|

पाँचथर : तमोर लिफ्टिङ खानेपानी आयोजनाले बुधबारदेखि पाँचथरको सुख्खाग्रस्त क्षेत्रमा पर्ने कुम्मायक गाउँपालिकाका उपभोक्तालाई पानी वितरण गर्ने तयारी गरेको छ। विद्युतीय प्रविधिबाट लिफ्टिङ गरेर ल्याएको तमोरको पानी ४ वटा ट्यांकीमार्फत आयोजनाले वितरण गर्न लागेको हो। 

शुक्रबार पाँचौं ट्यांकीबाट छैठौं ट्यांकीमा परीक्षणका लागि पानी पठाइएको थियो। पानी परीक्षण सफल भएको आयोजनाले जनाएको छ। आयोजनाका साइड इञ्चार्ज लोकेन्द्र राजभण्डारीले भने, 'जुन् जुन् ट्यांकीमा पानी पठायौं। परीक्षण सफल भएको छ। ती ट्यांकीहरूबाट २५ गतेदेखि पानी वितरण कार्य सुरु गर्छौं।'  

आयोजनाको मुख्य प्रसारण लाइनअन्तर्गत निर्माण गरिएका १ र २ नं. ट्यांकी भएको क्षेत्रमा बस्ती छैन। तर ३, ४, ५, ६ र ७ नं. ट्यांकी भएको क्षेत्रमा भने वस्ती छ। आयोजना साइड इञ्चार्ज राजभण्डारीले पहिलाे चरणमा आयोजनाले लिफ्टिङ गरेर ल्याएको तमोरको पानी ७ नं. बाहेकका ट्यांकीबाट वितरण गरिने बताए।उनले दोस्रो चरणमा ७ नं. ट्यांकी र त्यसअन्तर्गतका ५ वटा ट्यांकीमा पानी परीक्षण गरी गरिने पानी वितरण गरिने पनि बताए। 

आगामी पुस १५ गतेसम्म भने ७ नं. र त्यस अन्तर्गतका ट्यांकीमा परीक्षणका लागि पानी पठाई सक्ने आयोजनाको लक्ष्य छ। यसरी सबै ट्यांकीमा पानी परीक्षण सफल भएपछि भने वितरण लाइनमा केन्द्रित हुने आयोजना इञ्चार्ज राजभण्डारीले जानकारी दिए।

‘वितरण लाइनको काम अन्तिम चरणमा छ। हाउस कनेक्सनको काम भइरहेको छ। केही बाँकी छ’ उनले भने, ‘अहिले हाम्रो प्राथमिकता चाहिँ मुख्य प्रसारण लाइनबाट पानी ट्यांकीहरूमा झार्ने नै हो। त्यहीअनुसार हामीले काम अगाडि बढाईरहेका छौं। पुस १५ गतेपछि वितरण लाइनमा केन्द्रित हुन्छौं।’

आयोजनालाई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इलामले रेखदेख गर्दै आएको छ। कार्यालयका साइड इञ्चार्ज ज्ञानु रिजालले लक्षित समयमा नै आयोजना निर्माणको काम हुँदै आएको बताए। उनकाअनुसार आयोजना क्षेत्रमा सडक विस्तार, पाइप अड्याउन आवश्यक ब्लक निर्माण, भवन निर्माणले पाइपलाइनमा पुगेको क्षतिको मर्मत, केही घरमा पाइपलाइन जडान गर्ने र यासोक बजारका विभिन्न ठाउँमा राख्नुपर्ने अग्नी नियन्त्रक राख्ने कामको थालनी पनि गरिने छ।

यो आयोजनाको मुहान भने तमोर नदीको लोरिपा दोभानमा छ। त्यहाँ मूल ट्यांकी निर्माण गरी विद्युतीय पम्पिङ प्रविधिबाट पानी तानिएको हो। यसरी तानिएको पानी कुम्मायकको थापागाउँस्थित १७ किलोमिटर ४८ मिटर उचाइमा पुर्‍याएर वितरण गरिने आयोजनाले जनाएको छ। आयोजनाको मुख्य प्रसारण लाइनको काम प्रेरा-स्वामी नारायण जेभी ललितपुरले १७ करोड ३० लाख ६५ हजार रुपैयाँ लागतमा गर्दै आएको छ।

वितरण लाइनको काम भने २२ करोड १० लाख ८ हजार रुपैयाँ लागतमा कन्काई-महादेव खिम्ती-स्वामी नारायण जेभी सुनसरीले गर्दै आएको छ। आयोजना सम्पन्न भएपछि कुम्मायक गाउँपालिकाको वडा नं. १, ३, ४ र ५ नं. वडाका तीन हजार ४३ घरका १३ हजार ८४० जना स्थानीय लाभान्वित हुनेछन्।

मुख्य प्रसारण लाइनको काम २०७२ साल पुस १६ गतेदेखि र पानी वितरण लाइनको काम भने २०७३ साल फागुन ६ गतेदेखि सुरु भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.