|

काठमाडौं : चावहिल–चुच्चेपाटी सडक खण्डमा सवारी रोकेर दिनमै सडक कालोपत्रेको काम हुँदा सर्वसाधारणलाई सास्ती भएको छ।  कालोपत्रेको कामले घण्टौँसम्म सवारी जाम भएपछि उनीहरूले सास्ती खेप्न बाध्य भएका हुन्। 

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले शनिबारबाट उक्त सडकको करिब एक किमि  कालोपत्रे थालेको थियो। रातको समयमा काम गर्नुपर्ने बेलामा दिनमा कालोपत्रेको काम गर्दा सवारी सास्ती खेप्न बाध्य भएको यात्रुको गुनासो छ। एक बसमा यात्रा गरिरहेका हरिप्रसाद अधिकारीले रातको समयमा काम गर्नुपर्ने बेलामा दिउँसो पिचको काम थालेकोले जाम हुँदा बसमै एक घण्टा बस्नुपरेको बताए।

‘बागबजारको अफिसमा पुग्नुपर्ने भनेर झनै ९ बजे नै बौद्धबाट बसमा चढेको मान्छे जाममा परेर १० बज्दा पनि चावहिलमै छु,’उनले भने,‘सडक पिचको काम त रातको समयमा पो गर्नुपर्छ। दिनमा यसरी काम गर्दा सर्वसाधारण सास्ती खेप्नुपर्छ।’

उक्त सडक कालोपत्रेले गर्दा अहिले चावहिलदेखि बौद्ध रुटको सवारी एक लेनमा मात्रै सञ्चालनमा छन। त्यसैले अहिले पनि गौशालादेखि चुच्चेपाटीसम्म सडकमा सवारी चाप बढेको छ। चावहिलको सवारी जाम व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीले दिनमा गरिएको सडक कालोपत्रेले गर्दा सवारीजामलाई व्यवस्थापन गर्न समस्या भएको बताए।

‘कालोपत्रेले गर्दा सहजरूपमा सवारीसाधन पास गर्न सकेका छैनौँ,’उनले भने,‘अहिले गौशाला जाने सवारी र बौद्धतर्फ जाने सवारी एक लेनमा मात्रै चलाएका छौँ।’ उनका अनुसार आइतबारसम्ममा एक लेन सडक कालोपत्रे हुनेछ। त्यसपछि केही ट्राफिक व्यवस्थापन हुने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.