फिचर

राजेन्द्र चित्रकार : इन्जिनियरिङ छाडेर फोटो पत्रकार

'भाइरल' हुने होडले हामी 'म्यानरलेस' बन्यौँ

पुस १२, २०७६

    काठमाडौं: अखबारका पानाहरूमा समाचारलाई प्रमाणित गर्ने फोटो देखिन्छन्। समाचारको विश्वसनीयतालाई थप मजबुत बनाउन फोटोको महत्व छुट्टै हुन्छ। समाचारको 'कन्टेन्ट' अनुसार खिचिने कुनै फोटोले कहिलेकाहीँ मुटु नै हल्लाउँछ, कहिले खुशी बनाउँछ त कहिले दु:खी। आममान्छेलाई सोच्‍न बाध्य बनाउने ती फोटो समाचारलाई प्रमाणित गर्ने आधार पनि हुन्।

    देश-विदेशका अनेक घटनाका साक्षी बन्छन् पत्रकार। तिनै पत्रकारको माध्यमबाट आम-जनताले पढ्छन देशको चित्र। मिडियाका पत्रकारहरूलाई बिट तोकिएको हुन्छ। तर समाचार लेख्‍ने पत्रकारको तुलनामा फोटो पत्रकार कमै हुन्छन। पत्रकारिता जगतमा सीमित फोटो पत्रकारहरूबाट असीमित फोटो खिच्‍नुपर्ने आफ्नै बाध्यता वा कारण छन्।

    अनलाइन तथा छापामा देखिने आकर्षक फोटो खिच्न लामो दौडधुप र प्रशस्त समय चाहिन्छ। लामो मेहनतपछि मात्रै स्तरीय फोटो जन्मन सक्छ। एउटा फोटो पत्रकारले फोटो खिच्‍न गरेको मेहनत शब्दमा वर्णन गर्न सकिँदैन। यो उसको काम हो, जसमा उसको समर्पण र कला मिसिएको हुन्छ। यही काममा ३० वर्षदेखि अनवरत होमिएका एक व्यक्ति हुन्-राजेन्द्र चित्रकार।

    इन्जिनियरिङ छोडेर पत्रकारिता

    नेपालमा पञ्चायतविरोधी माहोल बन्दै थियो। २०३६ सालको आन्दोलनका फोटो राजेन्द्र चित्रकारका दाजुले व्यक्तिगत प्रयोजनको लागि खिच्थे। उनी ती फोटो बडो जिज्ञासु भएर हर्थे। फोटोग्राफीमै संलग्न दाजुहरुको संगतमा हुर्किए राजेन्द्र। दाजुले बागबजारमा ग्राफिक आर्ट अफिस खोलेका थिए। स्टुडियोमा बस्दा क्यामेरा चलाउथे उनी।

    उनी जानी-नजानी क्यामेराको अम्मली बने। लक्ष्य इन्जिनियर बन्‍ने थियो, तर क्यामेराको नशा लाग्यो। पुल्चोक क्याम्पसमा आवेदन दिइसकेका थिए। क्यामेरा मोह बढ्दै गएपछि उनको इन्जिनियर सपना टुट्यो। त्यसपछि उनी आरआर कलेजमा भर्ना भए।

    राजनीतिक आन्दोलनका ती क्षण

    २०३९ सालदेखि क्यामेरासँग मितेरी गाँसेका चित्रकार २०४६ सालदेखि गोरखापत्र संस्थानमा व्यवसायिक फोटो पत्रकारका रुपमा आबद्ध भए। २०४६ सालमा नेपालका ठूलो राजनीतिक आन्दोलन भयो। प्रजातन्त्रको पुनर्बहालीका लागि आन्दोलन चर्किएको थियो त्यो बेला। त्यसको पूर्वसन्ध्यामा उनी पत्रकारिता जगतमा आएका थिए। संक्रमकालीन अवस्थामा यो पेशामा लाग्‍न सजिलो थिएन।

    त्यसमाथि क्यामेराको मूल्य सुन्दा पनि आँत काप्‍ने अवस्था थियो। उनी भन्छन्, 'मेरो दाइहरूको फोटो स्टुडियो भएकाले मलाई यस क्षेत्रमा लाग्न सहज भयो।'

    २०४६ मा आन्दोलनमा आन्दोलनले उग्ररुप लियो। आन्दोलनकारी र प्रहरीबीच हुने झडपका दृश्य महत्वपूर्ण हुन्थे। यद्यपि: सडकमा आन्दोलनकारीको ढुंगा, प्रहरीको लाठी र अश्रुग्यासबाट जोगिएर फोटो खिच्न सहज थिएन।

    सजिलो नहुँदा-नहुँदै पनि आफ्नो पेशाले दिएको जिम्मेवारी पुरा गर्न जोखिम त मोल्नै पर्ने हुन्थ्यो,' उनी सम्झन्छन्। २०४६ फागुन ७ गते बागबजारमा आन्दोलन चलिरहेको थियो। दुई पक्षबीच झडप भयो। नियन्त्रण बाहिर गएको आन्दोलन रोक्न प्रहरीले गोली चलायो। उनी बागबजारको एउटा घरको तलामाथिबाट फोटो खिच्दै थिए। भागदौड मच्चियो। उनले गोली चलेको केही फोटो खिचे। गोली चलेपछि ज्यान जोगाउन हामफालेर भाग्नुपर्ने भयो। 

    प्रहरी र आन्दोलनकारीबाट जोगिँदै फोटो खिच्नुपर्ने बाध्यता थियो। तर त्यो अवस्था अब रहेन। भलै कहिलेकाहीँ त्यो जोखिम आइरहन्छ।

    बढ्दो जोखिम कम गर्न उनको सक्रियतामा २०५३ सालमा राष्ट्रिय फोटो पत्रकार समूह  स्थापना भयो। फोटो पत्रकारको हकहितका लागि संस्थाको स्थापना गरिएको बताउँछन् उनी।

    आन्दोलनकारी र प्रहरीबाट बच्‍न पत्रकार छुट्टै पहिचान हुनुपर्थ्यो। त्यसका लागि  संस्थाले  ज्याकेट उपलब्ध गराएपछि केही सजिलो भयो। यो अभ्यासले फोटो पत्रकारहरु केही सुरक्षित हुन थालेका थिए। जसको नेतृत्व उनैले गरेका थिए।

    देशमा जनयुद्ध भयो। उनले यो पनि नजिकबाट नियाले। २०६२/०६३ को आन्दोलन सुरू भयो। आन्दोलनबीच प्रहरीले उनको क्यामेरामा खोसेर लगेका घटना पनि छन्। २०६३ को आन्दोलनमा उनको क्यामेरा प्रहरीले लिएर गएको थियो। उनी हाँस्दै भन्छन्, 'जनआन्दोलनमा मेरो क्यामेरा पनि एक महिना हिरासतमा बस्यो।'  

    फोटो : राजेन्द्र चित्रकार

    नेल्सन मण्डेलालाई खिच्दा

    २०५५ सालमा भएको असंलग्न राष्ट्रहरूको १२औं सम्मलेनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दक्षिण अफ्रिका पुगेका थिए।

    उक्त भ्रमण टोलीमा चित्रकार पनि थिए। नयाँ ठाउँ-नयाँ परिवेश। सम्मेलनको माहोल अलग्गै थियो। नेल्सन मण्डेलासँगको भेट पनि अलग्गै। पत्रकारहरूमा कहाँ कसले खिच्‍नेबारे अन्योल भयो। 

    उनले नेल्सन मण्डेलाको फोटो खिच्‍ने भए।  त्यो बेला १२३ राष्ट्रका पत्रकारबीमा बसेर फोटो खिच्‍न सहज थिएन्। उनलाई कुनै पनि हालतमा दुई देशका राष्ट्रप्रमुखको फोटो पत्रिकामा हाल्नै पर्ने थियो। 

    रंगभेदी नीतिविरुद्धका अभियन्ता नेलसन मण्डेलालाई उनले किताबमा पढेका थिए। जीवनमा उनले भोगेको जेल जीवनबारे पनि चित्रकार परिचित थिए। काला जातिको न्यायका लागि लडेका मण्डेला विश्‍व जगतले मानेका नेता हुन्। उनलाई भेट्न पाउने कुराले चित्रकार खुसी थिए। जीवनमा चित्रकारले पत्रकारिताको माध्यमबाट नै मण्डेलालाई आफ्नो क्यामेरामा कैद गर्ने अवसर पाए।

    उनी यो सुन्दर क्षण सम्झँदै भन्छन्, 'पत्रकारितामा आफ्नै दु:ख छँदै थिए। मैले उनै मण्डेलालाई आफ्नो क्यामेरामा कैद गर्ने अवसर पाएँ। मेरा लागि त्यो शब्दमा व्यक्त गर्न नसक्ने पल हो।' 

    फोटो : राजेन्द्र चित्रकार

    अब्दुल कलामको मुस्कान

    चित्रकार एकपटक पूर्व युवराज पारससँग भारत भ्रमणमा थिए। उनले मिति भुले। पारसको भ्रमण तालिका अनुसार उनको भेट अब्दुल कलामसँग थियो। भेट भन्दा पाँच मिनेट अगाडि उनी हलभित्र छिरे। चित्रकार भित्र छिर्दा कलाम एउटा कुनामा बसेर कम्युटर चलाइरहेका थिए। निश्चित समयभन्दा  एक मिनेट अगाडि पनि उनी उठेनन्। जब समय भयो उनले अगाडिका सबैलाई अभिवादन गरे। उनी सम्झन्छन्, 'फुलेको कपाल र हँसिलो मुहारका कलामको व्यवहार सुन्दर थियो। उनको बोली एकदमै नरम थियो।'

    व्यक्तिगत जीवनमा बौद्धिक व्यक्तित्वका रूपमा पढेका थिए चित्रकारले। उनले गरेको अभिवादन र मुस्कानले चित्रकार पुलकित बने। पारससँगको भेटको फोटो पनि उनले आफ्नो क्यामेरामा कैद गरे। यो पनि फोटो पत्रकार चित्रकारका सुन्दर क्षणमध्ये हो। 

    'म्यानरलेस नहुनुस्'

    लामो समय फोटो पत्रकारिता गरेका चित्रकारले अनगिन्ती फोटो खिचे। जतिबेला उनी मिडियामा आए, त्यसबेला फोटो पत्रकारको संख्या सीमित थियो। छापा, अनलाइन र टेलिभिजन सुरु हुँदै थिए। अहिले प्रविधिको विकास भएको छ, अनलाइन मिडियाका कारण सूचना सेकेण्डमै प्राप्त गर्न सकिन्छ। पहिले यस्तो सहज थिएन।

    एडभान्स क्यामेराको प्रयोगबाट नयाँ पुस्ताले आकर्षक फोटो खिचेको बताउँछन् चित्रकार। इन्टरनेटको उपलब्धताले पनि अहिले फोटो पत्रकारहरूले गरेको काम तत्कालै देखाउन पाउँछन्।

    तर उनको बुझाइमा अहिलेको अवस्था 'च्यालेन्जिङ' छ।  किनभने प्रविधिको जमानाले यस्तो 'स्पिड' लिएको छ कि समयमै त्यसको प्रयोग भएन भने फोटो पुरानो भइसक्छ।

    फोटोको लोकप्रियतालाई सामाजिक सञ्जालका लाइक र सेयरसँग जोडेर नहेर्न उनी सुझाव दिन्छन्। 'फोटो र समाचारलाई भाइरल गराउने लोभले जथाभावी फोटो नखिचौं। पत्रकारितामा नैतिकता प्रमुख अंग हो', उनी थप्छन्, 'कहिलेकाहीँ अनेकखालका फोटोहरु समाचारमा समावेश गरेको पाउँछु। त्यसले क्षणिक रमाइलो दिए पनि अन्त्यमा हानी नै गर्छ, हामी म्यानरलेस नबनौं।'

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]