|

काठमाडौं : बौद्धनाथ क्षेत्र विकास समितिले विश्व सम्पदामा सूचीकृत बौद्ध स्तूपमा बुधबार एक सयजना विदेशी पर्यटकलाई नि:शुल्क प्रवेश गराउने भएको छ। समितिले पर्यटन वर्ष २०२० को अवसरमा पर्यटकलाई निशुल्क प्रवेश गराउने भएको हो।

बौद्धनाथ क्षेत्र विकास  समितिका अध्यक्ष चन्द्रमान लामाले पर्यटन वर्षको स्वागत गर्ने दिनमा एक सय विदेशी पर्यटकलाई बौद्धमा नि:शुल्क प्रवेश गर्न दिने बताए। ‘पर्यटन वर्षलाई लक्षित गरेर एक सय विदेशी पर्यटकलाई नि:शुल्क बौद्धमा घुम्न पाउनेछन्,’उनले भने,‘बौद्धस्तूपभित्र गएर घुम्दा कुनै शुल्क लाग्ने छैन। यसले पर्यटन वर्षलाई सहयोग मिल्नेछ।’ 

उनका अनुसार बुधबार बिहान बौद्ध गेटबाट बौद्ध पीपलबोट सम्म र्‍याली निकाली फर्केर बौद्ध गेटमा आईसकेपछि पर्यटन वर्षलाई स्वागत गर्दै विदेशी पर्यटकलाई बौद्ध स्तूपभित्र नि:शुल्क छिर्न दिइनेछ। लामाले भने,‘विभिन्न जातजातिको भेषभूषामा झाकी प्रदर्शन गरिने छ। पर्यटन वर्षको लागि राम्रो तयारी गरेका छौँ।’ 

लामाका अनुसार बिहीबार बेलुका भने १० हजार मैनबत्ती बाली दिप प्रज्वलन गरिनेछ। शुक्रबारका दिन सम्पदासम्बन्धी विभिन्न सांस्कृतिक कार्यक्रम गरिनेछ। अहिले अन्तर्राष्ट्रिय पर्यटकलाई चार सय प्रवेश शुल्क छ भने, सार्क देशका पर्यटकलाई एक सय शुल्क समितिले लिने गरेको छ। लामाले पर्यटन वर्ष स्वागतको लागि ठूल्ठूला गेट  राख्नेसमेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.