|

काठमाडौं : सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आगामी फागुनमा ‘क्यान इन्फोटेक २०२०’ आयोजना हुने भएको छ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगमी फागुन २ देखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक २०२०’ आयोजना गर्न लागिएको जानकारी दिएको हो। प्रदर्शनीमा सूचना, प्रविधि र मनोरन्जनसम्बन्धी प्रदर्शनी हुने छ।

क्यान महासंघका महासचिव नारायण थापाले सूचना तथा सञ्चार प्रविधि बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० आयोजना गर्न लागिएको बताए। उनले यससँगै सन् २०२० मा उपत्यका बाहिर पनि सबै प्रदेशमा क्यान इन्फोटेक प्रदर्शनी आयोजना गर्न लागिएको समेत जानकारी दिए।

महासंघले प्रदेश १ को इटहरी, प्रदेश २ को वीरगञ्ज, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा प्रदेश स्तरीय र प्रदेश ५ को नेपालगञ्जमा जिल्ला स्तरीय प्रदर्शनी आयोजना गर्ने भएको छ। सूचना प्रविधि प्रदर्शनीमा महासंघका सदस्य संस्था, विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहने छ।

यस्तै, क्यान महासंघका अध्यक्ष नवराज कुवँरले पर्यटन वर्ष २०२० लाई मध्यनजर गरी अन्तर्राष्ट्रिय स्तरको क्यान इन्फोटेक गर्ने योजना रहेको समेत जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.