जनताको सेवाभन्दा कमाउनेकै ध्यान

|

धनकुटा : देशमा संघीयता कार्यान्वयनसँगै जनताको घरआँगनमा स्थानीय सरकार आएको छ। तर, त्यो सरकारले जनताको घरमै सेवा दिनेभन्दा आफूले कसरी मौकाको फाइदा लिने भनेर मात्रै काम गरिरहेको पाइएको छ। स्थानीय तहले सवारीसाधन खरिदमा मात्रै ठूलो रकम खर्चिएका छन्।

स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले प्रयोग गर्ने भनेर खरिद गरिएका ती सरकारी सवारीसाधनको चरम दुरुपयोग भइरहेको छ। स्थानीय तहको वा जनताको सेवामा भन्दा व्यक्तिगत काममा  सरकारी रकम खर्चिएर किनिएका सवारीसाधन दुरुपयोग गर्ने गरेको गुनासो दिनप्रतिदिन बढ्दै बढ्दै गएको छ।

साधन दुरुपयोग गर्न जनप्रतिनिधीले विभिन्न विधि प्रयोग गरेको पाइएको छ। जसमध्ये, एउटै सवारी साधनमा दुईवटा नम्बरप्लेट राखेर सरकारी रकमबाट किनिएका सवारीसाधनको दुरुपयोग गरिएको स्थानीयको गुनासो छ।

एउटै साधनमा कार्यालयको काममा सेतो र घरायसी काममा रातो प्लेट प्रयोग गरिएको पाइएको छ। यस्तै, यातायात कार्यालयमा सेतो नम्‍बर प्लेट दर्ता गरिएका सवारीसाधनसमेत स्थानीय तहका जिम्मेवार व्यक्तिबाटै आफूखुसी रातो नम्बर राखी दुरुपयोग गरिएको छ।

धनकुटाका धेरैजसो स्थानीय तहमा यसरी सरकारी सवारीसाधनको दुरुपयोग भएको छ। जिल्लामा रहेको स्थानीय तहमा केही मात्रामा स्कुटरसहित एक सयवटा मोटरसाइकल छन्। अधिकांश स्थानीय तहले वडाध्यक्षहरुलाई मोटरसाइकल र इन्धनको सुविधा उपलब्ध गराएको छ। जसमध्ये एकतिहाइ सवारीसाधन सेतोलाई रातो नम्बर बनाई प्रयोग गरिएको पाइएको छ।

नम्बर प्लेट फेरेर सवारी दुरुपयोग

जिल्लाको सहिदभूमि र छथर जोरपाटी गाउँपालिकामा केही जनप्रतिनिधिले एउटै साधनमा सेतो र रातो नम्बर प्लेट राखेर प्रयोग गर्दै आएका छन्। उनीहरुले एउटै प्लेटको एकातिर सेतो र अर्कोतिर रातो प्लेट बनाउने र कार्यालय समयमा सेतो र व्यक्तिगत प्रायोजनमा रातो बनाउने गरेको सहिदभूमिका स्थानीय नगेन्द्र राईले बताए।

‘जनप्रतिनिधिले सुविधाका सवारीसाधन प्रयोग नगरून् भनेको होइन तर, दुरुपयोग नगरियोस्’ उनले भने, ‘सरकारी सवारीसाधन दुरुपयोगबारे ध्यानाकर्षण गराइए पनि गाउँपालिकाले चासो दिएको छैन।’ सहिदभूमिमा १९ र छथर जोरपाटीमा १३ वटा मोटरसाइकल छन्।

जति भने पनि सुन्दैन गाउँपालिका

सरकारी सुविधाका सवारीसाधन दुरुपयोग भएकोबारे गाउँपालिकामा जानकारी गराए पनि सुनुवाइ नभएको सहिदभूमिका अर्का स्थानीय रुद्रबहादुर राईले बताए। उनले एउटै मोटरसाइकललाई सेतो र रातो नम्बर प्लेटमा कुदाउने गरिएको बताए।

यता, सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले सेतो नम्बर प्लेटलाई रातो बनाएर केही सवारी साधन चलाएको जानकारी पाएको स्वीकार गरे।

पत्रकारको फोन उठाउँदैनन् याखा

जिल्लाको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंग याखाले प्रयोग गर्ने सरकारी मोटरसाइकल सेतो नम्बर प्लेटमा दर्ता छ। तर, उनले त्यसलाई रातो नम्बर बनाएर प्रयोग गर्दै आएका छन्। यसबारे प्रतिक्रियाका लागि कैयौंपटक फोन सम्पर्क गर्दा पनि याखाले फोन उठाएनन्।

साँगुरीगढी गाउँपालिकामा एउटा स्कुटरसहित १४ मोटरसाइकल सेतो नम्बर प्लेटमा दर्ता भएका छन्। जसमध्ये ८ वटा मात्र सेतो नम्बर प्लेटमा सञ्चालन भएका छन् बाँकी ६ वटा जनप्रतिनिधिले आफैँ रातो प्लेटका बनाएर चलाइरहेका छन्।

पार्किङमा राखिएका सरकारी र निजी मोटरसाइकल

साँगुरीगढी गाउँपालिकामा पर्ने साविकको खुवाफोक, फाक्सिव, आहाले, भेडेटार गाउँ विकास समितिको सवारीसाधन अझै गाउँपालिकामा नामसारी समेत गरिएको छैन। ती सबै सवारीसाधन सरकारी नम्बर प्लेट हुनुपर्नेमा निजी नम्बर उल्लेख छ। को१ब १४४३ नं.को सेतो प्लेटको स्कुटर साँगुरीगढीका उपाध्यक्ष विन्द्र राईले प्रयोग गर्दै आएकी छिन्।

धरानदेखि कार्यालय धाउने उनलाई कार्यालय आउजाउ गर्दा मात्र सेतो र अन्य बेला रातो बनाउन उनलाई समेत सुझाव दिने गरेको बताइन्। तर, सवारीसाधन त्यसरी दुरुपयोग गर्न उचित नलागेको उनको भनाइ छ। रातो नम्बर प्लेटलाई तत्काल सेतो बनाउने प्रक्रियामा जाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यबहादुर भण्डारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.