|

जनकपुरधाम : १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत धनुषामा हुन लागेको कुस्ती खेलका लागि तयारी पूरा भएको छ। प्रतियोगिताका लागि जनकपुरधाम उपमहानगरपालिका १३ स्थित कभर्ड हललाई रंगरोगन गरी झकिझकाउ पारिएको छ।

सागअन्तर्गत जनकपुरमा हुने कुस्ती प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको धनुषा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमल किशोर चौधरीले जानकारी दिए। कभर्ड हल मर्मत र रंगरोगन गर्न एक महिना लागेको थियो। हल भित्रको शौचालय, प्यारापिट, भिआइपी कक्ष समेत सजाइएको छ।

धनुषामा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता हुने भएपछि खेलकुद विकास समितिका पदाधिकारी र प्रशिक्षक दिनरात खटिरहेका छन्। अध्यक्ष चौधरीले पत्रकार सम्मेलन मार्फत गराएको जानकारी अनुसार कुस्ती खेलमा २० स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ १० र महिलातर्फ १० गरी कुल २० स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुन्छ। २० स्वर्ण पदकको लागि पाँच राष्ट्रका ५५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। 

सबैभन्दा बढी बंगलादेशबाट पुरुषतर्फ १० र महिलातर्फ १० गरी २० जना खेलाडी सहभागी हुन लागेको हो। पाकिस्तानले पुरुषतर्फ मात्रै सहभागी जनाउन लागेको हो। पाकिस्तानले सात जना पुरुष खेलाडीलाई सहभागी गराउन लागेका अध्यक्ष चौधरीले जानकारी दिए। 

डाक्टरको टोली ‘स्ट्याण्डबाई’ रहने

प्रतिस्पर्धाको क्रममा खेलाडीलाई चोटपटक समेत लाग्न सक्ने भएकाले कभर्ड हलमै स्ट्याण्डबाई डाक्टरको टोली राख्ने तयारी गरिएको छ।

जनकपुरस्थित जानकी मेडिकल कलेजका दुई डाक्टर, एक फिजियोथेरापी, दुई स्टाप नर्स र दुई सहयोगी स्ट्याण्डबाई कभर्ड हलमा रहने अध्यक्ष चौधरीले जानकारी दिए। उनका अनुसार चोटपटक लागेका खेलाडीलाई होटलमै सेवा प्रदान गर्न चिकित्सकको मोवाइल टोली समेत परिचालन गरिनेछ। यस्तै गम्भीर चोट लागेका खेलाडीका लागि जानकी मेडिकल कलेजमै एउटा आइसियु कक्ष समेत बुक गरिएको छ।

खेलाडीको विमाको व्यवस्था समेत मिलाएको छ। खेलका क्रममा मृत्यु भएमा ५ लाख र घाइते भएकालाई ५० हजारको बिमा समेत गरिनेछ। कुस्तीमा भारत, वंगलादेश, पाकिस्तान, श्रीलंका र नेपाल गरी ५ राष्ट्रका खेलाडीसहभागी हुनेछन्।

खेलाडीलाई पर्यटकीय स्थल घुमाउने

मंसिर २० गतेबाट २३ गतेसम्म प्रतियोगिता हुन्छ। तर मंसिर १८ गते नै खेलाडीहरु जनकपुरधाम आइपुग्ने छन्। जनकपुरधाम आएलगत्तै खेलाडीहरुलाई यहाँको धार्मिक पर्यटकीय स्थलहरू घुमाइने छ। 

पर्यटकीय स्थलहरूको प्रचार प्रसार र विकासका लागि खेलाडीलाई घुमाइने समितिका अध्यक्ष चौधरीले जानकारी दिए। उनका अनुसार खेलाडीलाई पर्यटकीय स्थलहरूमा घुमाउन भ्रमण वर्ष २०२० का प्रदेश २ संयोजक मनिष झासँग समन्वय गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.