकै क्षणमा विमानस्थलमा पार्किङस्थल गाडीले भरियो। ठूलो घुइँचो लाग्यो। अधिकांशको हातमा फूलका माला देखिन्थ्यो। कारण थियो, एकैपटक तीन भिआइपीको आगमन।

करिब साढे ४ बजे बुद्ध एयरको विमान अवतरण भयो। अनि भिआइपी कक्षदेखि विमानसम्मै लाइन लाग्यो। विमानको गेटबाट मुस्कुराउँदै मुख्यमन्त्री लालबाबु राउत निस्के। लगत्तै भर्खर ओली सरकारबाट हटाइएका निवर्तमान मन्त्रीद्वय मातृका यादव र रघुवीर महासेठ पनि विमानबाट बाहिरिए। निवर्तमान मन्त्री मातृका यादव पनि आइरहेको कुरा भने स्वागत गर्न पुगेकाहरूलाई थाहा थिएनन्।

उनीहरू गेटमा आएलगत्तै स्वागत गर्नेको लर्को लाग्यो। मुख्यमन्त्री राउतलाई मुख्यसचिव, उनका सल्लाहकार र अन्य कर्मचारीले फूलको माला लगाएर स्वागत गरे। उनीसँगै थिए, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा पनि। स्वागतपछि उनीहरू विमानस्थलबाट बाहिरिए।

मुख्यमन्त्री बाहिरिएपछि भिडलाई छिचोल्दै निवर्तमान उद्योगमन्त्री मातृका यादव आइपुगे। उनलाई केही कार्यकर्ताले माला लगाउन खाजे। तर, उनले माला लगाउन अस्वीकार गरे। एक कार्यकर्ताको हातबाट आफ्नो हातमा माला लिएर अघि बढे। पुनः अर्को कार्यकर्ताले माला लगाउने प्रयास गरे। तर, उनी हातले पन्छाउँदै अगाडी बढे। उनी भिआइपी कक्षामा पनि बसेनन्।

निवर्तमान मन्त्री यादवले भने, ‘म माला लगाउँदिनँ। त्यसैले आज पनि लगाइनँ।’ मन्त्रीमा रहँदा जहिल्यै हसिँलो अनुहारमा देखिने उनको अनुहार मलिन थियो। थाहाकर्मीको जिज्ञासमा उनले भने, ‘म चाहन्थे मन्त्रीबाट हट्न। मेरो माग पूरा गर्नुभएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद।’

लगतै नेकपा कार्यकर्ताको भीडमा पसेका निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठ कार्यकर्ताले लगाइदिएको मालामा डुबे। उनलाई विमानस्थलमा सयौँ कार्यकर्ताले माला लगाइदिए। यो दृष्य नवनियुक्त मन्त्री भएपछि गरिने स्वागतजस्तै देखिन्थ्यो।

निवर्तमान मन्त्री महासेठले पार्टीको निर्णयअनुसार मन्त्रीबाट हटाएकाले केही टीकाटिप्पणी नगर्ने बताए। उनले नवनियुक्त मन्त्रीहरू योग्य रहेको समेत बताए। उनले भने, ‘मैले गर्न खाजेका र अधुरा सबै काम नवनियुक्त मन्त्री ज्यू गर्नुहुन्छ। मलाई उहाँसँग कुरा भएको छ। उहाँलाई म सघाउँछु।’

एक फरक प्रशंगमा उनले जयनगर-जनकपुर रेल छिट्टै चलाउने तयारी भइरहेको समेत बताए। उनले यही महिनाको २९ तारिखको दिन सचिव वा डिजीको नेतृत्वमा बनेको रेल हेर्न भारत जाने र सम्झौताअनुसार ठीक लागेकोमा चाँडै ल्याएर चलाउने समेत बताए। उनले भने, ‘मन्त्रीबाट नहटेको भए यही महिना रेलको उद्घाटन हुन्थ्यो। अब केही ढिलो हुनसक्छ। तर, विश्वास छ धेरै ढिलो हुँदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.