|
सिंह निवासमा छलफल गर्दै नेताहरु ।

काठमाडौँ : नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद मिलाउने प्रयास जारी छ। गत बिहीबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार पनि दिउँसो १ बजेको लागि डाकिएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगातार बैठक बहिस्कार गरेपछि सभापति शेरबहादुर देउवा पक्षले भने फकाउने प्रयास गरिरहेको छ। आन्तरिक विवाद चर्केपछि देउवा पक्षबाट उपसभापति बिमलेन्द्र निधि र पौडेल पक्षबाट वरिष्ठ नेता प्रकाशमान सिंहले छलफलको नेतृत्वको जिम्मा पाएका छन्। 

सभापति देउवा वरिष्ठ नेता पौडेललाई फकाउन उनकै निवास बोहोराटार पुगेका थिए। उपसभापति निधिलाई साथमा लिएर बोहोराटार पुगे पनि छलफलले निस्कर्ष निकालेन। पौडेलले कार्यसमितिको बैठकमा आगामी महाधिवेशनको कार्यतालिका पहिले ल्याउनुपर्ने माग राखेपछि विवाद चुलिँदै गएको हो।

देउवाले भने पहिले विभाग गठन गरी संगठानिक संचना पूरा गरेर मात्र निर्वाचन समितिलाई महाधिवेशनको तालिका ल्याउन निर्देशन दिने बताउँदै आएका थिए। यद्यपि आइतबार भएको बैठकमा विभिन्न एजेण्डाहरुसँगै आगामी पुस १५ भित्र महाधिवेशनको कार्यतालिका ल्याउन निर्वाचन समितिलाई निर्देशन दिइएका छन्। 

विवाद मिलाउन सक्रिय देखिएका उपसभापति निधि र वरिष्ठ नेता सिंहले सोमबार पनि छलफल गरे। सोमबार बिहानैदेखि सिंह निवास चाक्सीबारीमा दुई पक्षका नेताहरुबीच छलफल भएको थियो। बैठकमा उपसभापति निधि, सिंहसँगै केन्द्रीय सदस्य दिलेन्द्र बडु र हृदयराम थानी सहभागी थिए।

‘नेताहरुबीचको छलफल भर्खरै सकिएको छ‚’ वरिष्ठ नेता सिंहका सहयोगी यूपी लामिछानेले भने, ‘सहमति नजिक पुगेको छ। केही प्राविधिक कुराहरु छलफलबाटै मिलाएर ठोस सहमति जुटाउने सहमति भएको छ।’ 

गत बिहीबारेखि उपनिर्वाचनको समीक्षालगायत समसामयिक विषयमा छलफल गर्न बैठक सुरु भएको थियो। बहुमतको आधारमा बैठकअगाडि बढाएर निर्णय गर्न देउवा अघि बढेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बैठकमा सहभागी भएको छैन। पौडेल र कृष्ण सिटौला पक्षका नेताहरु केन्द्रीय समिति बैठकमा आगामी महाधिवेशनको एजेण्डामा छलफल हुनुपर्ने बताउँदै आएका छन्।  

बहिस्कारबीच पनि बैठक सोमबारसमेत बस्न लागेको हो। आइतबारको बैठकमा उपनिर्वाचनसम्बन्धी प्रतिवेदन पेस भएको थियो। प्रतिवेदनमाथि सोमबारदेखि केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन्। देउवाले शुक्रबारदेखि सिटौला र पौडेल पक्षका नेतालाई भेटेर सहमतिमा ल्याउने प्रयास गरे पनि सफल हुन सकेका छैनन्।का‌ग्रेसकाे बैठक सोमबार दिउँसाे १ बजे पनि बस्दैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.