|

पोखरा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कास्कीका उमेद्वार खेमराज पौडेललाई देवघाटतिर जानेबेलामा कांग्रेसले चुनावमा उठाएको आरोप लगाएका छन्। 

बुधबार नेकपा कास्कीले गरेको चुनावी सभालाई सम्बोधन हेलिकोप्टरमार्फत् पोखरा आइपुगेका प्रचण्डले यस्तो बताएका हुन्। 

‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहीँ बिदा दिनुपर्छ भनेकाहरुले विचरा ७७ वर्षका बुढालाई अघि सारेका छन्,’ उनले भने, ‘जो अब देवघाटतिर जानुपर्ने बेलाका छन्। त्यहाँ गएर ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई आफू अघि सार्ने, अनि ६५ वर्षको जवानलाई रेस्ट गर्ने भन्न मिल्छ त?’ 

देउवाजीको उट्पट्याङ देख्या टीठ लाग्छ 

प्रचण्डले केही दिनअघि कास्कीमै आएर कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नयाँ नक्सा सार्वजनिक गरेको भनाईलाई खण्डन गरे।

‘प्रधानमन्त्रीज्यूले डाकेको बैठकमा म प्रधानमन्त्रीज्यूको देब्रेपट्टी छु, शेरबहादुरजी दाहिनेपट्टी हुनुहुन्थ्यो। मैले उहाँले भनेको राम्रोसँग सुनेको छु। उहाँले प्रधानमन्त्रीलाई यो बैठक डाकेकोमा ठीक छ, धन्यावाद। तपाईंले लिएको राष्ट्रियताको अडानमा हाम्रो पुरै सहयोग छ भनेको पनि मेरो कानमा टिनिनन बजिरहेको छ,’ उनले भने, ‘त्यस्तो मान्छेले पोखरामा आएर सल्लाहले नक्सा छापेको हो भने भन्दा लाजमर्दाे कुरा के हुन सक्छ?’ 

उनले कांग्रेसलाई आत्मसमीक्षा गर्न सुझाव दिए।  कांग्रेस पनि संविधान निर्माणको सहयोगी सहयात्री भएकाले झुट बोलेको आफूलाई मन नपन प्रचण्डको भनाइ थियो।

‘तपाईंहरु साह्रै तल खसेको पनि मलाई त्यति मन पर्दैन। साह्रै तल खसेर झुट बोलेको देख्दा टीठ लाग्छ,’ उनले भने, ‘मैले १२ बुँदे समझदारी, शान्ति सम्झौता गर्दा नेपाली कांग्रेसका गिरीजाप्रसाद कोईरालासँग हस्ताक्षर गरेको छु। त्यहि गिरिजाप्रसाद कोइरालाको पार्टी यति झुटो बोल्ने, यति बेइमानी पूर्ण कुरा गरेको देख्दा मलाई कता कता चिन्ता पनि लागेको छ।’ 

कांग्रेस इतिहास हुन बेर छैन 

उनले कांग्रेसलाई झुटो बोल्न, बेइमानी गर्न छोड्न आग्रह गरे संघीय लोकतान्त्रीक गणतन्त्रको मर्मलाई कांग्रेसले विर्सेको प्रचण्डको आरोप छ। 

‘होइन भने तपाईंहरु जसरी ओरालो लाग्नु भएको छ त्यसरी नै नेपालको इतिहासको किम्बदन्तीमा नेपाली कांग्रेस भन्ने थियो भन्ने अवस्थामा पुग्न कत्ति बेर छैन। म त्यस्तो नहोस भन्न चाहन्छु,’ प्रचण्डले भने, ‘प्रतिपक्षी पनि राम्रै ठाउँमा रहोस भन्ने चाहन्छु। तर, यो बुद्धिले त उहाँहरु  प्रतिपक्षमा रहने छाँट देखिएन।’ 

उनले प्रधानमन्त्रीसँगको बैठकमा देउवाले भनेको कुरा आफुले राम्रोसँग सुनेको बताए। ‘आज दिउँसै रात पार्ने ? यो हुन सक्दैन। मलाई कांग्रेस देखेर दया लागेको छ,’ उनले भने, ‘गिरीजाबाबुले नेपाल अब तपाईंलाई बुझाएर जाँदैछु भनेको कुरा पनि मैले झलझली सम्झको छु। अहिले देउवाजी उट्पट्याङ कुरा गरेर नेपाली जनतालाई उल्लु बनाउन खोजेको देख्दा टिठ लाग्या छ।’ 

विद्यालाई उठाउनाको कारण

नेकपाको उम्मेदवार विद्या भट्टराई जस्तो प्राज्ञिक क्षेत्रको मान्छे पाउँदा यहाँका जनता शौभाग्यशाली रहेको प्रचण्डको दाबी छ। ‘कसैको श्रीमती हुँदैमा नेकपाले उहाँलाई चुनावमा उठाएको होइन। देशभक्त, परिवर्तन र पद्धतिको निम्ति जीवनभर संघर्ष गरेको महिला चुनावमा उठाएका हौँ,’ उनले भने, ‘ नेकपाले राष्ट्रपति, प्रधानन्यायधिश, समामुख महिलालाई बनाएको छ।’  

उनले यो देशमा दलित प्रधानमन्त्री, जनजाति प्रधानमन्त्री नेकपाकै प्रस्तावमा बन्ने दाबी गरे। त्यस्तै उनले पहिलोचोटी देशमा राष्ट्रियताको विषयमा एकमत भएको पनि बताए। ‘यही बेला हो कालापानीबाट सेना फिर्ता गर्ने, हाम्रो गुमेको भूभाग  ल्याउने,’ उनले भने। 

नेकपा राष्ट्रिय एकतालाई मजबुत गर्न लागि रहेको पनि बताए। त्यस्तै उनले कास्की २ बाट विद्या भट्टराईलाई विगतको चुनावमा भन्दा धेरै मतान्तरले विजयी गराउन मतदातालाई आह्वान पनि गरे।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.