|

काठमाडौं :  नेकपा माओवादी केन्द्रले सरकार फेर्ने पहल सुरु गरिसकेका बेला नेकपा एमाले र कांग्रेस भने चुपचाप छ। गएको वैशाखमा पनि सरकार फेर्ने निर्णय गरेर ९ बुँदे सहमति गरी पछि हटेको माओवादी केन्द्रको अहिलेको गतिविधिलाई सत्तारुढ एमाले र प्रतिपक्षी नेपाली कांग्रेसले भने सचेततापूर्वक नियालिरहेका छन्।    

माओवादी केन्द्रको केही दिनअघि बसेको कार्यालय समितिको बैठकले सरकार फेर्ने निर्णय गरेपनि कांग्रेस र एमालेले यसलाई पत्याइहालेका छैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल बाहिर प्रचार भएजस्तो यो सरकार फेर्ने खेल नभएको दावी गर्छन्।

'बाहिर धेरै हल्ला भएको छ। यो प्रचारबाजी मात्र हो। माओवादीले ९ बुँदेको कुरा उठाएको पनि हल्ला मात्र हो। दलहरुका बीचमा त यस विषयमा त्यस्तो केही छलफल भएको छैन' रिमाल भन्छन्, 'राष्ट्रिय सहमतिको सरकार बन्ने हुँदाखेरि अलग कुरा हो। त्यो अवस्था सोँच्न सकिन्छ तर अहिलेकै स्थितिमा त अर्को बहुमतीय सरकार बनाउने सम्भावना छैन।'

कांग्रेसले एमाले र आफुहरुमध्ये एउटा दल प्रतिपक्षमा बस्नुपर्ने बताएकाले राष्ट्रिय सहमतिको सम्भावना नभएको एमाले नेताहरुले तर्क गर्दै आएका छन्। सरकार परिवर्तन गर्ने पक्षमा माओवादी समेत नरहेको बताउँदै रिमालले माओवादी केन्द्र सहितका १३ वटा पार्टी मिलेर बनेको अहिलेको सत्ता समीकरण त्यतिकै नभत्किने दाबी गर्छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यही सरकारलाई निरन्तरता दिने बताएको रिमालको दावी छ। भन्छन् 'यो सरकारको विकल्प खोज्ने कोही पनि हुनुहुन्न। यति लोकप्रिय सरकारका विरुद्धमा पनि कोही विकल्प खोज्छ त? तत्काल न माओवादी न कांग्रेस न एमाले कोही पनि यो सरकारको विकल्प खोज्न तयार छैनन्।'

अहिले सरकार नफेरिए पनि विस्तारको सम्भावना रहेको रिमाल दावी गर्छन्। 'हिजो १६ बुँदे सहमति जुन बिन्दुमा भंग भयो त्यै बिन्दुबाट अगाडि बढ्ने हो भने राष्ट्रिय सहमतिको प्रक्रिया फेरि नयाँ शुरु हुन्छ। त्यो प्रक्रिया शुरु भयो भने अहिलेको सरकार विस्तार हुन सक्छ। त्यसो हुँदा नेपाली कांग्रेस लगायत बाहिर रहेका सबै दलहरुलाई सम्मिलित गरेर अगाडि बढाउन सकिन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.