|

कोशीटप्पु : समयमै जाडो सुरु हुँदै गएकाले यसपटक कोशी टप्पुमा पाहुना चरा समयमै देखिन थालेका छन्। आगन्तुक चरासँगै कोशीटप्पुमा विदेशी पर्यटकको गर्मीको तुलनामा संख्या पनि बाक्लिँदै गएको छ।

 चरा हेर्नकै लागि आरक्षमा ३०/३५ विदेशी टोली आइसकेका छन् भने होटल बुकिङ गर्नेको संख्या पनि बढ्दै छ। चरा मात्र होइन विश्वमै दुर्लभ बबुलिस जातको अर्नासमेत हेर्न आरक्षमा पर्यटक आउने गर्दछन्। चरासँगै अर्ना, हरिण, नीलगाई अवलोकन गर्न विदेशी र स्वदेशी पर्यटक कोशी टप्पु आउने गरेका छन्।

‘यसपटक छिट्टै मौसम खुल्यो र चराहरू समयमै देखिन थाले। चरा मात्र होइन। पर्यटकको उपस्थिति पनि कोशी टप्पुमा राम्रो देखिन थालेको छ’, नेचर गाइड लाइसेन्सप्राप्त चक्र तिम्सिना भन्छन्, ‘मैले नै जाडो लागे यता ६० जनालाई घुमाइसकें भने अरू साथीले पनि घुमाउनु हुँदैछ।’

कोशी टप्पुको मुख्य आकर्षणमध्येको एक आकर्षण भनेको चरा हो। आरक्ष ५ सय २८ प्रजातिका चरा पाइन्छन्। ‘चराको राजधानी’ र ‘चराको स्वर्ग’ जस्ता अनेक नामले चिनिएको कोशी नदी तथा यसको आसपासका इलाकामा यस पटक समयमै विदेशी पाहुना चराहरू देखिन थालेका हुन्। 

अत्यधिक चिसो भएपछि रुसको साइबेरियादेखि लामो दूरी पार गरी चराहरू कोशी टप्पुसम्म आइपुग्छन्। सामान्यतया चराले बादल लाग्दा, पानी पर्दा अनि ‘भिजिबिलिटी’ कम हुँदा लामो दूरीको यात्रा गर्दैनन्। तराइमा लाग्ने हुस्सु भन्दा छिटै कोशीटप्पुमा चराले आफ्नो बास बसेका थिए। 

कोशी टप्पुमा मात्र होइन सुनसरीकै बर्जु ताल,रास ताललगायतका अन्य सिमसारमा समेत विदेशी चरा संख्या बढ्दै गएको देखिन्छ। कोशी टप्पुमा गणना थालिएको ३० वर्षमा चराको संख्या भने वर्षेनी घटिरहेको छ।

कोशीमा आउने जलचरामध्ये अधिकांश अन्न मात्रै खान आउने चरा नदीको आसपासका खेतमा अन्न खान पाइए मात्रै चरा आउँछन्। तर पछिल्लो समय खेतीयोग्य जमिनको प्लटिङले पनि चराको आहारा कम हुन थालेकाले संख्याको आधारमा कोशी टप्पुमा चराको संख्या कम हुँदै गएको छ।

सगरमाथा माथिबाट बच्चा कोरल्न आउछन् चरा

प्राय कोशी टप्पुमा लामो दूरी तय गरेर आउने चरा हाँस प्रजातिका हुन्। हाल कोशी टप्पुमा ठूलो जलेवा (ग्रेटर कर्मोनेण्ट), चखेवा (रेडिसियल डक), खोया हाँस (बार हेडेड गुज) लगायतका चरा देखिन्छन्। उपयुक्त मौसमी पर्यावरणको कारण कोशीमा चरा जाडो छल्न मात्र होइन। सगरमाथा भन्दा माथिको उचाइबाट उड्दै  बच्चा कोरल्न समेत कोशी टप्पु आउने गर्छन्।

बारहेडेड गुज जसलाई नेपालीमा खोया हाँस पनि भनिन्छ। यी चरा सगरमाथा भन्दा माथिबाट उडेर आउछन्। यो चरा १३ हजार मिटर माथिबाट आउने गर्छन्।
हिउँदको चिसो बढेसँगै न्यानो वासस्थान, आहार र प्रजननका लागि पंक्षीहरू यस वर्ष उत्तरी गोलार्द्धबाट दक्षिणी गोलार्द्धमा बसाइँ सर्दै कोशी टप्पुसम्म आउने गर्दछन्। 

एकथरि चराले अन्तरदेशीय सीमाको लामो दूरी पार गर्दै साइबेरियादेखि कसी टप्पुसम्म आउने गर्दछन् भने केही चरा नेपालकै उच्च पहाडी भूभागबाट छोटो दूरीको बसाइँ सरी आउँछन्। नेपालबाटै पहिलो पटक चराको विषयमा विद्यावारिधि गरेका डा हेमसागर बरालका अनुसार हिउँदमा १५० प्रजातिका चरा नेपाल आउँछन्। जसको ठूलो संख्या कोशी टप्पुमा बस्छ। 

बरालका अनुसार सुडसुडिया प्रजातिको चरा १५/२० दिनसम्म निरन्तर आकाशमा उडेर हजारौँ माइलको दूरी पार गर्ने गर्छन्। बसाइँसराइँ अघि चराले धेरै खाना खाएर शरीरमा टन्न बोसोको मात्रा जम्मा गर्छन्। निरन्तर उड्दा बोसोबाट शक्ति आर्जन गर्छन्।

‘पहिले अलि बाटो-घाटोको अभाव पनि थियो’, स्थानीय पर्यटनकर्मी तथा नेचर गाइड सुवास भुजेलले भने, ‘अहिले भने राम्रो छ। पर्यटकको संख्यामा पनि राम्रो सुधार देखिएको छ। तर अलिक प्रचारको कमी भने छ। त्यति गर्न सके पर्यटन व्यवसाय यो क्षेत्रमा राम्रो हुन्थ्यो।’

आरक्ष आसपासका क्षेत्रहरूमा चरा लामो समयका लागि मात्र होइन, यात्राको क्रममा केही दिन बास बस्नका लागि मात्र पनि प्रयोग गर्ने गर्दछन्। आरक्ष आसपासको क्षेत्रमा बसाइँसराइँ गरी आउने चरामा चखेवा, खडखडे, मालत र सुडसुडिया हाँस प्रजाति देखिएका छन्। त्यसैगरी सिकारी चराहरू साहिबाज सेनबाजजस्ता प्रजाति पनि देखिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.