प्रदेशको राजधानी केही दिनमै टुंग्याउनू

|

मकवानपुर : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दोहोरो अंकको आर्थिक वृद्धिको जग तयार भएको बताएका छन्।

बारा जाने क्रममा मंगलबार बिहान प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको हेटौँडास्थित निवासमा संक्षिप्त मन्तब्य दिँदै अध्यक्ष दाहालले अब नेपालमा तीव्र गतिमा विकास हुने बताए।

‘अब नेपालमा तीव्र गतिमा विकास हुन्छ। भारत र चीनबीचमा भएकाले हामी हरेक हिसाबले फाइदामा छौँ’, उनले भने, ‘यत्रो राजनीतिक सहमति देशमा कहिल्यै भएको थिएन। अबको एक दशक विकासमा जोड दियौँ भने हामी फड्को मार्छौँ। देशले दोहोरो अंकको आर्थिक वृद्धि हाँसिल गर्न सक्छ।’

उनले अब विकासको मात्रै चिन्ता भएको बताए। ‘हिजो संविधान बन्दैन कि भन्ने चिन्ता थियो, आज विकासको आकांक्षालाई सम्बोधन गर्ने चिन्ता छ’, उनले थपे, ‘अब देश विकासको गतिलाई कसैले रोक्न सक्दैन।’ 

अध्यक्ष दाहालले पार्टी एकताको उद्देश्य चुनाव जित्ने मात्रै नभएको बताए। ‘पार्टी एकता चुनाव जित्नका लागि मात्रै भएको होइन,७० वर्षदेखिको अराजकताको अन्त्य गर्नु पनि थियो’, उनले भने, ‘कम्युनिष्ट पार्टी निर्णयको उद्देश्यमा भएको अलमललाई पनि प्रष्ट पार्नु थियो।’ 

अध्यक्ष दाहाले पार्टी र सरकार राम्ररी चलाऊँ भन्नका लागि कार्यकारी अध्यक्षसहित निर्णय गरिएको उनले बताए। ‘पार्टीमा अलिक बढी जोड मैले र सरकारमा अलिक जोड अर्को अध्यक्षले दिने निर्णय भएको हो’, उनले भने, ‘सबैतिर चुनावमा उत्साह देखिएको छ। अवसर अझै हाम्रै हातमा छ।’

अध्यक्ष दाहालले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको निवासमै बोल्दै प्रदेश राजधानीलाई केही दिनमै टुंग्याउनैपर्छ भन्नेमा आफ्नो मत रहेको उल्लेख गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.