जनही तीन लाख रुपैयाँ दिइयो
जनही तीन लाख रुपैयाँ दिइयो
काठमाडौं : सरकारले राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई जनही ३ लाख नगदसहित सम्मान गरेको छ।
बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिमलाई मंगलबार काठमाडौंमा एक कार्यक्रम गरेर सरकारले नगदसहित सम्मान गरेको हो।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले खेलाडीहरुलाई जनही ३ लाख नगद प्रदान गरेका छन्। युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सम्मानपत्र प्रदान गरेका थिए।
कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री विश्वकर्माले सो टोलीले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेर नेपाली खेल क्षेत्रको सान अझै बढाउने विश्वास व्यक्त गरे।
उनले मुलुकको प्रतिष्ठा र गरिमालाई उचाईमा पुर्याउने गरी नेपाली खेलाडीहरुले साग प्रतियोगिताको तयारी गरिरहेको पनि बताएका छन्। सरकारले बंगलादेशमा ऐतिहासिक उपाधि जिते लगत्तै नेपाली महिला टिमलाई जनही तीन लाखका दरले पुरस्कृत गर्ने घोषणा गरेको थियो।
गत कात्तिक २८ गते भएको फाइनल भिडन्तमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले पहिलो ऐतिहासिक अन्तराष्ट्रिय उपाधि जितेको थियो। महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।