|

प्रमुख दल निकटका विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले उमेर हद र मिश्रित निर्वाचन प्रणालीमा सहमति जनाएसँगै फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने निश्‍चित भएको छ। मिति तोकिएसँगै विद्यार्थी संगठनहरु चुनावको तयारीमा लागेका छन् र त्रिविलाई तत्काल निर्वाचन कार्यतालिका घोषणा गर्न आग्रह गरिरहेका छन्। ८ वर्षदेखि हुन नसकेको स्ववियू निर्वाचनको मिति घोषणा भएसँगै क्याम्पसहरुमा चुनाव लाग्न थालेको छ। यसै सन्दर्भमा अनेरास्ववियुको चुनावको तयारी लगायतका विषयमा अध्यक्ष नविना लामासँग थाहाखबरकी देविका घर्तीमगरले गरेको कुराकानी :

स्ववियु निर्वाचनको तयारी कसरी गरिरहनुभएको छ?

स्ववियु निर्वाचनको मिति घोषणाले सकारात्मक सन्देश प्रवाह गरेको छ, यसलाई हामीले स्वागत गरेका छौं। त्रिभुवन विश्‍वविद्यालयले निर्वाचनको मिति तोकिसकेपछि अब छिटोभन्दा छिटो निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्‍यो र सबै क्याम्पसहरुमा सर्कुलर गर्नपर्‍यो भनेर माग गरेका छौं। यद्यपी विश्‍वविद्यालयमा पनि निर्वाचन तालिका तयार गरिसकेको छ। सर्वदलीय बैठक बसेर केही छुटफुट सच्याउनुपर्ने विषयहरु भएमा मिलाउनुपर्ने भएकाले अहिलेसम्म सार्वजनिक भएको छैन। आन्तरिक ढंगले हामी निर्वाचनको पूर्णत तयारीमा जुटिसकेका छौं। संगठनको विवाद छन् भने मिलाउने, सच्याउनुपर्ने विषय भएका सच्याउने कार्यमा लागिरहेका छौं। 

स्ववियु निर्वाचनमा विद्यार्थीहरुले दिएको अभिमतका कारण नै हामी अहिलेसम्म यो स्थानमा रहदै आएका छौं। त्यही अभिमतलाई साक्षी राखेर अर्को इतिहास रचना गर्ने अवसर हामीलाई प्राप्त भएको छ। त्यसका निम्ति अनेरास्ववियुको तलदेखि माथिसम्मको कमिटी अहिले स्ववियु निर्वाचनको तयारीका निम्ति अघि बढिसकेको छ। 

स्ववियु निर्वाचनमा उम्मेदवार बन्न त्रिविले २८ वर्षको उमेर हद तोकेको छ। यसमा अनेरास्ववियुको धारणा के छ?

यसलाई हामीले हामीले स्वागत गरेका छौं। विश्‍वविद्यालयले तोकेको उमेरहद नै अनेरास्ववियुको मापदण्ड पनि हो। अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीले उमेरहदमा सहमति जनाएपछि मात्र आठ वर्षसम्म हुन नसकेको स्ववियु निर्वाचनको मिति तय भएको हो।

केही विद्यार्थी संगठन त विरोधमा छन् नि?

हिजोदेखि स्ववियु निर्वाचन होला र आफू निर्वाचित हौंला भन्ने आकांक्षा लिएर कलेजमा कुरिरहेका साथीहरु अखिल, नेविसंघ, क्रान्तिकारी लगायत सबै विद्यार्थी संगठनभित्र हुनुहुन्छ। तर लामो समयसम्म हुन नसकेको निर्वाचन गर्न जरुरी छ। कि त त्यही कुरामा विवाद गरेर निर्वाचन झन् पर धकेल्नुपर्‍यो। निर्वाचनको विरुद्धमा जानुपर्‍यो। यस विषयमा विवाद गर्न थाल्नेवित्तिकै निर्वाचन हुने अवस्था रहदैन। यदि होइन भने जतिसक्दो चाँडो स्ववियु निर्वाचन गराउनका निम्ति भएपनि हामी समहतिमा आउन जरुरी थियो।

हामीबीच (विद्यार्थी संगठनहरु) को साझा सहमति के थियो भने जे विश्‍वविद्यालयले ल्याउँछ त्यसै अनुसार जानुपर्छ। किनकी हामीलाई स्ववियु निर्वाचन गर्नुछ। तर नेविसंघका कारण केही हुन्छ कि? भन्‍ने प्रश्‍न गर्ने ठाउँ चाहिँ भएको छ। तर नेविसंघले पनि आधिकारिक रुपमा सहमति जनाइसकेको र उसको लिडरसीप निर्वाचनका निम्ति तयार भइसकेको हुनाले निर्वाचनका निम्ति समस्या उत्पन्न हुदैन भन्‍ने विश्‍वास छ।

तर उमेरहदका कारण क्याम्पसमा राजनीति गर्दै आएका धेरै विद्यार्थीहरु त छुट्ने भए नि?

उहाँहरुलाई चुनिने अधिकार नभएपनि चुन्ने अधिकार छ। तर केही सीमित व्यक्तिहरुका कारण आठ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन अझ लम्ब्याउनु हुदैन। यसले समग्र विद्यार्थीहरुलाई नै घाटा हुन्छ। त्यसकारण निर्वाचन आवश्यक थियो। निर्वाचन गराउनका निम्ति उमेरहद कायम गरेर भएपनि जानुपर्ने भन्‍ने आधारमा नै हामी यो विषयमा सहमत भएका हौं। स्ववियु निर्वाचनको एउटा प्लेटफर्ममा छुट्यो भन्दैमा उ समग्र राजनीतिबाटै छुट्ने भन्‍ने हुदैन। हामी राजनीतिक दलको विद्यार्थी संगठन हौं। पार्टीका बिभिन्न पङ्तिहरुमा हामी आवद्ध रहेर अगाडि बढ्न सक्छौं। 

२०/२५ जनाको अनुहार हेरेर स्ववियु निर्वाचनलाई रोक्नुहुदैन। त्यसकारण उमेर हदसँगै नेपालको विद्यार्थी आन्दोलन पनि पुनर्ताजगी हुनेछ। साथै सिङ्गो राजनीतिक आन्दोलनमा समेत विद्यार्थी उमेर हद तोकेर अगाडि बढ्यो है भन्‍ने सन्देश प्रवाह गर्नेछ। 

पछिल्लो समय विद्यार्थीहरु अराजक भए भन्‍ने आरोप पनि छ। स्ववियु निर्वाचनलाई मर्यादित बनाउन अनेरास्ववियुले के गरिरहेको छ? 

पछिल्लो समय दलगत राजनीति, विद्यार्थी संगठन, युवा संगठनको निर्वाचन असाध्यै खर्चिलो हुने र पैसा भएन भने राजनीति गर्न सकिदैन भन्ने मानसिकता विकसित हुदै गएको छ। वास्तवमा राजनीति सबैका लागि हुनुपर्ने हो तर जोसँग पैसा छ उसले मात्र राजनीति गर्ने र पैसा नहुनेहरु क्षमतावान हुँदाहुँदै पनि पछाडि पर्नुपर्ने अवस्था छ। यो एकदमै गलत हो। यो खालको अराजकता, महङ्गो प्रवृत्ति हाम्रा लागि चुनौतीपूर्ण छ। विगतमा पनि पैसाकै कारण निर्वाचन स्थगित भएका घटनाहरु पनि हामीसँग छन्।

विद्यार्थी भर्नाकै कारण देशभरबाट आफ्नो व्यक्तिगत मान्छेहरु भर्ना गर्ने र भर्नाका लागि भनेरै धेरै भन्दा धेरै पैसाको चलखेल हुने घटना हामीसँग थुप्रै छन्। अब भड्किलो प्रचार, भर्नामा खर्चिलो, महङ्गो प्रचार सामग्री यी सबै कुराहरुलाई अन्त्य गर्नुपर्छ। विद्यार्थीको पक्षमा काम गर्ने र विद्यार्थीमाझको लोकप्रियताका आधारमा नै हामी निर्वाचनमा सहभागी हुनुपर्छ। अब हामीले भित्तेलेखन हटाएर सामाजिक सञ्जालहरुको प्रयोग गरेर प्रचारप्रसार गर्नुपर्छ। विद्युतीय प्रणालीबाट भोटिङ गर्ने। विषयलाई फोकस गरेर जानुपर्ने भन्‍ने कुरामा हामी विद्यार्थी संगठनहरु पनि सहमत भएका छौं। 

यसपटक हामी नमुना स्वतन्त्र विद्यार्थी युनियन निर्माण गर्नेछौ। साँच्चिकै विद्यार्थीको नेता भनेको यो हो। यसरी हो निर्वाचन लड्ने भन्ने उदाहरण देखाउनेछौं। यसमा नेविसंघ र क्रान्तिकारीका साथीहरु पनि प्रतिवद्ध हुनुहुन्छ। विश्‍वविद्यालयले पनि त्यही खालको कार्यतालिका ल्याउदैछ। अनेरास्ववियुले पनि नियमित रुपमा क्याम्पसमा पढ्न गइरहेका विद्यार्थीहरु बाटै हामी निर्वाचनमा जानेछौं। यसले जथाभावी भर्नाको कार्य पनि रोकिनेछ।

विद्यार्थी संगठनहरुले शैक्षिक मुद्दा भन्दा राजनीतिक दलले जे भन्छ त्यही मानेर हिँडेको देखिन्छ। यसपटक स्ववियु निर्वाचनमा कस्ता मुद्दा उठ्छन्?

विगतमा स्ववियु निर्वाचन हुन नसक्नुको सन्दर्भलाई नै जोडेर तपाइले यो प्रश्‍न उठाउनुभएको होला। विगतमा स्ववियु निर्वाचन हुन नसक्नुका धेरै कारणहरु छन्। हामी लामो समय नयाँ संविधान निर्माणको प्रक्रियामा रह्यौं। संविधानको दस्तावेजीकरणको कार्यमा रहेकाले निर्वाचन हुन नसकेको हो। नेविसंघ र क्रान्तिकारीका कारण पनि निर्वाचन हुन नसकेको हो। एउटा संगठनले उमेर हद लागू हुनुपर्छ र उमेरसँगै पूर्ण समानुपातिक प्रणाली लागू हुनुपर्छ भन्‍ने र अर्कोले खुला नै गर्नुपर्छ भन्‍ने अडान राख्न निर्वाचन हुन नसकेको हो। अर्को कुरा, भर्ना शुल्क असाध्यै महङ्गो हुने, धाँधली हुने, यी सबै कारणले नै निर्वाचन पर सरेको हो। यो मूलतः विद्यार्थी राजनीति भित्रको विकृति थियो।

अब मुलुक निर्वाचनको दिशामा पनि अगाडि बढिरहेको हुनाले पार्टीहरु स्थानीय तह, आम निर्वाचन, प्रदेशको निर्वाचन होला। तर ती आमरुपमा पार्टीको एजेण्डा हुन्। हाम्रो एजेण्डा भनेको विद्यार्थीको समस्या के हो बुझ्‍ने र विद्यार्थीको नेतृत्व हस्तान्तरण गर्ने हो। त्यसकारण स्ववियु निर्वाचन हाम्रो एजेण्डा हो। यसमा पार्टीको सहयोग पनि हुन्छ। सिङ्गो लोकतन्त्रलाई गतिशिलता दिने, विधिको शासन स्थापना गर्ने, शैक्षिक आन्दोलनलाई अझ प्राज्ञिक ढंगले छलफल गर्ने यिनै मान्यताका लागि अहिले हामी स्ववियु निर्वाचन गर्ने दिशामा अगाडि बढेका हौं। यसमा पार्टीले अनावश्यक हस्तक्षेप गरेको छ भने यो गलत हुन्छ।

यसवर्षको स्ववियु निर्वाचनमा अनेरास्ववियूको योजना के छ?

स्ववियु निर्वाचनमा अनेरास्ववियुले आफ्नो विरासतलाई कायम गर्न सक्षम छ। अहिलेको नेतृत्व सक्षम छ, क्षमतावान छ। यो उपलब्धीको रक्षा गर्दै थप उपलब्धी हासिल गर्नका निम्ति हामी तयारीका साथ अगाडि बढेका छौं। राष्ट्रियता, राजनीतिक आन्दोलन, सिङ्गो शैक्षिक आन्दोलन, विद्यार्थीको हकहितका निम्ति गरेको कामको आधारमा फेरि पनि विद्यार्थीको मत पाउनेछौं। अहिलेसम्म स्ववियू निर्वाचनमा अखिलको पोजिसन पहिलो छ। यसलाई हामी अहिलेको स्ववियु निर्वाचनमा पनि कायम राख्‍नेछौं। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.