|

काठमाडौं : पर्यटन वर्षको अवसरमा स्वयम्भूमा महोत्सव हुने भएको छ। ‘स्वयम्भू जाऊँ, नेपाल पर्यटन वर्ष मनाऔं’ भन्‍ने नारासहित बुधबारदेखि सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक कार्यक्रम  हुने भएको हो। 

महोत्सवको बारेमा जानकारी दिन मंगलबार पत्रकार सम्मेलनमा पर्यटन व्यवस्थापनसँग सम्बन्धित संघ संस्था र स्थानीयको सहभागितामा सञ्चालन हुने गरी पर्यटन प्रवर्धनको कार्यक्रम रहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले बताए।

महानगरपालिकाको संयोजकत्वमा महोत्सवको आयोजना गर्न लागिएको उनले बताए। स्थानीय सरकारले केन्द्रीय सरकारले गरेको काममा सहयोग गर्नु मुख्य कर्तव्य रहेकोले महानगरको मुख्य भूमिका रहने उनले बताए।

समुदाय साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन हुने कार्यक्रमले पर्यटन प्रवर्धनका अतिरिक्त समाजमा शान्ति सुरक्षा, घरेल हिंसा, यौन हिंसाजस्ता सामाजिक अपराधका क्षेत्रमा सचेतना फैलाउन सहयोग गर्ने उनको दाबी छ। उनका अनुसार कार्यक्रममा स्थानीय संघसंस्था तथा परम्परागत समूहको साथै नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीको सांस्कृतिक प्रस्तुति हुने उनले जानकारी दिए। 

पत्रकार भेटका क्रममा बोल्दै महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले यसप्रकारका कार्यक्रमबाट समुदायसँगको सम्बन्ध अझ नजिक हुने र जनतासँग नजिक बसेर काम गर्न सकिने आशा व्यक्त गरे। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यता र महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आयोजना हुने औपचारिक समारोहबाट हुनेछ। सप्ताहव्यापी कार्यक्रममा घरेलु तथा हस्तकलाका सामाग्री र खानेकुराका स्टल रहनेछन्। यस कार्यक्रमबाट नेपाल पर्यटन वर्षका कार्यक्रममा टेवा पुग्ने तथा काठमाडौंलाई सांस्कृतिक सहरका रुपमा परिचित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

कार्यक्रममा नेपाल प्रहरीसहित ट्राफिक प्रहरी, पर्यटक प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय सामुदायिक संघ संस्था, होटल व्यवसायी र सरोकारवालाको सहभागिता हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.