|

दाङ : दाङमा उपचुनावको महोल निकै तातिएको छ। राजनीतिक दलहरुले दैनिक गाउँगाउँमा चुनावी कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा तान्न लागिपरेका छन्।

दाङ क्षेत्र नम्बर ३ (ख)मा प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदका लागि मंसिर १४ मा उपनिर्वाचनले यहाँको राजनीतिक सरगर्मी बढेको हो। चुनावी माहोल आफ्नो पक्षमा पार्न केन्द्रीय नेताहरु चुनावी  सभामा सहभागी भइरहेका छन्।

चासोका साथ हेरिएको पश्चिम दाङको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), समाजवादी पार्टी, राप्रपा संयुक्तलगायतका पार्टीका १४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। सबै तह र तप्काका नेता कार्यकर्ताहरु एक ढिक्का भएर चुनावी मैदानमा होमिएका छन। 

तर, मतदाताहरु भने ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ भने झैं छन्। यसअघिका निर्वाचनहरुमा जिताए पठाए पनि नेताहरुले गाउँको विकासभन्दा आफ्नो विकास बढी गरेकाले उपनिर्वाचनप्रति कुनै चासो नभएको मतदाताहरु बताउँछन्। 

‘जति पटक भोट हाल्दा पनि देशमा कुनै परिवर्तन भएन,’ दंगिशरण गाउँपालिका–७ का शरद पौडेलले भने, ‘चुनावको बेला जनता सामु आएर झुठा आश्वासन दिने, जितेर गएपछि आफ्नै दुनो सोझाउने काम मात्र गरे। हाम्रो समस्या कसैले हेर्दैनन् ।’

चुनावमा विभिन्न किसिमको विकासका नारा लिएर भोट माग्न आउने र जितेर गएपछि विकासको कुरा त परै जाओस् फर्केरसम्म पनि नआउने गरेको मतदाताहरुको गुनासो छ। 

तुलसीपुर उपमहानगरपालिका–२ का नोखीराम खड्काले ३६ वर्षअघिदेखि देखाएको विकासे योजना अहिलेसम्म पूरा नभएको बताए। हामीले प्रत्येक निर्वाचनमा सिंचाइका लागि पक्की कुलोको माग गरे पनि ३६ वर्षसमम पनि कसैले सुनुवाइ नगरेको उनको दुखेसो छ। यस्तै, दंगिशरण गाँउपालिका–५ का थकाली थारुले पनि निर्वाचनको बेला नेताहरु घरघरमा आएर भोट माग्ने गरे पनि जितेपछि कुनै चासो नदिएकाले निर्वाचनप्रति उत्साह नभएको बताए। दाङकै मन्त्री भएको बेला समेत आफुहरुले कुनै विकासको अनुभव गर्न नपाएको दंगिशरण गाउँपालिका–७ का झुल्प चौधरीले बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.