|

काठमाडौं : सन् २००७ यता पहिलोपटक बार्सिलोनाले रियल सोसिडाडलाई उसकै घरेलु मैदानमा हराएको छ। कोपा डेल रे फुटबल प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा बार्साले सोसिडाडलाई १-० ले पराजित गरेको हो।

गएराति भएको खेलमा बार्सालाई दुर्लभ जित दिलाउने क्रममा नेयमारले निर्णायक गोल गरे। २१औं मिनेटमा उनले पेनाल्टीमार्फत गरेको गोल बार्साको जितमा पर्याप्त भयो। जितसँगै बार्सिलोनाका लागि सेमीफाइनल यात्रा सहज बनेको छ। आफ्नो घरेलु मैदानमा हुने दोस्रो लेगमा बराबरी खेले पनि बार्सा अघिल्लो चरणमा जानेछ।

एनोएटामा बार्सिलोनाले सोसिडाडलाई हराउन नसकेको झण्डै १० वर्ष पुग्न लागेको थियो। गएरातिको जित ५ मे २००७ यताकै पहिलो हो। सोसिडाडभन्दा बार्सिलोना तुलनात्मकरुपमा निकै बलियो टोली हो, तर एनोएटामा बार्सिलोना अभागी सावित हुँदै आएको थियो। यसबीचमा खेलिएका ८ खेलमा बार्सिलोना विजयी हुन सकेन।

८ खेलयताको 'ब्याड लक' तोडेकै दिन बार्सिलोनालाई भने गम्भीर धक्का लागेको छ। टोलीका महत्वपूर्ण सदस्य आन्द्रेस इनिष्टा घाइते भएका छन्। पिँडुलाको चोटका कारण दोस्रो हाफमा इनिष्टाको ठाउँमा गोमेजलाई मैदान प्रवेश गराइएको थियो। इनिष्टाको चोट कति गम्भीर छ, शुक्रबार थप परीक्षणपछि थाहा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.