थाहा संवाद : स्थानीय सरकार

'महिला जनप्रतिनिधिको कुरै नसुनी बलमिच्‍याइँ गर्छन्'

समावेशिता भाषणमा मात्रै आयो व्यवहारमा आएन

मंसिर २५, २०७६

    सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको मध्यभागमा पर्ने शुक्लाफाँटा नगरपालिका विसं २०७३ सालमा झलारी पिपलाडी नगरपालिका र साबिक देखतभूली गाविसका २ र ४ समायोजन गरी गठन गरिएको हो। नगरपालिकामा १२ वटा वडाहरू रहेका छन्।

    जिल्ला सदरमुकामदेखि २० किलोमिटर टाढा पर्ने यस नगरपालिकाको जनसंख्या ४६ हजार बढी छ। अन्य नगरपालिकाको तुलनामा विशिष्ट प्रकारको भौगोलिकता र सांस्कृतिक महत्व बोकेको छ। देशमा स्थानीय तहको निर्वाचन भएको दुई वर्ष बढी भइसकेको छ।

    स्थानीय तहमा महिला जनप्रतिनिधिहरू निर्वाचित भएर आएका छन्। जनप्रतिनिधि निर्वाचित भएर आएपछि जनतालाई अनुभूति हुनेगरी के के कार्य भएका छन्। विशेष गरी महिला जनप्रतिनिधिलाई हेर्ने दृष्टिकोण, विकास निर्माणमा महिला सहभागिता र न्याय सम्पादनका कार्यबारे नगरपालिकाकी उपप्रमुख तुलसीदेवी हमालसँग थाहा खबरका लागि कञ्चनपुर संवाददाता राजेन्द्र पनेरुले गरेको कुराकानीकाे अंश : 

    निर्वाचित भएर आएको अढाई वर्ष बित्नै लाग्यो विकास निर्माणको कार्यले कस्तो गति लिएको छ?

    हामी निर्वाचित भएर आएपछि विकास भएको छ जनता खुसी छन्। वडा कार्यालयका भवन बनेका छन्। सडकमा ग्राभेल राखिएको छ। पुल पुलेसा र कल्भर्ट निर्माण भएका छन्। विकास भनेर विकास निर्माण मात्रलाई लिँदैन।

    लक्षित वर्गका कार्यक्रम न्यून छन्। नगरसभामा नै विरोध गर्दा गर्दै एउटा पनि कार्यक्रम राखिएको छैन। वडाबाटै सबै कार्यक्रम गर्ने भनेर बजेट त्यसै आधारमा विनियोजित गरिएको छ। स-सानो रकमले विकास हुँदैन। क्षमता विकास हुनुपर्‍यो। आय आर्जनका कार्यक्रम सञ्चालन हुनुपर्‍यो। समग्र विकास हुनुपर्‍यो। त्यो भने हुन सकेको छैन। 

    महिला जनप्रतिनिधिलाई हेर्ने दृष्टिकोण कस्तो छ?

    जनप्रतिनिधिका रूपमा निर्वाचित भएर आएपछि महिलाको क्षेत्रमा केही गतिला कार्य गरौँला भनेर सोचेका थियौँ। नगरपालिकाको कार्यपालिकामा त्यो कार्य सम्भव हुन सकेको छैन। महिला जनप्रतिनिधिलाई हेर्ने दृष्टिकोण नै फरक रहेको छ। महिलाको हकमा आवाज उठाउँदा महिला जनप्रतिनिधिको आवाज नै सुन्दैनन्।

    महिला जनप्रतिनिधिले के नै गर्न सक्छन् र भनेर व्यवहार नै फरक गर्ने गरिएको छ। बजेट विनियोजनमा विभेद गरिँदै आएको छ। कुल बजेटको ०.२६ प्रतिशत बजेट मात्रै महिलाको लागि विनियोजन गरिएको छ। थोरै बजेट भयो। बजेटमा वृद्धि गरिनुपर्छ भन्दा बलमिच्‍याइँ गरी बजेट विनियोजन गरिएको छ। 

    कुल बजेटको ०.२६ प्रतिशत बजेट मात्रै महिलाको लागि विनियोजन गरिएको छ। थोरै बजेट भयो। बजेटमा वृद्धि गरिनुपर्छ भन्दा बलमिच्याइँ गरी बजेट विनियोजन गरिएको छ। 

    नगर प्रमुखसँगको सहकार्य कस्तो रहेको छ?

    नगर प्रमुखसँगको सहकार्यमा म चुकेको छैन। नगर प्रमुखसँग मात्रै नभएर वडा अध्यक्ष, वडा सदस्यसँगको समन्वय सौहार्द्रपूर्ण छ। तर, नगर प्रमुखले भने समन्वय गर्न चाहनु हुँदैन। एकलौटी रूपमा अगाडि बढ्न खोजेका छन्। महिला जनप्रतिनिधिलाई हेर्ने दृष्टिकोणमा कमी देखिएको छ। सिद्धान्त र भाषणमा जतिसुकै समावेशिताको कुरा गरे पनि व्यवहारमा त्यो देखिएको छैन। समन्वय छैन। 

    पर्यटकीय क्षेत्रको विकासका लागि भएका प्रयास के के छन्? कस्तो विकास भएको छ?

    शुक्लाफाँटा नगरपालिका धार्मिक पर्यटकीय क्षेत्रका रूपमा परिचित छ। विशिष्ट सांस्कृतिक पहिचान बोकेको थारू समुदाय, पहाडी समुदायको मिश्रित बसोवास छ। बेग्लै रहनसहनसँगै आफ्नै किसिमको संस्कृतिसमेत छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसमेत यसै क्षेत्रमा पर्दछ।

    यिनै विषयलाई मध्यनजर गर्दै दुई किसिमले विकासलाई अगाडि बढाएका छौं। विदेशी पर्यटकलाई निकुञ्जको हिरापुर फाँटालाई कृष्णसार संरक्षित क्षेत्रलाई व्यवस्थित गर्दै लैजाने। आन्तरिक पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको बतासे झर्नासम्म पुग्‍ने सडकको स्तरोन्नति गर्ने कार्य अगाडि बढाइएको छ। त्यसका लागि केही कार्य अगाडि बढेका छन्। संस्कृति संरक्षणका कार्यक्रमहरू समेत अगाडि बढाएका छौं। पर्यटन प्रवर्द्धनका लागि नगरपालिका ३ र ७ मा होम स्टे सञ्चानका कार्यलाई समेत अगाडि बढाइएको छ। 

    बजेट परिचालनको अवस्था कस्तो रहेको छ? बजेटमा महिलालाई कसरी सम्बोधन गरिएको छ?

    पहिले पनि भनिसकेँ। बजेट परिचालनको अवस्था सन्तुलित छैन। बजेट सन्तुलित नहुँदा नगरको समग्र विकासमा बाधा पुगेको छ। कतै धेरै त कतै थोरै विकास भएको छ। विकास निर्माण भौतिक पूर्वाधार विकास मात्रै होइन। स्थानीय त्यसमा पनि समाजमा अझै पछाडि परेका समुदायको क्षमता विकास पनि हो।

    यस कार्यले गति लिएको छैन। जनता सन्तुष्ट छैनन्। हामीले हेर्दा राम्रै देखिए पनि समग्रमा बजेट विनियोजनदेखि परिचालन गर्दासम्मका कार्य सन्तोषजनक देखिएको छैन। महिलालाई नगरपालिकाको बजेटले अनुभूति दिनेगरी समेटेको छैन। थोरै बजेट विनियोजन गर्दा चाहेर पनि महिलाका लागि खासै कार्य गर्न सकेका छैनौं।

    सबै वर्गलाई बजेटले समेटेको छैन। निश्चित वर्गलाई मात्रै बढी लाभ हुने किसिमले बजेट परिचालन हुँदै आएको छ। यसका लागि हामीले बजेट विनियोजनकै बेला आवाज उठाएका हौं। कुरा सुनिएन। बलमिच्‍याई गरी बजेट विनियोजन गरिएकै कारण महिलालगायत अन्य लक्षित वर्गले बजेटमा आपनत्व पाउन सकेका छैनन्। 

    बजेट खर्चको स्थिति कस्तो रहेको छ?

    गत आवमा विनियोजित रकम सबै खर्च गर्न सकिएको छैन। पूरै बजेट खर्च हुन नसक्दा जनतामा असन्तोषको भावना हुनु स्वाभाविकै हो। बजेट सन्तोषजनक रूपमा परिचालन हुन नसक्दा विकासको गतिसमेत त्यहीअनुरूप अगाडि बढेको छ।

    समस्या र आवश्यकताका आधारमा बजेट विनियोजित हुनु पर्दथ्यो। त्यो हुन सकेको छैन। कुनै वडामा बढी र कुनैमा कम बजेट विनियोजित हुँदा सन्तुलित रूपमा विकासले गति लिन सकेको छैन। 

    न्याय सम्पादनको कार्यलाई कसरी अगाडि बढाइरहनु भएको छ? न्याय सम्पादन गर्दा कस्तो कठिनाइको समाना गर्नु भएको छ?

    न्यायिक समितिमा आएका सबै मुद्दालाई मेलमिलापको पद्धतिअनुरूप टुंग्याइने गरिएको छ। जितजितको अवधारणमा मुद्दालाई किनारा लगाउँदा विगतको कटूता भूलेर पक्ष/विपक्ष दुवैथरि खुसी भएर जाने गरेका छन्। गत वर्ष समितिमा आएका ८६ वटा मुद्दामा मिलापत्र गरिएको छ। यस वर्ष दुईवटा मुद्दामा मात्रै आएकोमा दुईवटामै मिलापत्र गरिएको छ। 

    प्रदेश सरकारसँगको नगरपालिकाको समन्वय कस्तो छ?

     प्रदेश सरकारसँगको समन्वय राम्रै छ। योजना कार्यान्वयनमा हातेमालो गरी अगाडि बढेका छौं। 

    राजस्व संकलनको अवस्था कस्तो रहेको छ?

    राजस्व संकलनको अवस्थामा सुधार आएको छ। करको दायरा बढाएका छौं। पहिला थोरै मात्रै राजस्व संकलन हुँदै आएको थियो। ३० देखि ४० लाख रुपैयाँसम्म मात्रै आन्तरिक राजस्व संकलन हुन्थ्यो। त्यसमा अहिले वृद्धि भएको छ। जसलाई सन्तोषजनक रूपमा लिन सकिन्छ। 

    स्थानीय साधनस्रोत परिचालनको अवस्था कस्तो रहेको छ?

    स्थानीय साधानस्रोतको खासै परिचालन गर्न सकेका छैनौँ। चालु आवमा कवाडी समानको ठेक्का भएको छ। खोलाको वातावरणीय प्रभाव मूल्यांकनको कार्य भइसकेको छ। खोलाबाट गिट्टी, बालुवा, ढुंगाको ठेक्का गर्न जाँदैछौं। ताल संरक्षण गरी त्यसबाट आयआर्जनका कार्यक्रम सञ्चालनका लागि कार्य अगाडि बढाउने योजना पनि छ।

राजेन्द्र पनेरु

पनेरु थाहा खबरका कञ्चनपुर समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]