|

सुनसरी : प्रकाशपुर सामान्यतया कृषकले गाईको दूध बेचेर जीविकोपार्जन गर्ने गर्दछन्। गाउँघरमा खेतबारीको लागि गोबर मल बनाउन पनि गाई पाल्ने गरिन्छ। तर सुनसरीमा रहेको रामधुनी मन्दिरमा पालिएका गाईको गहुँत अर्थात् पिसाब भने महँगो मूल्यमा बेच्ने गरिएको छ।

गाईको पिसाब प्रशोधन गरेर प्रतिलिटर ४ सयमा मन्दिर व्यवस्थापन समितिले बेच्ने गरेको छ। रामधुनी मन्दिर व्यवस्थापन समितिले गत असोजदेखि मन्दिर परिसरमा भएका गाईको पिसाब बेच्नका लागि प्रशोधन गर्न शुरु गरेको हो।

चारवर्ष अगाडि सातवटा गाई संरक्षण गर्न थालिएकोमा अहिले ५२ वटा लोकल गाईलाई मन्दिरमा संरक्षण गरिएका छन्। भारततिर गाई-गोरु बिक्री हुन छाडेपछि अधिकांशले छोडेका गाईको पिसाब संकलन, प्रशोधन गरेर औषधि बनाउन थालिएको हो। 

दूध दिन नसक्ने भएका गाई पनि रामधुनीमा छन्। दूध नदिने गाईले पिसाब भने दिन सक्दछन्। गाईले बिहान नै फेर्ने गरेको पिसाब संकलन गर्ने गरिन्छ। दैनिक प्रशोधनका लागि दुईजना स्थानीयलाई व्यवस्थापन समितिले रकम नै दिएर राखेको छ।

व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले एकलाख रुपैयाँमा मेशिन जडान गरेर प्रशोधनको काम थालिएको बताए। कार्कीले भने,‘खेर गइरहेको गहुँतलाई सामान्य लागतमा औषधि बनाउन सुरु गरेका हौं।’

हाल दैनिक बिहान १८ देखि २० लिटर लिटर कच्चा पिसाब संकलन गरिन्छ। संकलन गरिएको पिसाब प्रशोधन गर्दा ५० देखि ६० प्रतिशत मात्रै खानयोग्य औषधि बन्ने गर्दछ। जसअनुसार अहिले राम्धुनीमा दैनिक १० लिटर खान मिल्ने पिसाब उत्पादन हुने गरेको छ।

प्रशोधन गर्दा स्थानीय रक्सी बनाए झैँ गहुँतलाई बास्पीकरण गर्ने गरिन्छ। संकलित कच्चा पिसाबलाई भट्टीमा उमालेर चिस्याउँदै आएको बाफलाई तरल बनाएरऔषधि तयार पारिन्छ। 'सुरु सुरुमा चाहिँ केही पनि हाल्दैनथ्याै' उत्पादनमा संलग्न रामधुनी लालपुरका गणेश कार्कीले भने, ’अहिले तुलसीको पात पनि हाल्ने गरेकाले तुलसीको ’फ्लेबर’ पनि हाम्रो औषधिमा छ।’

विभिन्न रोगमा फाइदा पुग्ने गहुँतको माग पछिल्लो समय बढिरहेको कार्की बताए। ’मेरै गाउँका नवराज पौडेल भन्ने भाइलाई बाथ रोग लागेको थियो। शरीर चल्दैनथ्यो’ गणेश कार्कीले भने,’ गाईको गहुँत खान सुरु गरेको केही दिनमै राम्रो भएको संकेत भएपछि तेस्रो पटक पनि लिएर गएका छन्।’

पछिल्लो समय गहुँत प्रशोधन गरेर खाँदा ग्यास्ट्रिक, सुगरलगायत पेटसम्बन्धी रोगलाई आराम गर्ने विज्ञले बताए। सँगै प्रशोधन गाईको गहुँतको माग बढ्दो छ। आधा लिटरको बोतलमा प्याकिङ गरिएको गहुँत सुगर, ग्यास्ट्रिक, बाथ, उच्च रक्तचापका बिरामीले धेरै प्रयोग गर्ने गरेका छन्।

हालसम्म औपचारिक विज्ञापन समेत नगरेपछि गहुँतको माग बजारमा धेरै छ। हिन्दु धर्मअनुसार गाईलाई लक्ष्मीका रूपमा मानिन्छ। गहुँत, गोबरलाई हरेक पूजा-पाठ गर्दा घर लिप्ने, चोखाउन गहुँत छर्किने र शुद्ध कार्यमा गहुँतको प्रयोग हुँदै आएको छ।

केन्द्रीय प्रयोगशालामा पनि परीक्षण भइसकेको औषधिको लेबल बनाउने काम हुँदैछ। लेबल बिनाकै औषधि भए पनि माग अनुसारको आपूर्ति भने समितिले गर्न सकेको छैन। जंगलको जडिबुटी जन्य घाँस खाएका गाईको गहुँत भएकाले पनि मान्छेको आकर्षण रामधुनीको औषधिमा देखिएको छ।

सुनसरीको रामधुनी नगरपालिका ४ रामधुनी जंगलमा अवस्थित रामधुनी मन्दिर बराहक्षेत्र नगरपालिका र भोक्रहा नरसिङ्ग गाउँपालिकाको सीमा जंगलको बीच भागमा अवस्थित छ।

त्रेता युगमा भगवान् रामले धुनी लगाएर एक रात बसेको हिन्दु धर्मावलम्बीको पौराणिक भनाई छ। आफ्नै किसिमको महत्त्व र अस्तित्व बोकेको रामधुनीमा राम नवमी विवाह पञ्चमी, ऋषि पञ्चमी, शिवरात्री, तीज जस्ता पर्वहरूमा नेपालका विभिन्न स्थान र भारतबाट समेत श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.