|

  • नारायण ढुंगाना

चितवन : सदमुकाम भरतपुरमै रहेर पनि ऐतिहासिक धनगढा मन्दिर क्षेत्र ओझेलमा परेको छ। भरतपुर– १२ नौरंगेमा १९ कठ्ठा जग्गामा फैलिएको मन्दिर क्षेत्रमा फाटफुट रूपमा आन्तरिक पर्यटक आउने गरेका छन्।

किंवदन्तीअनुसार परापूर्वकालमा यहाँ धन गाडेको विश्वास गरिन्छ। ‘त्यसैले पनि यो क्षेत्रको नाम धनगढा रहेकोे हो’, स्थानीय भविलाल घिमिरेले भने, ‘यहाँ धन छ, भनेर पहिलेका मानिसहरूले खनेको समेत पाइयो। 

३ दशकअघि यहाँ खाल्डो थियो, झाडीले घेरिएको। फोहोर फ्याँक्ने ठाउँका रूपमा चिनिएको ठाउँ खोतल्दा पुराना इँटा भेटिन्थ्यो। तर २०३२ सालमा खोतल्दै जाँदा बसाहा (साँढे) फेला परेपछि स्थानियहरुले धार्मिकका रूपमा संरक्षण थालेको धनगढा एकीकृत विकास समितिका अध्यक्ष ऋषिराम पौडेलले जानकारी दिए।

पाल्पाली राजा मणिमुकुन्दसेनको पालामा धनगढामा मन्दिरबनाइएको भन्ने जनश्रुति पाइन्छ। २०४३ सालमा स्थानीय कुलबहादुर भण्डारीले सानो मन्दिर बनाएका थिए। ४ वर्षअघि यहाँ विशाल मन्दिर बनाइएको छ। यहाँ १०८ शिवलिंग छन्। सँगै रहेको पोखरीको बिचमा लक्ष्मी नारायणको मन्दिर बनाइएको छ। 

यो क्षेत्रको संरक्षणका लागि भन्दै ६२ सालमा पार्कसमेत बनाइएको छ। पार्क क्षेत्रलाई पर्खालले घेरी आकर्षक बनाइएको छ । पर्यटकका लागि खुला क्षेत्र र सिँढी प्रतीक्षालय तथा  बेञ्चको व्यवस्था गरिएको छ। प्राकृतिक दृश्यावलोकनका लागि यो ठाउँ उपयुक्त मानिन्छ। यहाँबाट उत्तरतर्फ हिमश्रृंखला र दक्षिणमा चुरेपर्वत तथा पूर्वमा महाभारत पर्वत देख्न सकिन्छ।

अहिलेसम्म करिब ४० लाख रुपैयाँ लागतमा विभिन्न भौतिक निर्माण भएको अध्यक्ष पौडेल बताउँछन्।  दिगो स्रोतको अभावका कारण व्यवस्थापन गर्न र पर्यटकलाई आकर्षण गर्न नसकेको उनको भनाइ छ। धनगडा क्षेत्र सदरमुकामको बिचमा भएका कारण अन्य क्षेत्रसँगै जोडेर एकीकृत पर्यटन कार्यक्रम ल्याउनुपर्ने स्थानीयको माग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.