|

काठमाडौं : २०७३ भदौं २३ गते। चन्द्रागिरीको च्यानडाँडामा विहान पाँच बजे ना १ ज ३९४८ नम्बरको टाटा सुमो हुइँकिदै आयो, बिरानो बाटोमा गाडी आएको देखेपछि प्रहरीले पिछा गर्‍यो। प्रहरीले पिछा गरेको थाहा पाएपछि टाटा सुमोमा सवार व्यक्तिहरुले प्रहरीतर्फ फायरिङ गरे। प्रहरीले पनि जवाफी फायरिङ खोल्यो। दाहोरो फायरिङपछि टाटा सुमोमा आएकाहरु भागे। प्रहरीले टाटा सुमोको चेकजाँच गर्दा एउटा सहकारीको सेफ फेला पारेको थियो। 

उक्त सेफ ललितपुर झरुवाराशीको सन्तानेश्वर बचत तथा ऋण सहकारी सस्थाको ढोका फोडेर सेफ र कागजपत्रहरु चोरी गरेको पत्ता लाग्यो। चोरीको सामान फेला परेपनि चोरहरु गोली हान्दै फरार भएका थिए।

प्रहरीले पाँच वटा टोली बनाएर चोरहरुको खोजी गरिरहेको थियो। १९ हप्तापछि मात्र प्रहरीले चोरीमा संलग्नहरु दुई जनालाई फेला पारेको छ। चोरीमा संलग्नहरु मकवानपुर फाखेलका २७ वर्षीय कुमार भनिने निङ्मा लामा र ३० वर्षीय पेमा लामालाई प्रहरीले पक्राउ गरेको हो। अन्य दुई जना फरार रहेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए।

कसरी चोरी गरे उनीहरुले

पक्राउ परेका निङ्मा काठमाडौं सर्लाही रुटको टाटा सुमो चलाउने ड्राइभर हुन्। पेमा र अन्य दुई जनाले चोरीको योजना बनाएका थिए। चोरी गरी सामान लैजान गाडी प्रयोग गर्नका लागि निङ्मालाई पनि सम्मिलित गराएका थिए। एकान्तस्थानमा रहेको सहकारी रोज्ने क्रममा सन्तानेश्वर मन्दिर नजिकै रहेको सन्तानेश्वर बचत तथा ऋण सहकारी सस्था रोजे। अनि रातको समयमा सहकारीको ढोका फोडेर सेफ र अन्य कागजपत्र चोरी गरी चोरीको सामानहरु टाटा सुमोमा राखे।

सधैं हिड्ने बाटो प्रयोग गर्दा प्रहरीले समाउन सक्ने भएकोले उनीहरुले मातातीर्थको बाटो रोजेको एसएसपी खनालले जानकारी दिए। ‘त्यही बाटो रोज्दा नै उनीहरुलाई प्रहरीले निगरानी राखेको थियो तर गोली हान्दै भागे’, उनले भने। फरार रहेका उनीहरु सर्लाहीमा नै बस्दै आएको थाहा पाएपछि पक्राउ गरिएको पनि उनले जानकारी दिए।

सेफमा थियो २५ हजार

चोरीमा संलग्नहरु त्यत्तिखेर फेला नपरेपनि चोरीको सेफ प्रहरीले बरामद गरेको थियो। लुटेराले छाडेको सेफ सहकारीको कर्मचारीको रोहवरमा प्रहरीले खोल्दा २५ हजार रुपैयाँ र केही कागजपत्रहरु फेला पारेको थियो।

प्रहरीले मकवानपुर फाखेल–५ घर उल्लेख भएको हर्कबहादुर तामाङको नाममा जारी भएको सवारी चालक अनुमतिपत्रको प्रतिलिपी र रामेछाप सुकाजोर–६ घर भएकी गंगा तामाङको नामको नागरिताको प्रतिलिपी फेला पारेपछि उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो। प्रहरीले गाडीका चालक मकवानपुर फाखेल बस्ने कुमार लामा भएको, गाडी एकहप्ता अगाडि मामा ग्यारेज बल्खुमा बनाउन छाडेको र बिहीबारको लालीगुँरास सुमो सेवाबाट टिकट काटिएको प्रारम्भिक अनुसन्धानमा पत्ता लगाएको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.