देउडाको मौलिकता बिगारेकोमा चिन्ता

|

काठमाडौं : कुरा २०६१ सालतिरको हो। हालको अपी हिमाल गाउँपालिकाबाट दुई दिन हिँडेर एसएलसी परीक्षा दिन दार्चुला सदरमुकाम खलंगा पुगेकी थिइन्, दीपा रोकाया। सदरमुकामसम्मको यात्रा उनको जीवनकै पहिलो थियो।

सँगैका साथीहरू परीक्षा सकेर गाउँतिरै फर्किए। तर भर्खर १६ वर्षमा हिँड्दै गरेकी दीपा खलंगाबाट भारतस्थित धारचुलाको बाटो हुँदै कञ्चनपुरको महेन्द्रनगर छिचोल्दै त्यहाँबाट धनगढी पुगिन्।

एकातिर माओवादीले चलाएको जनयुद्धको जगजगी, अर्कोतिर चेलिबेटी बेचबिखनको बिगबिगीको त्यो अफ्ठेरो कालखण्डमा त्यति टाढासम्म दीपाले पहिलो पटक यात्रा गरेकी थिइन्। त्यो यात्राले उनको जीवनलाई नयाँ गन्तब्यमा डोहोर्‍याइरहेको थियो।

त्यतिबेलाको हिम्मत स्मरण गर्दा अहिले पनि दीपाको जिउ सिरिङ्ग हुन्छ। त्यो कालखण्ड र आफ्नो हिम्मतको व्याख्या यसरी गर्छिन् दीपा, ‘आफन्तलाई पनि विश्वास गर्न नसकिने अवस्था थियो। म कसरी भागेँ होला? सम्झँदै पनि कहाली लाग्छ।’

दीपाको ठबाट यी शब्द बाहिरिँदै गर्दा अनुहारमा भने त्यतिबेलाको त्रासको छायाँ अझै झल्झिरहेको थियो।

एसएलसी दिन खलंगा आएको खर्चबाट २ हजार रुपैयाँ मात्रै बचेको थियो। त्यही दुई हजार गोजीमा हालेर भारतको धारचुला हुँदै धनगढी एउटै हुटहुटीले पुर्‍याएको थियो। त्यो थियो- मनबाटै पलाएको गायिका बन्‍ने रहर।

छोरीले एसएलसी गरेपछि नर्स पढाउने चाहना थियो दीपाका आमाबुबाको। तर, परिवारमा नर्स देख्ने आमाबुवाको चाहनामाथि छोरीको गायिका बन्‍ने रहरले तुसारापात गरिदियो। 'बुवाआमा नर्स बनाउन चाहनुहुन्थ्यो। मलाई गायिका बन्‍ने रहर थियो', दीपा भन्छिन्, 'अनि कुरा मिलेन।'

‘म गायिका बन्‍न चाहन्छु बाबाआमा, मलाई नर्स बन्‍ने रहर छैन। इच्छा र चाहना गीतमा छ, सेतो कपडा लगाउने मेरो मनमा छैन’, उनले यी शब्द आफ्ना बाबाआमालाई सुनाउन सकिनन्। अनि विकल्प रोजिन्- घरबाट भागेर आफ्नो चाहना पूरा गर्ने।

‘म गायिका बन्‍न चाहन्छु बाबाआमा, मलाई नर्स बन्‍ने रहर छैन। इच्छा र चाहना गीतमा छ, सेतो कपडा लगाउने मेरो मनमा छैन’, उनले यी शब्द आफ्ना बाबाआमालाई सुनाउन सकिनन्। अनि विकल्प रोजिन्- घरबाट भागेर आफ्नो चाहना पूरा गर्ने।

धनगढीमा दीपामा आफन्तकहाँ बसिन्। त्यहाँ गीत रेकर्ड गर्ने ‘संगीत सौगात स्टुडियो’ थियो। गीतको हुटहुटीले नरेन्द्रराज रेग्मीसँग भेट भयो। उनले रेडियोमा स्टुडियोको विज्ञापन सुन्थिन्। त्यहीँबाट फोन नम्बर भेटिन्। रेडियो त्यही साधन थियो जसले दीपामा गायिका बन्‍ने जुनुन भर्‍यो। रेडियोमै बज्ने डोटेली भाषाका ठाडी भाका र देउडा गीतले उनमा गीत संगीतको लत बसाल्यो।

रेडियोमा बज्ने भाकाले दीपामा गीत संगीतको तल भर्‍यो। मेलापात र स्कुल जाने बेला हाल्ने भाकाले आफ्नो स्वर पनि चिनेकी थिइन्। तर गीत संगीतको कखरा भने उनलाई अत्तोपत्तो थिएन।

गाउँमा दीपाको स्वरको प्रसंसा हुन्थ्यो। त्यही तारिफले उनमा गायिका बन्‍ने भूत सवार गराएको थियो उनमा। गाउने र नाच्‍ने बालापनदेखिकै सौख थियो। स्कुलमा गीत गाउँदा र नाच्दा हुने तारिफले उनी मख्ख पर्थिन्।

स्कुलबाटै भाग लिएर गाविसस्तरीय नृत्य प्रतियोगितामा दीपाले प्रथम पुरस्कार जितेकी थिइन्। पुरस्कार रकम १० हजार थियो। नाचेरै उनले यति धेरै रकम पाएको पहिलो थियो। जसले पनि उनलाई ‘म गाउन र नाच्‍नै जन्मिएकी हुँ’ भन्‍ने भान पारेको थियो। जसले उनलाई घर छाडेर आफ्नै लक्ष्यतर्फ कुदायो।

दीपा धनगढीमा फुपूको घरमा बसिन्। नरेन्द्रराज रेग्मीको अभिभावकत्वमा उनले स्वर परीक्षण गरिरहिन्। अर्को शब्दमा भन्दा उनले गीत संगीतको कखरा सिक्न थालिन्।

अहिलेजस्तो हातहातमा मोबाइल फोन त के दार्चुलाको सदरमुकाम खलंगाबाहेकका क्षेत्रमा टेलिफोन सेवा नै थिएन। रैबारको अर्को माध्यम चिठी पठाउनेबारे पनि उनले सोचिनन्। गाउँमा बाबुआमाले उनको खोजी गरे। परीक्षा दिन सँगै गएका फर्किए तर छोरी नफर्किँदा उनीहरू अवश्य चिन्तामा डुबे। तर छोरी कहाँ गइन् भन्‍ने लामो समय पत्ता लागउन सकेनन्।

‘सायद घरकी कान्छी कतै अल्पायुमै… गाउँ घरमा यस्तै हल्ला फैलियो होला!’ दीपा यस्तै अनुमान लगाउछिन्। गाउँमा उनलाई माओवादीले पो लगे कि भन्‍ने पनि हल्ला चल्यो रे!

दीपा यता लगातार आफ्नो लक्ष्यतर्फ दत्तचित्त भएर लागेकी थिइन्। जसको परिणाम पनि निस्कियो। घर छोडेर हिँडेको सात महिनापछि रेडियोमा बज्‍न थाल्यो, ‘स्वर दीपा रोकायाको…।’

त्यो स्वर गाउँमा पनि सुनियो। उनीहरूलाई थाहा भयो, छोरी आफ्नो लक्ष्य भेट्टाउन घर छाडेर हिँडेकी रहिछन्।

दीपाको स्वरमा रहेको पहिलो गीत इराकमा मारिएका नेपालीको पीडा भरिएको थियो। त्यो लोकगीत थियो, 'कसलाई भनौँ कर्मै हो खोटी, प्रिय राजै के गरी दिन बिताऊँ सपनीमा आउन एकचोटी…!'

यही विरहको गीतबाट उनले नेपाली सांगीतिक क्षेत्रमा सुर गुन्‍जाउन थालेकी थिइन्।

त्यसपछि दीपाले आफ्नै भाषाको गीत गाइन्, ‘ब्यान्तारो आइगयो…' गोरख थापाको शब्द र भुवन थापाको स्वरमा स्वर मिलाएकी उनले गाएको यो गीत सुदूरपश्चिम र मध्यपश्चिमका डोटेली भाषा रुचाइने क्षेत्रमा चर्चित भयो। सुदूर र मध्यपहाडका मायालु दम्पतिको पीडालाई सुरिलो स्वर दिएकी उनलाई एल्बममा काम गर्ने अवसर मिल्न थाल्यो।

दीपाको स्वर सुदूर र मध्यपश्चिमका मेलापात र गाउँठाउँमा गुञ्जिन थाल्यो। यता उनलाई गीत गाउन अफर आउने क्रम बढ्यो।

हालसम्म उनले ४०० भन्दा बढी गीतमा स्वर दिएकी छन्। जसमा अधिकांश डोटेली भाषाका देउडा र ठाडी भाका छन्। उनको स्वर रहेका चार एल्बम दोहोरी गीत बजारमा आइसकेका छन्।

एसएलसी दिन जिल्ला सदरमुकाम गएर त्यतैबाट लक्ष्य भेट्टाउन हिँडेको सात वर्षपछि दीपा सुदूरपश्चिमकी देउडा गायिका दीपा रोकाया बनेर घर फर्किइन्।

दीपा भौतिक रूपमा जन्मघरबाट टाढा थिइन्। तर उनको स्वर गाउँघर र स्कुले जीवनसँगै गरेका मेलापाखामा गुञ्जिइसकेका थिए। त्यसैको प्रभाव, गाउँ फर्किँदा उनलाई हेर्ने दृष्टिकोण ३६० को कोणमा परिवर्तन भइसकेको थियो।

सँगै एसएलसी दिन आएका अनि घर फर्किएका साथीसंगीहरूको घरजम भइसकेछ। उनीहरूले बालापनकी संगिनीलाई भेटेर भनेका शब्द दीपाले अहिले पनि भुलेकी छैनन्। साथीहरूले भनेका कुरा उनले हामीलाई यसरी सुनाइन्, ‘उहाँहरूले भने कि तँ त भागेर गायिका बनिस्। हाम्रो त आँट भएन। घरबार सम्हाल्दैमा जिन्दगी जाने भो…।'

छोरीलाई नर्स बनाउने सपना बुनेकी आमाको पनि धारणा बदलिइसकेको थियो। छोरीले सही बाटो समातेको आमालाई लागिसकेको थियो। बरु त्यसपहिले नै छोरीलाई संगीत सिकाउन पाएको भए अझै प्रगति हुन्थ्यो भन्‍ने आमालाई लागेको दीपाले सुनाइन्। कान्छीले रोजेको बाटो सही रहेछ भनेर परिवार खुसी नै थियो।

परिवार, आफन्त र संगीहरूको प्रतिक्रियाले दीपामा खुसी लाग्यो। पढाइ छोडेकामा भने उनलाई पछुतो छ।

अहिले दीपा विभिन्‍न जिल्लामा हुने कन्सर्ट र सांस्कृतिक कार्यक्रममा गीत गाउन पुग्छिन्। त्यहाँ उनलाई देउडा गाउने गायिकाका रूपमा सम्मान गरिन्छ।

त्यो सम्मानले खुसी लाग्‍ने उनी बताउँछिन्। उनले मुलुकका विभिन्‍न जिल्लामा पुगेर सुदूरपश्चिममा त्यसमा पनि दार्चुलाको भाकाको देउडा गीत गाएकी छन्। उनी स्वदेशमा मात्रै होइन विदेशमा पनि देउडा गाउनकै लागि पुगेकी छिन्।

आफ्नो क्षेत्रको कला-संस्कृतिलाई फरक भूगोलमा पुर्‍याउन पाउँदा गर्वको अनुभूति हुने दीपा बताउँछिन्।

देउडा गीतबाट गीत संगीत क्षेत्रमा चर्चामा रहेकी दीपा अहिले राष्ट्रव्यापी रूपमा डोटेली देउडाको चर्चा चुलिएको बताउँछिन्। 'अग्रज सर्जकहरूले देउडाको बिस्तार नेपालमा मात्रै होइन, विश्वस्तरमा गर्नुभएको छ। त्यसैको परिणाम हो जहाँ जाँदा पनि हामी जस्ता अनुजहरूलाई सुखद अनुभूति हुन्छ', उनी भन्छिन्।

अहिले हरेक चलचित्रमा विभिन्‍न भूगोलका भाषा, भेष, कला र संस्कृतिलाई स्थान दिन थालिएको छ। सँगसँगै सुदूरपश्चिममा प्रचलित देउडालाई पनि चलचित्रमा समावेश गरिएकाले प्रचारप्रसार बेढेको उनी बताउँछिनि।

छोरीलाई नर्स बनाउने सपना बुनेकी आमाको पनि धारणा बदलिइसकेको थियो। छोरीले सही बाटो समातेको आमालाई लागिसकेको थियो। बरु त्यसपहिले नै छोरीलाई संगीत सिकाउन पाएको भए अझै प्रगति हुन्थ्यो भन्‍ने आमालाई लागेको दीपाले सुनाइन्। कान्छीले रोजेको बाटो सही रहेछ भनेर परिवार खुसी नै थियो।

तर, मनोरञ्जनको नाममा देउडाको अस्तित्व संकटमा पार्ने काम भइरहेकोले उनी चिन्तित देखिन्छिन्। कुनै कुराको प्रचार र उजागर राम्रो भए पनि त्यसको सीमा हुन्छ। डोटेली भाषा र देउडा गीतलाई बिगारेर प्रस्तुत गर्दा त्यसको मौलिक अस्तित्व खतरामा पर्ने उनले ठानेकी छन्।

'अहिले चलचित्रमा गाइने देउडा र पश्चिम नेपालमा गाइने देउडा फरक हुन्। कमसेकम चलचित्र होस् या अन्य कुनै ठाउँमा देउडा समावेश गर्ने हो भने देउडा बुझ्नेहरूलाई एकपटक सोधौँ। नजानेको सोधीखोजी गर्दा  कोही सानो भएको छैन', दीपाको चिन्तामिश्रित अभिव्यक्ति हो यो। देउडा गाउनका लागि त्यसमा भिजेको स्वर हुनुपर्ने उनको ठम्याई छ।

१६ वर्षको उमेरदेखि नै गायनमा लागेकी दीपाको जीवनमा कयौं उतारचढाव आए। तर उनलाई कुनै गुनासो छैन। उनी अन्त्यमा भन्छिन्, 'जीवनमा कयौं  दु:ख सामना गरियो। तर मैले जे चिज पाएँ, त्यो नै दु:ख भुलाउने आधार हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.