|

काठमाडौं : क्रोएसियाका फरवार्ड मारियो मान्जुकिजले अबको फुटबल यात्रा कतारस्थित स्टार लिग क्लब अल-दुहाइल स्र्पोटस क्लबमा बिताउने भएका छन्। 

युभेन्टसका स्टार मान्जुकिजले ‘दि रेड नाइट’ उपमा पाएको दुहाईलसँग आगामी करिअरका लागि सम्झौता गरेका हुन्। 

यद्यपि युभेन्टससँगको सम्झौता जुन २०२१ सम्म बाँकी नै छ। उनले अबको यात्रा रेड नाइटमा बिताउने क्लबको अफिसियल वेवसाइटमा उल्लेख छ। मान्जुकिजको सम्झौता अवधीबारे केही खुलाइएको छैन। 

३३ वर्षीय फरवार्ड गत जुनबाट युभेन्टसको टिममा देखिएका छैनन्। माउरियोज सारीले युभेन्टसको प्रशिक्षण सम्हालेयता उनले खेल्न नपाएका हुन्। अल दुहाइल ११ खेलबाट २९ अंकको साथमा कतारी लिगको शीर्ष स्थानमा छ। समान खेलबाट २५ अंकको साथ अल-रायन क्लबले उसलाई पछयाइरहेको छ। 

मान्जुकिजले एसियाली फुटबलमा प्रभाव जमाएका कतारी स्टार अलमोइज अली, अलि अफिफ, मोहम्मेद मुसा जस्ता खेलाडीको साथ रेड नाइटमा पाउने छन्। 

यद्यपि मान्जुकिजको आगमनको अर्थ अल दुहाइलका युवा फरवार्ड अलमोइज र इराकी स्टार मोहनद अलीलाई शीर्ष ११ का लागी चुनौती हुन सक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 

युभेन्टसको टिममा स्थान बनाउन असफल भएपछि मान्जुकिज प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आवद्ध हुने हल्ला चलेको थियो। तर मान्जुकिजले ‘रेड डेभिल’ भन्दा पनि ‘रेड नाइट’मा भविष्य देखे। क्रोएसियन क्लब मार्सोनियाबाट सिनियर करियर सुरु गरेका उनले वार्यन म्युनिख, एथ्लेटिको मड्रिड, युभेन्टस जस्ता शिर्ष क्लबलाई विभिन्न उपाधी दिलाएका छन्। 

२ सिजन वार्यनमा बिताउँदा बुन्डेसलिगा, च्याम्पियन्स लिग, युइएफए सुपर कप, फिफा क्लब विश्वकप जस्ता उपाधी जित्न योगदान गरेका थिए। एथ्लेटिकोमा रहँदा क्लबले स्पेनिस सुपर कप जितेको थियो। 

चार सिजन युभेन्टसमा रहँदा मान्जुकिजले सिरिएको ४ वटै उपाधि, कोपा इटालिया, सुपर कोपा इटालियन जस्ता उपाधी दिलाउन भूमिका खेलेका थिए।

विश्वकपको फाइनल खेलमासमेत उनले एक गोल गरेका थिए। ११ वर्षे अन्तराष्ट्रिय फुटबल यात्रामा उनले ८९ खेलमा सहभागी बन्दै ३३ गोल गरिसकेका छन्। सन २०१८ मा नै उनले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरिसकेका  छन्। २ बर्ष लगातार उनले क्रोएसियन फुटबलर अफ दि इयरको उपाधी समेत आफनो पक्षमा पारेका छन्। 

उनी  २०२० एएफसी च्याम्पियन्स लिगमा समेत देखिनेछन्। जहाँ समूह चरणमा साउदी अरेबियाको अल तावौं, इरानको पर्सेपोलिस एफसी र संयुक्त अरब इमिरेटसको शारजाह एफसीको सामना हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.