डोल्पा : तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ कुनै पनि व्यक्तिले कर्मचारीको रुपमा नियुक्ति लिइसकेपछि कार्यालयमा पुग्नु पर्दैन भन्दा।
यो प्रसंग बिकट हिमाली जिल्ला डोल्पाको हो। एक वर्ष अघि शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षा पास गरेर स्थायी भएर आएका नयाँ शिक्षकले यस्तै गरेका छन्।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइबाट नियुक्ति लिइसकेपछि उपल्लो डोल्पामा पदस्थापना भएका १८ जना शिक्षक विद्यालय नपुगी घरतिरै लागेका छन्।
अत्यधिक चिसोका कारण उपल्लो डोल्पाका तीन स्थानीय तहका सम्पूर्ण विद्यालय बन्द भएपछि उपल्लो डोल्पामा पदस्थापना भएका सम्पूर्ण शिक्षक सदरमुकाम दुनैमा रहेका गाउँपालिकाका सम्पर्क कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइमा हाजिर भएर शिक्षक घरतिर फर्केका हुन्।
उपल्लो डोल्पामा हिमपात र दिनप्रतिदिन बढ्दै गएको चिसोको कारण कात्तिक दोस्रो सातादेखि नै विद्यालय बन्द हुन थालेपछि शिक्षक पनि नयाँ नियुक्ति लिएपछि पनि विद्यालय नपुगेरै घर फर्किएका हुन्।
अत्याधिक चिसोका कारण नियुक्ति लिनु अघि नै विद्यालय बन्द भएपछि आफूले सदरमुकाम दुनैस्थित शिक्षा विकास तथा समन्वय इकाइमा हाजिर गराएको शे-फोक्सुण्डो गाउँपालिकामा पर्ने एक विद्यालयमा पदस्थापना भएका शिक्षक लोकेश खत्रीले बताए।
कात्तिकदेखि चैत्र महिनाको अन्तिमसम्म भारी हिमपातका बस्न नसकिने भएपछि घरमा ताल्चा मारेर स्थानीय समेत जाडो छल्न बेशी झर्ने गरेकाले विद्यालयहरू छ महिना बन्द हुने उनको भनाई छ। शे-फोक्सुण्डो गाउँपालिकामा जस्तै डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा पदस्थापना भएका शिक्षक समेत स्थायी नियुक्ति बुझेर घर फर्केका छन्।
सबै गरेर २३ वटा विद्यालय रहेको उपल्लो डोल्पामा शिक्षकले छ महिना मात्रै पढाउनु पर्छ। त्यसैले पनि शिक्षक उपल्लो डोल्पामा पदस्थापना एवं सरुवा भएर जान हाना थाप नै गर्ने गर्छन्।
लामो जाडो बिदामा अन्य काम गर्न सकिने यार्सागुम्बा टिप्ने बिदाका यार्सागुम्बा टिपेर मनग्य आम्दानी गर्न सकिने भएकाले पनि उल्लो डोल्पा पढाउन शिक्षक हानाथाप नै गर्ने गरेका हुन्।
डोल्पामा पठाउने शिक्षकले दोहोरो कमाइसमेत गर्दै आएका छन्। चिसोका कारण कात्तिक दोस्रो साता बन्द भएका उपल्लो डोल्पाका विद्यालय तातो सुरु भएपछि बैशाख महिना मात्र खुल्ने गर्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।