संविधान संशोधन गरेर लिम्पियाधुरालाई नक्सामा समेटौँ'

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद अग्‍निप्रसाद सापकोटाले संविधान संशोधन गरेर भारतले अतिक्रमण गरेको लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्नुपर्ने बताएका छन्। 

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकका बोल्दै सांसद सापकोटाले भारतले मिचेको भनिएको भूमिबारेको विवाद सामान्य नभएको उल्लेख गरे।

'संविधान संशोधन गरेर हाम्रो भूमिसहितको नक्सा बनाउनुपर्छ', उनले भने, भारतसँग हाम्रो सीमा विवाद होइन। यो त भारतबाट भएको सार्वभौम सत्ताको थिचोमिचो हो।'

सांसद सापकोटाले सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले यस विषयमा सामान्य हिसावले हल्का टिप्पणी गरेको पनि बताए। 'सरकारका प्रवक्ताबाट सामान्य हिसावले कुरा आएको छ', उनले भने, 'हाम्रा रणनीतिक महत्वका भूगोलमा भएको थिचोमिचो सहन सक्ने विषय होइनन्।'

सांसद सापकोटाले कालापानी रणनीतिक हिसाबले महत्वपूर्ण रहेको उल्लेख गरे। 'भारतले कालापानी नछोड्नकै लागि त्यहाँ सैनिक संरचना बनाएको छ', उनले भने, 'यो असमान्य र असधारण विषय हो।'

उनले संविधानमा उल्लेख भएको नक्सा त्रुटीपूर्ण रहेको भन्दै संविधान संशोधन गर्न आग्रह गरे। 'संविधान संशोधन गरेर नक्सा सही राख्नु पर्छ। यसलाई सबैभन्दा बढी प्राथमिकता राख्नु पर्छ', उनले पुन दोहोर्‍याए, 'लण्डन लाइब्रेरीबाट पनि हाम्रै पक्षमा प्रमाण आएको छ।'

कूटनीतिक हिसाबले मात्रै कुनै हालतमा समाधान नहुने उनले बताए। 'भारतले हाम्रो भूमि सोचीसम्झी कब्जा गरेको छ', उनले भने, 'हामी किन चिप्लेका छौँ।'

सांसद सापकोटाले आफ्नो भूमि भारतले कब्जा गर्दा नेपाल नै चुकिरहेको जिकिर गरे। 'सन् २०१४ को संयुक्त आयोगको बैठकले सीमा विवाद परराष्ट्र सचिव तहबाट समाधान गर्ने भन्यो', उनले थपे, 'कालापानी, लिम्पियाधारा विवादित भूमि होइनन्। भारतले हाम्रो भूमि कब्जा गरेको हो तर हामीले विवादित भनेर चुक्यौँ।'

सांसद सापकोटाले भारतले मिचेका भूमि फर्काउन प्रमाणको कुनै कमी नभएको पनि प्रष्ट पारे। 'प्रमाणको कुनै पनि कमी छैन, सरकार अघि बढोस्', उनले भने, 'खराब भन्दा खरब स्थितिको लागि हामी तयार हुनु पर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.