राष्ट्रपतिको शोभायात्रादेखि कार्यकर्तालाई कल दिँदासम्म विवादै-विवाद

|

- शारदा पोखरेल

बाराः चर्चित गढीमाई मेला सञ्चालनका क्रममा यो पटक व्यापक आर्थिक हिनामिना भएको आरोप लागेको छ।

बाराको बरियारपुरस्थित गढीमाईमा पञ्चबर्षीय मेला जारी छ । मेला लाग्दै गर्दा हुने आम्दानीलाई लिएर महागढीमाई नगरपालिका र गढीमाई मन्दिर सञ्चालन तथा विकास समिति विवादमा तानिएका छन्। 

यसअघि मेला लगाउँदै आएको विकास समितिले नगरपालिकामाथि मेला सञ्चालनका क्रममा व्यापक आर्थिक अनियमितता गरेको आरोप लगाएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार यो पटक मेला लगाउने कानूनी अधिकार नगरपालिकाले पाएको छ। 

कानूनी अधिकार पाएको पहिलो बर्षमै नगरपालिकाले मेलाका नाममा आफूखुशी मनपर्दी खर्च गरेको मन्दिर विकास समितिका पदाधिकारीको आरोप छ। मेला सञ्चालनका क्रममा नगरपालिकाले बोलपत्र आह्वान गरि मनोरञ्जनबाट एक करोड र जग्गाबाट ६५ लाख रुपैयाँ उठाएको छ। तर मेला मूल आयोजक समितिले नै मेलाका लागि नगरपालिकाले छट्याएको एक करोड रुपैयाँ बजेट कहाँ खर्च भयो भन्ने जानकारी पाएको छैन।

मेलाका लागि छुट्याईएको रकमबाट नगरपालिकाले राजनीतिक कार्यकर्ताको घरमा पानी तान्ने कल जडान गरिदिएको आरोप समेत लागेको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र साह तेलीले भने–'मेलाका लागि छुट्याईएको बजेटबाट के गरिएको छ भन्ने कसैलाई जानकारी छैन, मेलाका लागि भन्दै किनिएका धारा कार्यकर्ताका घरघरमा जडान गरिएको छ, यसपटकको मेलाको आम्दानी प्रमुख जिल्ला अधिकारी र नगरपालिकाका मेयरलाई मात्रै थाहा होला, अरुलाई कुनै जानकारी छैन।'

यसअघि वि.सं. २०७१ सालमा भएको पञ्चवर्षीय मेलामा मनोरञ्जनबाट ६५ लाख र जग्गा भाडाबाट ४१ लाख रुपैयाँ आम्दानी भएको थियो, जसमध्ये मेला सञ्चालन खर्च कटाएर मन्दिर व्यवस्थापन समितिले ६५ लाख रुपैयाँ बचत गरेको थियो। 

नगरपालिकाले भने मेलाका लागि छुट्याइएको एक करोड रुपैयाँमध्ये २५ लाख रुपैयाँबाट घटस्थापनाका दिन राष्ट्रपति विद्यादेवी भण्डारीको शोभायात्राका लागि र बाँकी रकम मेला सञ्चालनका क्रममा खानेपानी र अस्थायी शौचालय निमार्णलगायतमा खर्च भएको दाबी गरेको छ। 

नगरप्रमुख उपेन्द्रप्रसाद यादवले मेलामा २५ लाख रुपैयाँ राष्ट्रपतिको शोभायात्रामा र बाँकी रकम खानेपानी शौचालय, विधुत र सिसी क्यामरा जडानमा खर्च भएको बताए। ‘नगरपालिकाले निकासा गरेर ५० लाख रुपैयाँ खर्च गरिसकेको छ, अब बाँकी रकम हरहिसाब गरी खर्च गर्न बाँकी छ।’ गढीमाई मेलामा लाखौं भक्तजन आएपनि नगरपालिकाले भने खानेपानीका लागि भन्दै केही धारा र शौचालय निर्माण गरेको छ। नगरप्रमुख यादवले सबै पदाधिकारीको रोहवरमा केही दिनमै मेलाको सबै हिसाबकिताब सार्वजनिक गर्ने जनाएका छन्।

जसमध्ये सबै खर्च कटाएर ६५ लाख बचत भएको यसअघि मेला लगाएका तेलिले भने, ‘नगरप्रमुख यादवले भने सबै पदाधिकारीको रोहबरमा केही दिनमा सबै हिसावकिताव सार्वजनिक गर्ने जनाएका छन्।

भेटी चढाइएको रकम गन्न शुरु

गढीमाई मेलामा भक्तजनहरुले चढाएको भेटी–रकम गन्न थालिएको छ। शुक्रबार साँझसम्म ८ लाख रुपैयाँ गणना भएको मेला आयोजक समितिका महासचिव पारस गुप्ताले जनाएका छन्। समितिले भेटीबाट २० लाख रुपैयाँसम्म संकलन हुने अनुमान गरेको छ। मेला मंसिर १ देखि शुरु भएको हो। 

पुजारी र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले मेलामा डेढ करोडजति भक्तजन आइसकेको दाबी गरेका छन्। तर नगरपालिका र प्रहरी प्रशासनले भने अहिलेसम्म करिब ७० लाख भक्तजनले मेला भरेको जनाएको छ। 

४१ जनाविरुद्ध मुद्दा दर्ता 

यसपटकको मेलामा चोरीलगायत विभिन्न घटनामा पक्राउ परेका दुईसय जनामध्ये ४१ जनाविरुद्ध बारा प्रहरीले मुद्दा चलाएको छ। ‘हामीले चोरी, अभद्र व्यवहार मुद्दामा ४१ जनाविरुद्ध मुद्दा चलाएका छौं’ बाराका प्रहरी उपरीक्षक विकासराज खनालले भने ‘कहिले मेला आउँछ भनेर कुरेर बस्ने पेशेवर चोर पनि मेलामा भेटिए, हामी मुद्दा चलाएका ४१ जनामध्ये आधाभन्दा बढी भारतीय पेशेवर चोरहरु छन्।' 

कतिपय चोरहरु दुई दिनअघिको रामजानकी विवाह महोत्सवबाट गढीमाई आएको र दुई बर्षको बच्चा बोकेर चोरी गरिरहेका महिलाहरुलाई पनि रङ्गेहात समातिएको खनालले जानकारी दिए।  

बारा प्रशासनले मेलाको सुरक्षाका लागि यो पटक दुई हजार सुरक्षाकर्मी परिचालन गरेको छ। ८० स्थानमा सिसी क्यामरा जडान गरेको छ । तर भक्तजनहरुले भने सुरक्षा व्यवस्था प्रभावकारी नभएको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.